+
+
Shares

सडक तथा पुलमा ३० अर्ब बराबरको क्षति, पुनर्निर्माण गर्न ५० अर्ब बढी चाहिने

भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी–त्रिशूली बाढीले सडक र पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको सडक विभागले जनाएको छ।
  • रसुवातर्फको ४० किलोमिटर सडक बग्नुका साथै सडक विभाग मातहतका ३१ वटा पुल बगेको महानिर्देशक डा. विजय जैसीले बताए।
  • बाढीग्रस्त क्षेत्रमा तत्काल सडक खुलाउन ३ करोड २५ लाख विनियोजन गरिएको छ भने पुनर्निर्माणमा करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

१६ भदौ, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गमा भएको कटानसम्म हेर्दा सो रकम बराबरको क्षति भएको पाइएको छ ।

बाढीका कारण रसुवातर्फको ४० किलोमिटर सडक पुरै बगेको छ । गल्छी–बेत्रावती–रसुवागढी सडकमा सबैभन्दा धेरै क्षति पुगेको छ । यसबाहेक पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा समेत क्षति पुगेको उनको भनाइ छ ।

सडक विभाग मातहतका ३१ वटा पुल बगेको जानकारी उनले दिए । यसमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने तयारी सरकारले गरेको छ । उनका अनुसार बाढीग्रस्त क्षेत्रमा अहिले एक दर्जन भन्दा बढी उपकरण परिचालन गरी तत्काल सम्भव हुने स्थानमा सडक खुलाउने कामलाई तीव्रता दिइएको छ ।

उनका अनुसार तत्कालीन आवश्यकताका लागि ३ करोड २५ लाख रकम विनियोजन गरी सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए ।

क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणलाई अब विभागले उच्च प्राथमिकता दिने समेत महानिर्देशक जैसीले बताए । उनका अनुसार अब पुनर्निर्माणलाई ५० अर्ब रुपैयाँ हाराहारी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ‘अब कम्तिमा जिल्ला सदरमुकामहरु जोड्ने पुल अग्ला र लामो बनाउनु पर्ने पाठ यो बाढीले सिकाएको छ,’ उनले भने, ‘त्यसले लागत पनि बढाउने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?