News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि धादिङको कृष्णभिरमा सडक भासिँदा काठमाडौं उपत्यकामा एलपी ग्यास ढुवानी अवरुद्ध भई अभाव चुलिँदै गएको छ ।
- नेपाल एलपी ग्यास उद्योग संघका अनुसार चितवन, नवलपरासी र पर्सामा ग्यास रिफिलिङ भइरहे पनि उपत्यकामा दैनिक ४० हजार सिलिन्डरको माग धान्न सकिएको छैन ।
- ग्यास नपाउँदा काठमाडौं, भक्तपुर र गोरखाका उपभोक्ता रित्तो सिलिन्डर बोकेर डिलर धाइरहेका छन्, र केही स्थानीयले सडकमा सिलिन्डर राखेर विरोध गरेका छन् ।
१६ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा लामो समयदेखि कायमै रहेको खाना पकाउने एलपी ग्यास अभाव अझै चुलिँदै जाने देखिएको छ ।
१० भदौमा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको असरले काठमाडौंमा ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति प्रणाली प्रभावित बनेको छ ।
भोटेकोशी बाढी त्रिशूली नदीमा मिसिएर उर्लिंदा पृथ्वी राजमार्गत अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं भित्रिने मुख्य नाका ठप्प छ ।
मुख्य राजमार्ग नै अवरुद्ध भएपछि ग्यासका ठूला बुलेटहरू बाटोमै रोकिँदा उपत्यकामा ग्यास अभाव हुन नदिन सरकार र व्यवसायीले वैकल्पिक उपाय अपनाएर आपूर्ति सहज बनाउने प्रयास थाले पनि सहज हुन सकेको छैन ।
बाटोको समस्या अहिले तत्कालको भए पनि ग्यास नपाइने समस्या भने तीन महिनादेखिकै हो । आजभोलि हरेक दिन बिहानै रित्तो सिलिन्डर बोकेर ग्यास पाइने आशमा डिलर धाउनु उपभोक्ताको दैनिकी नै बनेको छ । डिलरमा ग्यास कहिले आउँछ भन्ने कुनै टुंगो नभएको जवाफ विक्रेताहरूले फर्काउँदै आएका छन् ।
चाबहिल सरस्वतीनगरमा बसोबास गर्ने श्याम डुम्रे १०-१२ दिनदेखि ग्यास पर्खाइमा छन् । ग्यास नभएर घरमा खाना पकाउनै नपाएपछि उनी दिनहुँ डिलरमा सोधपुछ गर्न पुग्छन् । तर, डिलरको जवाफले उनी दिक्क छन् ।
‘ग्यास नपाएको १०-१२ दिन भइसक्यो, डिलरमा गयो, नामसमेत टिप्दैनन्,’ उनी भन्छन्, ‘जहिले आउला त्यही बेला लैजानू, अहिले यत्रो लिस्ट छ, कहिले आउने हो थाहा छैन भन्छन्, न नाम टिप्छन्, न ग्यास दिन्छन्, नेपाल ग्यासको धेरै समस्या छ ।’

ग्यासको विकल्पमा अन्य विद्युतीय वा वैकल्पिक उपाय प्रयोग गर्न पनि सबैलाई सम्भव नभएको उनको भनाइ छ ।
ग्यास अभाव केही दिनको मात्र होइन, कतिपय उपभोक्ताले त महिनौंदेखि ग्यास अभाव झेलिरहेका छन् ।
वनस्थलीका जीवन अधिकारीले एक महिनादेखि ग्यास नपाएर सास्ती खेप्नुपरेको बताए ।
‘मेरो एसटीसी र नेपाल ग्यास हो, एक महिनादेखि ग्यास नपाएर बिजोग छ,’ उनले भने, ‘भएको दुवै सिलिन्डर खाली छन्, घरमा साना बच्चा छन्, ग्यास विक्रेताले जहिले पनि छैन भन्छन् ।’
उनले बालाजुमै नेपाल ग्यास उद्योग भए पनि एउटा सिलिन्डर पाउन नसकेको गुनासो गरे ।
अनामनगर बस्ने अर्का उपभोक्ता आनन्द ज्ञवालीको पीडा पनि उस्तै छ । उनी २० दिनदेखि ग्यास खोजिरहेका छन् ।
‘मैले पनि २० दिनदेखि ग्यास पाएको छैन,’ ज्ञवाली भन्छन्, ‘एउटा डिलरले १५-२० दिनपछि आउनुस् भन्छ, नाम लेखेर जानुस् भन्छ, नाम त १० चोटि नै लेखाइसकेँ ।’
डिलरबाट ग्यास पाउने आश मारिसकेका उनी अब साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) मुख्य कार्यालयमै गएर ग्यास पाइन्छ कि भन्ने झिनो आशमा छन् । ‘एसटीसीको कालीमाटी अफिसमा गयो भने दिन्छ कि दिँदैन होला ?,’ उनको प्रश्न छ ।
विशेषगरी घरबाहिर डेरामा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू ग्यास सकिएपछि प्रत्यक्ष मर्कामा परेका छन् ।
भक्तपुरमा एक्लै बस्दै आएका विद्यार्थी राजन साहले एक सातादेखि ग्यास नपाएर सास्ती भोगिरहेको बताए ।

‘डिलरमा गएर सोध्दा ग्यास आइरहेको छैन भन्छन्, मेरो एउटै सिलिन्डर हो,’ साहले भने, ‘पहिले आइतबार आउँछ भनेका थिए, फेरि सोध्न जाँदा पर्सि आउँछ भन्न थालेका छन् ।’
साहले सुगम ग्यास प्रयोग गर्दै आएका छन् । तर, डिलरबाट निरन्तर ग्यास नआएको जवाफ पाएपछि उनको दैनिक जीवन कष्टकर बनेको छ । खाना पकाउन नपाएपछि उनी अहिले कहिले साथीको कोठामा त कहिले होटलमा खाना खाएर गुजारा चलाइरहेको बताउँछन् ।
‘म यहाँ एक्लै बस्छु, ग्यास नपाएपछि म्यानेज गर्न गाह्रो भइरहेको छ,’ उनले सुनाए, ‘कहिले साथीकोमा गएर खान्छु त कहिले होटलमा खाइरहेको छु ।’
आजै मात्र तीन महिनादेखि ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिन्डर राखेर विरोध जनाएका छन् ।
सिरानचोक गाउँपालिका-४ चोरकाटेका स्थानीयले विरोध स्वरूप रित्तो सिलिन्डर सडकमा राखेर सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
‘असारयता यहाँ ग्यासको हाहाकार छ,’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजारमात्र जान्छ, आज त हामीले सामान्य सचेत मात्रै गराएका हौं ।’
ग्यास नपाउँदा चुलोचौका गर्नसमेत समस्या भएको उनले बताए । अब पनि ग्यास नपाए सशक्त आन्दोलनमा उत्रिने त्यहाँका स्थानीयले चेतावनी दिएका छन् ।
काठमाडौंका अधिकांश ग्यास डिलर बन्द अवस्थामा छन् भने कतिपयले ग्यास पाइने अनिश्चित भएको भन्दै सूचना नै टाँस गरेका छन् ।

नदीको बहाव अत्यधिक बढेपछि आइतबार बेनीघाट-रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरमा सडकको तल्लो भाग कटान गरेको थियो । भौगर्भिक रूपमै कमजोर मानिएको कृष्णभिरमा विगतमा पनि पहिरो जोखिम रहँदै आएकोमा यसपालि नदी कटानले सडक नै बगाएपछि ठूला मालवाहक सवारीसाधन र ग्यासका बुलेट आवागमन पूर्णरूपमा असम्भव भएको हो ।
ग्यासका बुलेट काठमाडौं ल्याउन नसकिने प्राविधिक निष्कर्षपछि नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले तराईमै ग्यास भर्ने (रिफिलिङ) वैकल्पिक व्यवस्था मिलाएका छन् ।
अहिले काठमाडौं उपत्यकाका खाली ग्यास सिलिन्डर साना तथा मझौला ट्रकमार्फत तराई पुर्याउने र त्यहाँ भरेर फर्काउने काम भइरहेको छ ।
नेपाल ग्यास लगायत उद्योगले चितवन, धनुषा, बारा, पर्सा, मकवानपुर र नवलपरासीमा रहेका आफ्ना शाखा तथा अन्य उद्योगहरूसँग समन्वय गरी खाली सिलिन्डर भरेर उपत्यका पठाइरहेका छन् ।
यसरी तराईमा भरिएका ग्यास सिलिन्डर र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई राजधानी भित्र्याउन वैकल्पिक र तुलनात्मक रूपमा साँघुरा सडक प्रयोग भइरहेको छ ।
हेटौँडा हुँदै त्रिभुवन राजपथ (पालुङ-टिस्टुङ-नौबिसे) र कान्ति लोकपथलाई मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ । यी सडक साँघुरा र पहिरो जोखिम भएका कारण सवारी जाम र दुर्घटनाको जोखिम कम गर्न स्थानीय प्रशासनले एकतर्फी पालैपालो गाडी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।
तर, फेरि बिहान पहिरो गएका कारण ती मार्गबाट गाडी काठमाडौं भित्रिन पाएका छैनन् ।
प्लान्टमा ग्यास छ, बजार ल्याउन बाटो छैन
नेपाल एलपी ग्यास उद्योग संघले राजमार्गहरू अवरुद्ध हुँदा प्लान्टमा ग्यास भए पनि बजारसम्म ल्याउन नसकिएको बताएको छ ।
मंगलबार ग्यास आपूर्ति समस्या र समाधानका उपायबारे छलफल गर्न मन्त्रालय पुगेका संघका पदाधिकारीले मन्त्री र सचिव भेटेर यथार्थ जानकारी गराएका छन् ।
तर, सरकारका तर्फबाट समस्या समाधानका लागि तत्काल कुनै ठोस र भरपर्दो जवाफ नआएको उनीहरूको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले अहिले चितवन, नवलपरासी र पर्सामा रहेका ग्यास प्लान्टमा बुलेटबाट ग्यास अनलोड गर्ने र सिलिन्डर भर्ने काम निरन्तर भइरहेको छ । तर, ती सिलिन्डर काठमाडौं ल्याउने मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको उनी बताउँछन् ।

‘चितवन, नवलपरासी र पर्साका प्लान्टमा ग्यास भर्ने काम भइरहेको छ, तर ल्याउन बाटोको अवस्था मिलिसकेको छैन,’ अध्यक्ष चन्दले भने, ‘कान्ति राजपथबाट साना गाडीमा ग्यास ल्याउन खोजिए पनि राजमार्ग ठाउँ–ठाउँमा पहिलो गएकाले अझै समस्या छ ।’
दैनिक ४० हजार सिलिन्डर माग, १० हजार ल्याउनै मुस्किल
ठूला ट्रकमार्फत ग्यास ल्याउन सम्भव नभएपछि उद्योगीले त्रिभुवन राजपथ प्रयोग गर्न खोजेका छन् । उक्त बाटोबाट ४ सयदेखि ४ सय ५० सिलिन्डर बोक्ने साना ट्रकमात्र आउन सक्छन् ।
काठमाडौंको माग धान्न दैनिक हजारौं सिलिन्डर आवश्यक पर्ने तर साना गाडीबाट त्यो सम्भव नहुने अध्यक्ष चन्दको भनाइ छ ।
‘दिनमा १० हजार सिलिन्डर मात्र ल्याउने हो भने पनि २५ वटा ट्रक चाहिन्छ, खाली सिलिन्डर लैजान र भरिएको ल्याउन ५० वटा ट्रकको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘१० हजारले मात्र बजारको माग धान्दैन, हामीले दैनिक ४० हजार सिलिन्डर ल्याउने व्यवस्था कसरी मिलाउने हो, सोचेर मिलाइदिन सरकारलाई अनुरोध गरेका छौं ।’
ग्यास आपूर्तिमा देखिएको यो गम्भीर संकटबारे मन्त्रालयलाई जानकारी गराउँदा पनि सरकारबाट आश्वस्त हुने जवाफ नपाएकोे गुनासो उद्योगीको छ ।
‘उद्योग मन्त्रालयबाट सरकारी निकाय, सुरक्षा निकाय र ट्रक व्यवसायी महासंघसँग कुरा गर्छौं मात्र भन्ने जवाफ आएको छ,’ मन्त्रालयको भनाइ उद्धृत गर्दै उनले भने, ‘ठोस निर्णय केही भएको छैन ।’

काठमाडौंमा १०० बुलेट फसे
संघ अध्यक्ष चन्दका अनुसार अहिले काठमाडौं उपत्यकाभित्र करिब १ सय थान ग्यास बुलेट फसेका छन् । बाटो नखुल्दा ती बुलेट ग्यास लिनका लागि फर्किन पाएका छैनन् ।
उद्योगी आफैंले बाटोको अवस्था बुझ्न टोली खटाएको उनले बताए । ‘हामीले आजै केही ड्राइभर, आयल निगमका प्रतिनिधि र हाम्रा मान्छे राखेर जिपमा कान्ति राजपथ र त्रिभुवन राजपथको अवस्था बुझ्न (रेकी गर्न) पठाएका छौं,’ चन्दले भने, ‘साना ट्रक त्यो बाटोबाट एक राउन्ड लगाउन सक्छन् कि सक्दैनन् भनेर हेरेपछि मात्र ग्यास ल्याउने काम सुरु हुन्छ ।’
काठमाडौंमा मात्र नभएर पश्चिम नेपाल र गण्डकी प्रदेशमा पनि ग्यासको चरम अभाव छ । गोरखामा उपभोक्ताले रित्तो सिलिन्डर सडकमै फालेर विरोध गर्न थालेको सन्दर्भमा अध्यक्ष चन्दले त्यहाँ पनि ढुवानीकै समस्या रहेको बताए ।
‘चितवनबाट ग्यास जाने भनेको काठमाडौं भन्दा धेरैजसो पोखरा, गोरखा लगायत क्षेत्रमा हो, हिजो मात्रै १५५/१५६ गाडी लोड भएको छ,’ उनले भने, ‘बीचमा भारतको बरौनी रिफाइनरीमा एक-दुई दिन ग्यास कम दिँदा त्यसको असर परेको थियो, अब लोड हुन थालेको छ, तर त्यहाँ पनि ट्रान्स्पोर्टेसनकै समस्या हो ।’
अध्यक्ष चन्दले बजारमा प्लान्टबाटै ग्यास पुग्न नसकेको बताएका छन् । ‘बजारमा ८-१० हजार सिलिन्डर मात्र पुगेको छ, माग धेरै छ, थोरै ग्यास बाँड्दा अभाव देखिएको हो,’ अध्यक्ष चन्दले भने, ‘यसमा डिलरको कुनै दोष छैन, पहिले उद्योगबाट ग्यास निस्किएर बजार पुग्नुपर्यो ।’
राजमार्ग भासिएर ग्यासका बुलेट काठमाडौं भित्रिन नसकेपछि ‘नेपाल ग्यास’ उद्योगको बालाजुस्थित प्लान्ट बन्द भएको छ । उद्योगमा ग्यासको मौज्दात (स्टक) सकिएपछि खाली सिलिन्डर भर्ने (रिफिलिङ) काम पूर्णरूपमा रोकिएको उद्योग सञ्चालक गोकुल भण्डारीले बताए ।

‘बालाजुमा अहिले ग्यासका बुलेट आएका छैनन्, ग्यास नै नभएपछि सिलिन्डर फिलिङ हुने कुरा भएन, त्यसैले बालाजु प्लान्ट अहिले बन्द छ,’ सञ्चालक भण्डारीले भने, ‘हामीले तराईबाटै फिलिङ गरेर ल्याउने योजना बनाएका छौं, चितवनबाट ग्यास भरेर एउटा गाडी काठमाडौंका लागि हिँडिसकेको छ ।’
यद्यपि, बिग्रिएको सडक र ढुवानी साधन (ट्रक) अभावका कारण काठमाडौंमा पर्याप्त ग्यास ल्याउन चुनौती रहेको उनले बताए । ढुवानीका लागि आवश्यक गाडी व्यवस्थापन गरिदिन उद्योगले सरकारसँग सहयोग मागेको छ ।
‘बाटोको स्थिति हेरेर कति ग्यास ल्याउन सकिन्छ भन्ने निर्धारण हुन्छ, त्यसमाथि गाडी कत्तिको व्यवस्था गर्न सकिन्छ भन्ने अर्को चुनौती छ,’ उनले भने, ‘हामीले मात्र नसक्ने भएकाले गाडी व्यवस्थापन गरिदिन राज्यलाई पनि गुहारेका छौं ।’
यसअघि डिलर मार्फत ग्यास वितरण गर्ने प्रणाली लागु गर्दा बजारमा आपूर्ति व्यवस्था निकै सहज हुँदै गइरहेको अवस्थामा सडक अवरोधले अचानक समस्या निम्त्याएको उनको भनाइ छ ।
‘बीचमा वितरक (डिलर) बाट ग्यास बाँड्ने व्यवस्था भएपछि आपूर्ति प्रणाली एकदमै ठिक भएको थियो, सबै कुरा ट्र्याकमा थियो र सहज भइरहेको थियो,’ भण्डारीले भने, ‘तर, अहिले बाटो भासिएपछि काठमाडौंमा बुलेट आउने कुरा भएन, बुलेट नै नआएपछि स्वत: समस्या सिर्जना भइहाल्यो ।’
ग्यास विक्रेता महासंघ नेपालले बाटो बन्द भएका कारण डिलरहरूमा ग्यास नआएको र उपभोक्तालाई दिन नसकिएको बताएको छ । महासंघ वरिष्ठ उपाध्यक्ष विष्णु दुलालले ग्यास नभएपछि बिहान-बेलुका डिलर खोल्ने र ग्यास छैन भनेर बन्द गर्नुपर्ने बाध्यतामा व्यवसायीहरू रहेको बताए ।
यस विषम परिस्थितिबारे छलफल गर्न महासंघ सचिवालय बैठक बसेको र भोलि (बुधबार) आयल निगम र ग्यास उद्योगीहरूलाई भेटेर डेलिगेसन जाने तयारी रहेको दुलालले बताए ।
बाटो बन्द भएपछि साना गाडीबाट ग्यास ढुवानी गर्ने भनिए पनि त्यसले मात्रै उपत्यकाको माग धान्न नसक्ने र यसले झन् ठूलो समस्या निम्त्याउने महासंघको निष्कर्ष छ । समस्याको एउटै मात्र समाधान तत्काल कृष्णभिरको सडक मर्मत गरेर पुन: सुरु गर्नु रहेको दुलालको भनाइ छ ।
ग्यास अभाव छैन, बाटो बिग्रिँदा मात्र ढुवानीमा समस्या भएको हो : आयल निगम
नेपाल आयल निगमले बजारमा ग्यास अभाव नरहेको तर बाढीपहिरोले सडक बिग्रिएका कारण ढुवानीमा मात्र समस्या भएको बताएको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भारतबाट ग्यास आयातमा कुनै अवरोध नरहेको बताउँदै बाटोको कारणले मात्र उपत्यकामा ग्यास ल्याउन कठिनाइ भएको बताए ।
कार्यकारी निर्देशक साहका अनुसार अहिले ग्यासको नभई बाटो र सवारीसाधन आवागमन मुख्य समस्या हो ।
‘पहिले नजिकै २०-२५ किलोमिटरको दुरीमा तुरुन्तै भरेर ल्याउने, लैजाने गरिन्थ्यो, अहिले बाटोले धोका दिइरहेको छ, सानो बाटोमा आवागमन गाह्रो भइरहेको छ,’ साहले भने, ‘अब ग्यासको समस्या भएन, हामीलाई अहिले बाटो र आवागमनको मात्र समस्या भयो ।’

यसअघि डिलर मार्फत ग्यास वितरण गर्ने निर्णयले बजार सहज बन्दै गएको अवस्थामा एक्कासि बाटो भासिएपछि आपूर्ति चक्र प्रभावित भएको निगमको दाबी छ । अहिले वैकल्पिक मार्गका रूपमा कान्ति राजपथ प्रयोग भइरहेको भए पनि त्यहाँ ट्राफिक जामको समस्या रहेको साहले बताए ।
‘डिलरबाट बाँड्ने निर्णय भइसकेपछि आपूर्ति एकदमै सहज भएको थियो, तर पछि बाटो नै भासिइसकेपछि त फेरि एक-दुई दिन हामी यतिकै प्रभावित भयौं,’ उनले भने, ‘अहिले अधिकतम रूपमा उता (तराईमा) रिफिलिङ भइरहेको छ, कान्तिपथमा थोरै ट्राफिक जाम छ, तै पनि भोलिदेखि ग्यास आउँछ ।’
कार्यकारी निर्देशक साहले बाढीपहिरो प्रभावित सडकको मध्यभाग (राजधानी वरपर) बाहेक देशका अन्य प्रदेशहरूमा ग्यासको कुनै समस्या नरहेको दाबी गरे ।
कोशी, मधेस, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा आपूर्ति सामान्य रहेको र सुदूरपश्चिममा देखिएको सामान्य समस्या पनि समाधान भइसकेको उनको तर्क छ ।
‘हामीलाई आएको जानकारी अनुसार कोशी, मधेस, लुम्बिनी र गण्डकीमा ग्यासको केही समस्या छैन,’ साहले दाबी गरे, ‘यही बीचमा जुन बाढी गयो र बाटोले जहाँ धोका दियो, त्यसैको वरिपरि मात्रै समस्या हो, यसलाई समाधान गर्न हामी गम्भीर रूपमा लागिरहेका छौं र थप प्रयास गर्दैछौं ।’
भारतबाट आउने ग्यासमा कुनै कमी नरहेको र पर्याप्त मात्रामा ग्यास आइरहेको उनले बताए । ‘भारतबाट आउनलाई त केही समस्या छैन, अझ बढी ग्यास आएको छ, जति ग्यास आयो, त्यति भरेर पठाउँदा पनि हामीलाई पुग्छ,’ साहले भने ।
हिजोदेखि काठमाडौंका खाली सिलिन्डर भर्नका लागि बाहिर पठाइएको र वैकल्पिक मार्गबाट कति सिलिन्डर भरिएर काठमाडौं भित्रिँदैछन् भन्ने यकिन तथ्यांक भोलिसम्ममा उपलब्ध हुने निगमको भनाइ छ ।
ग्यास उद्योगीले समस्या समाधानको बलियो विकल्प सहित सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । बाटो साविककै अवस्थामा व्यवस्थापन नभएसम्म उपभोक्ताले अझै केही दिन सास्ती खेप्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4