+
+
Shares

वायुमण्डलको खराबी र फ्ल्यास फ्लड

पहिले हिउँ मात्र पर्ने ठाउँमा अहिले वर्षा हुन थालेको छ । हिउँमाथि पानी पर्दा हिउँको तह झन् चाँडो चिप्लिन्छ र ठूला-ठूला ढिस्काहरू खस्ने सम्भावना बढ्छ ।

प्रदीप खनाल प्रदीप खनाल
२०८३ भदौ १६ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बतका हिमालमा हिउँ र बरफको ढिस्को खस्दा अस्थायी हिमतालका बाँध फुटेर नेपालतर्फ बाढी आउने र यसलाई जलवायु परिवर्तनको असर मानिएको छ।
  • बढ्दो तापक्रम र ब्ल्याक कार्बनले हिमनदी कमजोर बनाउँदै भोटेकोशी, तामाकोशी र अरुणमा आकस्मिक बाढीको जोखिम देखिन्छ ।
  • लेखले कोइला, पेट्रोलियम र ग्यास घटाएर जलविद्युत, सौर्य र वायु ऊर्जा बढाउन तथा प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्न सुझाव दिएको छ।

तिब्बतको हिमालमा हिउँ र बरफको ठूलो ढिस्को झरेर तलतिर हिउँ पग्लेर बनेका अस्थायी किसिमका हिमतालका बाँध फुट्न सक्छन् । यही कारण बाढी आउँछ भने त्यसलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको गम्भीर असरका रूपमा लिन सकिन्छ।

पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमालयन क्षेत्रमा यसको असर झन् तीव्र रूपमा देखिएको छ । तापक्रम बढेका कारण हिमालमा जमेका पुराना हिउँका ढिस्काहरू अर्थात् पर्माफ्रोस्ट भित्रैबाट पग्लिएर कमजोर बन्छन् र अचानक तल खस्छन् । हिउँ पग्लिएर हिमालको फेदीमा अस्थायी हिमतालहरू बन्ने क्रम तीव्र भएको छ ।

जब माथिबाट हिउँ वा ढुङ्गाको ठूलो ढिस्को ती तालहरूमा खस्छ, तब तालको बाँध फुटेर तल्लो तटीय क्षेत्रमा भीषण बाढी आउँछ । यसलाई ग्लासिए लेक आउट ब्रस्ट फ्लड (जीएओएफ) पनि भनिन्छ । डिजेल र पेट्रोलबाट चल्ने पुराना गाडी, ट्रक, बस र कारखानाहरूबाट अत्यधिक मात्रामा कालो धुवाँ निस्कन्छ । यसलाई वैज्ञानिक भाषामा ब्ल्याक कार्बन भनिन्छ ।

यो कालो धुलो हावासँगै उडेर तिब्बत र नेपालका हिमालहरूमा पुग्छ र हिउँमाथि जम्छ । सेतो हिउँले घामको तापलाई फर्काउँछ, तर पेट्रोलियम पदार्थबाट निस्किएको यो कालो धुलोले घामको तापक्रम तीव्र रूपमा सोस्छ । यसले हिउँलाई भित्रभित्रै गालेर कमजोर बनाउँछ र हिउँको ढिस्को फुट्न मद्दत गर्छ ।

जब पेट्रोलियम पदार्थ जल्छ, तब ठूलो मात्रामा कार्बनडाइअक्साइड ग्याँस निस्किन्छ । यो ग्याँसले पृथ्वीको वायुमण्डलमा एउटा बाक्लो तह बनाउँछ, जसले सूर्यको तापलाई अन्तरिक्षमा फिर्ता जान दिँदैन र पृथ्वीको तापक्रम बढाउँछ । भोटेकोशी, तामाकोशी र अरुण नदीहरूमा आउने धेरैजसो आकस्मिक बाढीको स्रोत तिब्बतकै हिमताल वा हिमपहिरो हुने गरेको छ ।

पहिले हिउँ मात्र पर्ने ठाउँमा अहिले जलवायु परिवर्तनका कारण वर्षा हुन थालेको छ । हिउँमाथि पानी पर्दा हिउँको तह झन् चाँडो चिप्लिन्छ र ठूला-ठूला ढिस्काहरू खस्ने सम्भावना बढ्छ । बढ्दो तापक्रमले हिउँ पग्लिने र हिमनदी कमजोर बनाउने आधार तयार पार्‍यो । त्यसैको परिणामस्वरूप सिर्जना भएको जलवायु परिवर्तनका कारण हिमनदीको विशाल ढिस्को अचानक भत्किएर नेपालमा यो ठूलो त्रासदी निम्तियो।

जलवायु परिवर्तन र ग्लोबल वार्मिङ एक अन्तर्राष्ट्रिय बहसको विषय भए पनि हामीले आफ्नो सुरक्षाका लागि आन्तरिक रूपमा यसको न्यूनीकरण तथा रोकथाम गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ । कोइला, पेट्रोलियम पदार्थ र ग्यासको प्रयोगलाई क्रमशः विस्थापित गर्दै करणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानु पर्छ ।

हरित ऊर्जाको प्रवर्द्धनलाई बढाउन जलविद्युत, सौर्य ऊर्जा, र वायु ऊर्जाको प्रयोग बढाउनु पर्छ ताकि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरोस् । नेपालले खपत गर्ने विद्युतको मुख्य स्रोत जलविद्युत हो, जुन शतप्रतिशत हरित र नवीकरणीय ऊर्जा हो । यो सुखद् पक्ष हो ।

वन जंगलको संरक्षण र खाली रहेका जमिन र पहाडीका भिरालो भागमा धेरै भन्दा धेरै रूखहरू रोप्ने, भइरहेका जंगलहरूको फँडानी नियन्त्रण गर्ने र डढेलो लाग्नबाट जोगाउने गर्नाले रूखहरूले कार्बनडाइअक्साइड सोसेर वायुमण्डललाई चिसो राख्न मद्दत गर्छन् ।

फोहोरलाई जलाउनुको सट्टा ‘कम गर्ने, पुनः प्रयोग गर्ने र पुनः चक्रण गर्ने’ नीति अपनाउनु पर्छ । त्यसैगरी फोहोर संकलन केन्द्र र पशुपालनबाट निस्कने मिथेन ग्याँसलाई नियन्त्रण गर्नु पर्छ । यो कार्बनडाइअक्साइड भन्दा खतरनाक हरितगृह ग्याँस हो ।

बाढी, पहिरो र भूकम्पप्रतिरोधि सडक, पुल र बाँधहरू निर्माण गरी पूर्वाधार र पूर्वतयारीको विकासमा जोड दिन सकिन्छ । हिमालमा हिमताल फुट्ने वा बाढी आउने सम्भावना हुनासाथ तल्लो तटीय क्षेत्रका बासिन्दालाई पहिल्यै सुरक्षित स्थानमा सार्ने प्रारम्भिक चेतावनी प्रणालीमा पनि ध्यान दिन आवश्यक छ ।

नेपालमा नवीकरणीय ऊर्जाका मुख्य स्रोतहरू

जलविद्युत

बहिरहेको वा माथिबाट खसेको पानीको गतिबाट टर्बाइन घुमाएर बिजुली निकालिन्छ। नेपालका लागि यो सबैभन्दा ठूलो र प्रमुख स्रोत हो।

सौर ऊर्जा

सूर्यको प्रकाश र तापलाई सोलार प्यानलमार्फत सिधै विद्युत वा तातो शक्तिमा परिणत गरिन्छ।

वायु ऊर्जा

तीव्र गतिमा चल्ने हावाको मद्दतले ठूला विन्ड टर्बाइनहरू घुमाएर बिजुली उत्पादन गरिन्छ।

बायोमास

बोटबिरुवा, कृषिजन्य फोहोर, र जनावरको मलमूत्रलाई जलाएर वा सडाएर ऊर्जा निकालिन्छ।

हाइड्रोजन ऊर्जा

पानीलाई नवीकरणीय ऊर्जाको प्रयोग गरी हाइड्रोजन र अक्सिजनमा छुट्याएर इन्धन बनाउन सकिन्छ । यसको प्रयोगबाट मात्र पानीको बाफ उत्सर्जन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?