News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीको टोलीले ६२ घण्टापछि जीवितै उद्धार गर्यो।
- उद्धार टोलीले टिमुरेबाट करिब ३५० जनालाई हेलिकप्टरमार्फत धुन्चे पठाएको र भारतीय तीर्थयात्रुदेखि चिनियाँ नागरिकसम्मलाई सुरक्षित निकालेको सन्जु खत्रीले बताए ।
१६ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार भएको घटनाले धेरै मानिसको ध्यान तान्यो ।
भोटेकोशीमा बाढी गएको ६२ घण्टापछि धेरैले आशा मार्न थालिसकेका थिए । त्यहीबेला उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट एउटा सानो स्वर सुन्यो, ‘ममी, ममी।’
त्यही स्वरले नेपालको आपतकालीन उद्धार इतिहासमा एउटा सम्झना योग्य क्षण रच्यो।
उद्धार टोलीको नेतृत्व गरेका सशस्त्र प्रहरी बल नेपालको २० गण (विपद् उद्धार गण), सिनामंगल, काठमाडौंका निरीक्षक सन्जु खत्रीले आफ्नो अनुभव यसरी सुनाए :
घटना हुनेबित्तिकै हामी पाँच मिनेटमै स्ट्यान्डबाई भयौं। लगभग एक घण्टामै काठमाडौंबाट हेलिकप्टरमार्फत रसुवाको धुन्चे आयौं र त्यहाँबाट टिमुरेको लागि प्रस्थान गर्यौं। मसहित जम्मा ५० जना त्यहाँ पुगेका थियौं, जसमध्ये ९ जना विशेष विपद् उद्धार तालिम प्राप्त कर्मचारी सहित हामी टिमुरेमा खोज तथा उद्धार कार्यमा खटियौं।
हाम्रो सर्वप्रथम प्राथमिकता जीवित रहेका पीडितहरूलाई त्यहाँबाट निकाल्ने नै थियो। त्यसै क्रममा हामीले त्यहाँ फसेका करिब ३५० जना मानिसलाई हेलिकप्टरद्वारा उद्धार गरी धुन्चे पठायौं। त्यसमा मानसरोवर जाने भारतीय तीर्थयात्रुदेखि चिनियाँ नागरिकसम्म धेरैलाई हामीले सुरक्षित निकाल्यौं।
घटनाको करिब ६२ घण्टापछि, खोजतलास गर्ने क्रममा हामीले एउटा बालिकाको आवाज सुन्यौं। हाम्रो टोलीले ‘ममी, ममी’ भन्ने आवाज सुनेपछि तुरुन्तै त्यतैतिर खोजी थाल्यौं। त्यतिबेला त्यो ठाउँमा माटो र काठले पुरिएको अवस्था थियो, सतहमा केही पनि देखिने अवस्था थिएन।
हामीले केवल आवाजकै भरमा पहिचान गर्दै खोजतलास गर्यौं र अन्ततः करिब ६ वर्षकी उक्त बालिकालाई त्यहाँबाट सुरक्षित निकाल्न सफल भयौं।
तत्काल हामीले धुन्चेमा रहेको हाम्रो गुल्ममा खबर गर्न खोज्यौं, तर त्यहाँ सञ्चार सुविधा नभएकाले हामी करिब आधा घण्टा माथि उक्लेर रेडियो सेटबाट सूचना पठायौं। तर मौसम खराब भएकाले त्यसदिन बालिकालाई हेलिकप्टरबाट लैजान सकिएन।
हामीले उनलाई सुरक्षित राखेर बिस्तारै स्याहार गर्न थाल्यौं। रातभर दुई जना सदस्यलाई बालिकाको स्याहारमा खटायौं। बिस्तारै उनी सचेत हुँदै दोहोरो कुरा गर्न थालिन्, तर उनी निकै आत्तिएकी थिइन्।
हामीलाई सबैभन्दा ठूलो चुनौती थियो – कसरी उनलाई सुरक्षित रूपमा अस्पताल पुर्याउने भन्ने। भोलिपल्ट बिहान पनि मौसम खराब नै रह्यो। करिब दिउँसो साढे एक बजेमात्र हेलिकप्टर उड्न सक्यो र त्यसपछि हामीले बालिकालाई सुरक्षित रूपमा काठमाडौंको अस्पताल ल्यायौं।
बालिकालाई निकालेपछि हाम्रो सम्पूर्ण टोली एकदमै खुसी भएको थियो। धेरै कठिनाइका बाबजुद पनि हामी उनको ज्यान बचाउन सफल भयौं ।
प्रतिक्रिया 4