+
+
Shares

पहिरो नहटाउँदा स्याङ्जाको साउन्दी झोलुङ्‍गे पुलबाट आउजाउ गर्न समस्या

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीरकोट नगरपालिका–९ को चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुल छेउको पहिरो नहटाउँदा स्थानीयलाई आउजाउमा समस्या परेको छ।
  • पूर्वाधार विकास कार्यालय स्याङ्जाले कर्णाली कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई ४ भदौमा पत्राचार र फोनमार्फत पहिरो हटाउन निर्देशन दिएको छ।
  • कार्यालयले निर्देशन पालना नभए निर्माण कम्पनीको १ लाख ८० हजार रुपैयाँ धरौटी जफत गरेर आफैं पहिरो हटाउने जनाएको छ।

१७ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–९ मा निर्माण भएको चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुलमा खसेको पहिरो नहटाउँदा सर्वसाधारणलाई आउजाउमा समस्या परेको छ ।

साउन मसान्ततिर उक्त पुलको छेउमा पहिरो खसेको थियो । जसका कारण स्थानीयलाई उक्त पुल भएर आउजाउमा समस्या भएको हो । पहिरोका कारण पुलसमेत कोल्टिएको स्थानीय बताउँछन् ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्माण कम्पनी कर्णाली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंलाई तत्काल पहिरो हटाउन निर्देशन दिएको जनाएको छ ।

४ भदौमा नै निर्माण कम्पनीलाई पत्राचार गर्नुका साथै फोनमार्फत पहिरो हटाएर आउजाउमा सहज बनाउन निर्देशन दिएको कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए ।

कार्यालयका इन्जिनियर पोषराज पौडेलका अनुसार पुलमा खसेको पहिरो सामान्य प्रकृतिको भएकाले करिब १० देखि १२ हजार रुपैयाँ खर्चमै हटाउन सकिने अवस्था छ ।

निर्माण कम्पनीले कार्यालयको निर्देशन पालना नगरे कार्यालयले कम्पनीको धरौटी रकम जफत गरेर आफैं पहिरो हटाउने उनले बताए ।

उनका अनुसार निर्माण कम्पनीको एक लाख ८० हजार रुपैयाँ धरौटी कार्यालयमा रहेको छ ।

पौडेलले पुलको निर्माण गुणस्तर र डिजाइनमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनका अनुसार भित्ताको ढिस्को खसेर पुलमा आवतजावतमा अवरोध पुगेको हो ।

चराङदेखि धोवादीखोला साउन्दीसम्म जोड्ने उक्त झोलुङ्गे पुल निर्माणका लागि ५६ लाख ६१ हजार चार सय ४२ रुपैयाँ लागत अनुमान गरिएको थियो । पुल भने ४० लाख ४२ हजार पाँच सय ७० रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीबीच २०८२ जेठ २५ गते निर्माण सम्झौता भएको थियो । कार्यालयका अनुसार पुल निर्माणको काम २०८३ जेठ १० गते सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?