+
+
Shares
रसुवा भन्सार अधिकृत :

‘बाढीको भुमरीमा २० मिनेट संघर्ष गरेर नयाँ जीवन पाएँ’

लेदोले कोठा भरिन पाँच सेकेन्ड लाग्यो होला । भूकम्प आयो भन्ने सुनेको दुई मिनेट पनि नहुँदै बाढी आइसकेको थियो । झ्यालबाट लेदो छिरेर कोठा भरिएपछि केही देख्न सक्ने अवस्था रहेन ।

तिलक पराजुली तिलक पराजुली
२०८३ भदौ १६ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा भन्सार अधिकृत तिलक पराजुलीले बाढीको दिन मर्निङ वाकबाट फर्केर अफिस जाने तयारी गर्दा एक्कासि लेदो र ढुंगासहितको बाढी आएको बताए ।
  • उनले भुमरीमा करिब २० मिनेट घुमेर, चट्टानी पहाड चढ्दै, हेलिकप्टर र उद्धारकर्ताको सहयोगमा ज्यान जोगाएको सुनाए ।
  • पराजुलीलाई सेनाको हेलिकप्टरबाट नुवाकोट हुँदै नर्भिक अस्पताल ल्याइएको छ, जहाँ दायाँ करङ भाँचिएको र बाहिरी चोट धेरै भएको चिकित्सकले बताएका छन् ।

म रसुवा भन्सार कार्यालयमा सरुवा भएको डेढ महिना भयो । रसुवामा जिम्मेवारी सम्हालिरहँदा बुवा बिरामी भएको खबर पाएर काठमाडौं आउनुपर्‍यो । त्यसपछि मंगलबार मात्रै काठमाडौंबाट फर्केर कार्यक्षेत्र पुगेको थिएँ ।

करारका सहित कार्यालयमा ३५ जना कर्मचारी थियौं । हामी नियमित रूपमा मर्निङ वाक गर्थ्यौं । बाढी आएको दिन (गत बुधबार) पनि मर्निङ वाक गरेर फर्केका थियौं । त्यो दिन मर्निङ वाक गर्न सँगै जानेमा हरि खड्का (जो बाढीबाट सम्पर्कविहीन छन्) र म थियौं ।

त्यसपछि नियमित अफिसका लागि तयार भएँ । अफिस सँगै निस्कनका लागि हरि खड्कालाई कुर्दै थिएँ । तेस्रो तलामा बसेर उहाँलाई कुरिरहेका बेला ‘भूकम्प आयो’ भनेको सुनियो । बाढीतिर सोच्दै सोचिएन । यति ठूलो बाढी आउला भन्ने कल्पना पनि भएन ।

एक्कासि मुस्लो सहितको आवाज आयो । मुस्लो देख्दा सुरुमा पहिरो गएको जस्तो लागेको थियो । मान्छेहरू आत्तिएर यताउता कुद्न थाले । हरि सर र म पनि बाढीबाट बच्न कुद्न थाल्यौं । उहाँ कोठाबाट तलतिर झर्नु भयो । म त्यहाँबाट अर्को कोठामा छिर्न खोजें ।

त्यतिबेला ढुंगासहित बाढीको लेदो हामी भएसम्म आइसकेको थियो । लेदोले कोठा भरिन पाँच सेकेन्ड लाग्यो होला । भूकम्प आयो भन्ने सुनेको दुई मिनेट पनि नहुँदै बाढी आइसकेको थियो । झ्यालबाट लेदो छिरेर कोठा भरिएपछि केही देख्न सक्ने अवस्था रहेन । दुई जना अरू साथीसँग हात समातेर बस्यौं ।

पाउदेखि शीरसम्म बाढीले हामीलाई पुर्‍यो । श्वासप्रश्वास नै बन्द भए जस्तो भयो । अब जीवन यति नै रहेछ भन्ने लागिसक्यो । जोडसहित आएको भेलले भित्तासमेत फोड्यो । हात समातेर बसेका हामी तीन जनालाई बाढीले भुमरीमा हुत्याइदियो । त्यही भुमरीमा मलाई बाढीले घुमाइराख्यो । बाँच्न अब सकिन्न होला, तैपनि प्रयास गर्नुपर्छ भन्ने लाग्यो । मैले टाउको जोगाउन निकै प्रयास गरें ।

भुमरीले मलाई घुमाइराख्यो । अर्धचेत भएँ । बाढीले हुत्याएदिए हुने थियो नि भन्ने मनमा लाग्यो । भगवानसँग यही पुकारा गरिरहेको थिएँ । ‘भगवान मेरो सानो बच्चा छ, उसको लागि भए पनि बचाउदेऊ’ भनेर कामना गरें ।

भुमरीमा २० मिनेट जति घुमिरहें जस्तो लाग्छ । कन्टेनर, ग्यास सिलिन्डर पनि भुमरीमा घुमिरहेका थिए । घरी कन्टेनरमा ठोकिन्छु । घरी ग्यास सिलिन्डरमा ठोकिन्छु । घरी शरीरमाथि ढुंगा बजारिन्छ । कुनै बेला होस र कुनै बेला बेहोसमा बाँच्ने संघर्ष गरिरहें ।

भूमरीको चाल रोकियो । अर्धचेत अवस्थामा वरपर हेर्दा हरियो डाँडा देखें । त्यही डाँडातिर लत्रिने कोसिस गरें । अलि होसमा हुँदा फेरि अर्को छाल आउँछ कि भन्ने लाग्थ्यो । खाल्डोमा पर्छु कि भन्ने डर पनि कताकता थियो ।

लत्रिँदै अघि बढ्दा मान्छेको टाउको पनि समाउन पुगेको रहेछु । टाउको फुटेका २-३ जना देखें । आफू कसरी बच्ने भन्ने भइरहेको बेला उनीहरूलाई पनि बचाउन पाए हुन्थ्यो भन्ने पनि लाग्यो ।

बाँच्ने आशले घस्रिँदै पहाड चढ्न थालें । सुरक्षित रहेका दुई जनाले हराएको आफ्नो मान्छे खोजिरहेका रहेछन् । उनीहरूले मलाई उद्दार गर्लान् कि भन्ने लागेको थियो । आफ्नै हराइरहेको मान्छे खोजिरहेका उनीहरूले सायद मतिर ध्यान दिन सकेनन् ।

थिलथिलो शरीर लिएर चट्टानी पहाडमा घस्रिरहेको थिएँ । अलि माथि पुगेपछि हात ठड्याएँ । चिनेको साथी ओम जोशीले मलाई देख्नुभयो । म तिलक भनेर उहाँलाई भनें । चिन्न नसकिने अवस्थाको शरीर भएकोले म हुँ भनेर नामसहित उहाँलाई चिनाउनु परेको थियो । उहाँ आफ्नो भान्जा राजेन्द्रको खोजीमा हुनुहुँदो रहेछ ।

ओमजीले मलाई अलि माथि पुर्‍याउनुभयो । मलाई झन् गाह्रो हुँदै गएको थियो । ओमजीले ढुंगाले पाइप फुटालेर पानी खुवाउने प्रयत्न गर्नुभयो । थोरै मात्रै पानी आयो

अर्कोतिर, एक बहिनी थिइन् । उनको निधारको भाग सबै काटेको थियो । उनले पनि पानी पिइन् । ती बहिनी पनि माथि उक्लिन प्रयास गरिरहेकी थिइन् ।

सरकारले उद्धार गर्ने आशामा अझै माथि घस्रिँदै उक्लिएँ । त्यहाँ विक्रम श्रेष्ठले देख्नुभयो । अहिले जति पनि सुरुका फोटो भनेर आएका छन् ती विक्रमजीले खिच्नुभएको हो । उहाँ ‘तिलक सर हुनुहुँदो रहेछ’ भन्दै दौडेर म भएतिर आउनुभयो । एउटा घरसम्म लानुभयो ।

तल्लो भागको कपडा बाहेक शरीर छोप्ने केही थिएन । लेदोले अरूले चिन्नै नसक्ने अवस्थामा थिएँ । विक्रमजीले शरीर पखालिदिनुभयो । शरीरभिर चोटैचोट लागेको हुँदा सहनै नसक्ने गरी पीडा भइरहेको थियो । शरिर पखालेपछि त झन् बेहोस जस्तै भएँ । थरथर काँप्न थालें । एक जनाले कपडा लगाइदिनुभयो ।

त्यो भूगोल देख्दा यस्तो घाइते मान्छे त्यतिमाथि कसरी पुग्यो होला भन्ने सबैलाई लाग्छ । बाँच्ने आशमा हिम्मत पनि आउने रहेछ ।

भुमरीबाट उम्किएँ भने बाँच्न सक्छु भन्ने पहिलो आश थियो । अब भने हेलिकप्टर आयो भने बाँच्न सक्थें भन्ने अर्को आश पलायो । हेलिकप्टर आउन मौसमले पनि साथ साथ दिएको थिएन । घाम लाग्न सकेको थिएन ।

तैपनि, केही समयपछि हेलिकप्टरको आवाज आयो । सेनाको हेलिकप्टर रहेछ । तर अवतरण गर्न सकेन । अब बाँचिन्न भन्ने लाग्यो । म छट्पटिँदै उपचारको खोजीमा रहेको डेढ घण्टा बढी भइसकेको थियो ।

हेलिकप्टर आइसकेपछि पक्कै बचाउँछ भन्ने आश थियो । बस्न नसक्ने अवस्था भए डोरीले तानेर भए पनि लान्छ भन्ने लागेको थियो ।

पछिल्लो पटक आएको हेलिकप्टर अवतरण भयो । तर म पुगेको स्थानभन्दा अलि तल । त्यहाँका घाइतेलाई लिएर हेलिकप्टर उड्यो । म आत्तिएको देखेर विक्रमजीले पहिलो उडानमै पठाउन खोजिरहनुभएको थियो । तर हेलिकप्टर उडिहाल्यो । त्यसपछि मेरो अवस्था झन नाजुक भयो ।

म रहेको माथिल्लो स्थानमा हेलिकप्टर बस्ने ठाउँ नभएकोले फेरि तल झर्नुपर्ने भयो । तर बोकेर झार्न सक्ने अवस्थासमेत थिएन । बाहिरी भागमा चोट नलागेको शरीरको कुनै अंग थिएन ।

दुई जना साथीको सहयोगमा बल्लतल्ल हेलिकप्टर अवतरण गर्नसक्ने स्थानमा झरें । शरीर पखालिसकेपछि दुखाइ अत्यन्तै बढ्यो । यहाँसम्म त आफ्नो संघर्षले बाँचेर आएँ । अब सरकारले बचाइदिए हुन्थ्यो थियो भन्ने लागिरह्यो ।

अलि समय लगाएर हेलिकप्टर आयो । उपचारका लागि छटपटीमा रहेका घाइतेहरू आक्रोशित थिए । एक जना टाउको फुटेका घाइते थिए । हेलिकोप्टर कुर्दाकुर्दै उनको ज्यान गयो । अनि त्यहाँ रुवाबासी भयो ।

एकातिर मान्छे बितिरहेको देख्नु परेको छ । अर्कोतर्फ मेरो अवस्था झन् जटिल हुँदै गएको छ । सुर्खेत होटल चलाइरहेका कमल र अर्का एक जना सञ्चितले मलाई समाइराख्नुभएको थियो । कमल स्वयंको बुबा र बहिनी सम्पर्कविहीन भएका थिए । तैपनि, उहाँ मेरो रेखदेखमा लाग्नुभएको थियो ।

केही समयमा हेलिकप्टर आयो । हेलिकोप्टर चढेपछि म बेहोस भएँ । सिधैं काठमाडौं ल्याएर उपचार गरिन्छ होला भन्ने लागेको थियो । नुवाकोटमा सेनाको क्याम्पमा झारिएछ । अर्धचेतमा रहँदा नुवाकोट ल्याइएको रहेछ भन्ने थाहा पाएँ ।

जटिल अवस्थामा रहेकालाई तुरुन्तै अस्पताल पठाउने भन्दै कुरा भइरहेको अलिअलि चेत पाएको थिएँ । अस्पताल पुर्‍याएपछि कोही आफ्नो मान्छेको नम्बर भन्न सक्नुहुन्छ भनेर सेनाका व्यक्तिले सोधे । श्रीमतीको नम्बर दिएँ । अफ रहेछ । दाइ (तोरण पराजुली) को नम्बर दिएँ, फोन लागेन । बच्चादेखिको साथी युवराजको नम्बर सम्झेको थिएँ । उनको नम्बरमा सम्पर्क भयो । ‘म जीवित छु है भनेर सकेसम्म छिटो घरमा खबर पुर्‍याउनु थियो । युवराजकै एकजना साथी तुरुन्तै चक्रदेव अस्पतालमा आउनुभयो ।

बाढीग्रस्त क्षेत्रमा हेलिकप्टर उडाउनुपर्ने भएकोले प्राथमिक उपचार गरेर एम्बुलेन्सबाट काठमाडौं पठाउने जानकारी गराइयो । एम्बुलेन्समा राखेर काठमाडौं ल्याउँदा सुरुमा अस्पताल ल्याइएको हो कि जस्तो लागेको थियो । एकछिन पछि नर्भिक अस्पतालमा रहेछु भन्ने थाहा भयो ।

बुधबार दिउँसो ४ बजेतिर यहाँ आइपुगेको रहेछु । वरपर भएका केही कुरा थाहा पाउँथें, केही कुरा थाहै नपाउने अवस्थामा थिएँ । मलाई उद्धार गरेर ल्याएकै दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वास्थ्य अवस्था बुझ्न आउनुभएको थियो । उहाँसँग अलिअलि बोले जस्तो पनि लाग्छ । भन्सार विभागका महानिर्देशक पनि आउनुभएको थियो । आईसीयूमा भर्ना गरियो । भोलिपल्ट (बिहीबारबाट) स्वास्थ्यमा अलि सुधार आयो ।

तस्वीरः उपचाररत पराजुली र, उपचारमा ल्याइए लगत्तै स्वास्थ्य अवस्था बुझ्न गएका अर्थमन्त्री डा. वाग्ले

डाक्टरहरूका अनुसार शरीरको भित्री भागमा समस्या देखिएको छैन । दायाँ करङ भाँचिएको छ । बाहिरी भागमा सबैतिर चोट छ । मस्तिष्कमा कुनै असर परेको छैन । करङ पूर्वअवस्थामा आउनका लागि अलि समय लाग्छ रे । निको हुने तर केही समय बढी लाग्ने डाक्टरहरूले जानकारी गराउनुभएको छ ।

(रसुवा भन्सार अधिकृत पराजुलीसँग लिलु डुम्रेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?