+
+
Shares
रसुवा बाढी :

बेपत्ताका आफन्तको फोटो टाँस्न सघाइरहेका १२ वर्षीय विवेक

‘आईस झरेर बाढी आएको भनेर थाहा पाएको थिएँ । त्यसमा धेरै मान्छे हराउनु भएछ । अनि मैले टाँसिदिन सघाउँदा कोही मान्छे भेटिन्छ कि जस्तो लाग्यो,’ विवेक सुनाउँछन् ।

मनिषा थापा कौशल काफ्ले मनिषा थापा, कौशल काफ्ले
२०८३ भदौ १६ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीमा हराएकाहरूका फोटो टाँस्न १२ वर्षीय विवेक परियार पाँच दिनदेखि त्रिवि शिक्षण अस्पताल पुगिरहेका छन्।
  • विवेकले पैसा लिन अस्वीकार गर्दै आफन्तले दिएपछि मात्र फोटो टाँसिदिने र माथिल्ला भागमा चढेर पनि सहयोग गर्ने गरेका छन्।
  • विवेककी आमा प्रमिला परिवारको जीविका चलाउन बिरामीको स्याहार गर्छिन् र छोराले अपरिचित भीडमा जाँदा सुरक्षा चिन्ता गर्छिन्।

१६ भदौ, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको भित्ता भोटेकोशीको बाढीमा हराएकाहरूका फोटो, नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर लेखिएका कागजले भरिएका छन् ।

कतै ठूला रङ्गीन तस्वीर छन् त, कतै साना ब्ल्याक एण्ड ह्वाइट फोटाहरू । भित्ता अगाडि उभिएर हेर्नेहरूको अनुहारबाट थकान, चिन्ता र आँसु लुक्दैन ।

कोही फोन निकालेर हराएकाहरूका विवरण ‘क्रस भेरिफाइ’ गर्दै छन् भने कोही आफन्तको फोटो टाँस्ने ठाउँ खोज्दै छन् ।

यही भीड एक जना सेतो टेपको रोल बोकेका बालक निकै व्यस्त देखिन्छन् । हातमा टेप बोकेर हिंडेका ती बालक बाढीमा बेपत्ताका आफन्त जस्तो लाग्ने मान्छे देख्ने बित्तिकै सोधीहाल्छन्, ‘तपाईंको फोटो टाँस्न छ ?’

आफन्तले फोटो दिएपछि उनी त्यसलाई मिलाएर हेर्छन् । फोटोको आकारअनुसार भित्तामा ठाउँ खोज्छन् । टेप काट्छन् र फोटो राम्ररी टाँसिदिन्छन् ।

भित्ताको माथिल्लो भागसम्म पुग्न उनको उचाइले भ्याउँदैन । यस्तो बेला उनी अरूको सहारा लिएर भए पनि फोटो टाँसेर छाड्छन् ।

उनी हुन्, १२ वर्षीय विवेक परियार ।

विवेकले पैसा कमाउन यस्तो गरेका हुन् कि ?

विल्कुलै होइनन् ।

बरू कसैले उनको काम देखेर पैसा दिन खोज्यो भने विवेक हात र टाउको एकसाथ हल्लाउँदै भन्छन्, ‘म लिन्नँ ।’

‘अब लेउ कि लेउ भनेपछि त लिनैपर्यो । उहाँहरूलाई पनि त दिन मन लागेर दिनुभयो होला । मसँग भारतीय नोट पनि छन्, हेर्नुहुन्छ ?’ उनले उत्साहित हुँदै भने ।

विवेक कक्षा पाँचमा पढ्छन् । बालुवाटारस्थित महेन्द्र राष्ट्रिय सेकेन्डरी स्कूलका विद्यार्थी हुन्, उनी । उनको विद्यालय र बसाइ नजिकै छ । स्कूल सकेपछि खाजा खाएर होमवर्क गर्ने, पार्कमा टहलिन जाने दैनिकी थियो उनको ।

विवेकको कोठा र पार्कको बीचमा पर्छ, त्रिवि शिक्षण अस्पताल ।

१० भदौमा भोटेकोशीमा बाढी गएको दिनदेखि विवेकको दिनचर्या फेरियो । बिहान स्कूल, दिउँसो बाढी पीडितलाई सहयोग अनि बेलुकी घर जाने चक्र घुमिरहेको छ । ‘म स्कुल जान्छु, आउँछु, खाजा खान्छु, होमवर्क गर्छु, फुर्सद हुनासाथ आइहाल्छु । राति घर जान्छु,’ विवेक भन्छन् ।

विवेकले संकेत गरेको फुर्सद ऊ आफैंले निकालेको हो । सामान्य समयमा खेल्नका लागि नजिककै पार्कमा जाने समय अहिले शिक्षण अस्पतालमा बित्छ ।

विवेकलाई यो काम कसैले कर गरेर लगाएको होइन । आफ्नै विवेकले सुरु गरेका हुन् ।

एकदिन उनका आँखा अनायासै अस्पतालतर्फ ठोक्किए । त्यहाँ केही तस्वीर टाँसिरहेको दृश्य देखे । त्यो दिन थियो, ११ भदौ रसुवा बाढीको भोलिपल्ट ।

त्यसदिन एक–दुई वटा फोटा थिए । बाढी पीडितका आफन्त मध्ये एकजनालाई उनले सोधे, ‘अंकल, किन टाँसेको ?’

ती अंकलले रसुवा बाढीमा आफन्त हराएको र भेटिन्छ कि भनेर फोटो टाँसेको सुनाए ।

संयोगवस्, विवेकले बिहान युट्यूवमा रसुवा बाढीबारे भिडियो हेरेका रहेछन् । कुरा बुझिहाले ।

‘आईस झरेर बाढी आएको भनेर थाहा पाएको थिएँ । त्यसमा धेरै मान्छे हराउनु भएछ । अनि मैले टाँसिदिन सघाउँदा कोही मान्छे भेटिन्छ कि जस्तो लाग्यो,’ विवेकले भने ।

अहिले भित्ता लगभग भरिसकेको छ । शिक्षण अस्पतालको त्यो भित्तामा टाँसिएका मध्ये ८० प्रतिशत फोटो आफैले टाँसेको उनी बताउँछन् ।

तैपनि उनी दिनहुँ आउँछन् । कतिपयले उसलाई चिनेर भन्छन्, ‘भाइ, माथि टाँसिदेउन ।’

त्यसपछि तुरुन्तै मुखले च्यापेर टेप निकाल्छन् । उनै आफन्तले काँधमा बोक्छन् । माथितिरको भागमा काँधमा चढेर तस्वीर टाँसिदिन्छन् । कसैको फोटो निकालेर अलि देखिने ठाउँमा सारिदिन अनुरोध आयो भने त्यो पनि गरिदिन्छन् ।

मंगलबार अनलाइनखबर टोली विवेकलाई पछ्याउँदै जाँदा टेप किन्न जाँदा उनलाई पचास रुपैयाँ भनियो । तर डिस्काउन्टमा चालीसमा पाए ।

फोटो टाँस्दा आफन्तले जता जसरी भन्यो, उसैगरी टाँसिदिन्छन् ।

केही दिन देखि  शिक्षण अस्पतालमा फोटो टाँस्दै हिँडिरहेका विवेकलाई धेरैले देखे । कसैले स्यावास दिए । कसैले ‘यो सानो उमेरमा यस्तो काम गर्ने बालक’ भनेर प्रशंसा गरे । तर अरूका आफन्त खोज्न दौडिरहेको त्यो बालकको आफ्नै घरको अवस्था कस्तो छ ? यी प्रश्नको उत्तर खोज्दै अनलाइनखबर उनकी आमासम्म पुग्दा एउटा यस्तो परिवार भेटियो, जहाँ अभावसँगै हुर्किरहेको एउटा बालकले उमेरभन्दा धेरै ठूलो जिम्मेवारी बोकिरहेको रहेछ ।

जब आमाले टेलिभिजन हेरेर थाहा पाइन्

छोरा विवेकले टिचिङ अस्पतालमा के गरिरहेको छ भन्ने सुरुमा उनकी आमा प्रमिलालाई थाहा रहेनछ । प्रमिला अरूकै घरमा बिरामीको स्याहारमा व्यस्त थिइन् ।

एक दिन साहुनीले उनलाई बोलाएर टेलिभिजनतिर देखाउँदै भनिन्, ‘तिम्रो छोरा–हेर त, हेर !’

प्रमिलाले टेलिभिजनतिर हेरिन् । स्क्रिनमा अरूका हराएका मान्छेको फोटोबीच उनका छोरा थिए ।

छोरा टिचिङ अस्पतालमा पुगेर बाढीमा बेपत्ता भएका मानिसका फोटो टाँस्न सघाइरहेका थिए ।

छोराले कसैसँग पैसा मागेर यो काम गरेको हो कि भन्ने चिन्ता लागेको प्रमिला बताउँछिन् । तर कुरा बुझ्दै जाँदा विवेकले कसैसँग केही मागेको रहेनछ ।

बाढीको खबर सुनेर, हराइरहेका मानिसका फोटो टाँस्न सघाएका रहेछन् ।

कसैका बुबा हराएका थिए । कसैकी आमा । कसैका दाजुभाइ, छोराछोरी वा साथी ।

ती फोटोहरूमा विवेकका आफ्ना कोही थिएनन् । तर शायद उसलाई त्यहाँ टाँसिएका हरेक फोटो पछाडि एउटा परिवार छ भन्ने महशुस भयो ।

त्यसैले, ऊ दिनदिनै त्यहाँ पुगिरह्यो ।

कसैले सहयोगस्वरूप पैसा दिन खोज्दा पनि उसले सुरुमा लिएन । पछि केहीले उसको खल्तीमै पैसा राखिदिन थाले ।

घर फर्किएपछि आमाले थाहा पाइन् । घरमा पैसाको खाँचो थियो । निकै खाँचो ।

तर प्रमिलाले छोरालाई पैसा जोगाएर राख्न भनिनन् । बरु, उनको मनमा अर्को चिन्ता थपियो, १२ वर्षको बच्चा अपरिचित मानिसहरूको भीडमा दिनहुँ अस्पताल पुग्दा केही नराम्रो पो हुने हो कि ?

‘कसैले पैसा दियो भने नलिनू । पैसाको लोभमा कसैले फकाएर लैजान सक्छ । खानेकुरा दिए पनि नखानू,’ आमाले छोरालाई सम्झाउँदै भनेकी थिइन्।

तर यही चिन्ता र डर बीचमा प्रमिलालाई छोराप्रति गर्व पनि लागिरहेको थियो ।

किनभने विवेकले अरूको दु:ख देखेर केही गर्न खोजेको थियो । ‘मैले सिकाएको पनि होइन,’ प्रमिला भन्छिन्, ‘गएको छोराछोरीले आफैं सिक्दा रहेछन् ।’

सायद विवेकले धेरै कुरा आमालाई हेरेरै सिकेको हुनुपर्छ ।

४२ वर्षीय प्रमिलाको घर लमजुङ हो । तर अहिले उनको आफ्नो भन्न मिल्ने स्थायी घर छैन । किनकी, पुर्ख्यौली घर सरकारी जग्गामा छ । त्यहाँ कहिले उठीबास लाग्ने हो थाहा छैन ?

र, काठमाडौंसँग उनको सम्बन्ध रोजाइले भन्दा बाध्यताले जोडिएको रहेछ । केही वर्षअघि उनी बिरामी परिन् । शरीर फुल्ने, जिउ चिलाउनेलगायत समस्या भएपछि उपचारका लागि काठमाडौं आइन् । काठमाडौं आएर उपचार गरेपछि स्वास्थ्यमा सुधार आयो ।

तर गाउँ फर्किएर फेरि उही अभावको जीवनमा फर्किन उनलाई मन लागेन । गाउँमा कामको अवसर थिएन । घरमा पर्याप्त आम्दानी थिएन । आफ्नै स्वास्थ्य उपचार गर्न काठमाडौं आएकी उनलाई यहीँ बसेर काम गर्न सके परिवार चलाउन सजिलो हुन्छ भन्ने लाग्यो ।

त्यसैले, उनी गाउँ फर्किनन् । काठमाडौंमै बसेर काम खोज्न थालिन् ।

सुरुमा उनी एक्लै काठमाडौं बसेर घरमा काम गर्न थालिन् । काम गर्दै जाँदा बिस्तारै चिनजान बढ्दै गयो । कोही बिरामीको स्याहार गर्ने काम खोजिदिन्थे, कोही घरायसी काम ।

आफ्नो गुजारा चलाउँदै गर्दा उनलाई गाउँमा रहेका परिवारलाई पनि काठमाडौं ल्याउने सोच आयो । अनि परिवारलाई पनि यतै ल्याएर बस्न थालिन् ।

तर काठमाडौंमा परिवारसहित चाहे जसरी बसिरहन पाउने निश्चितता थिएन । मुस्किलले उनले टिचिङ अस्पतालको पछाडिको गल्लीमा कोठा पाइन् ।

जीवन पहिलेको भन्दा केही सहज हुँदै थियो । त्यही बीचमा अर्को बज्रपात आइपर्‍यो ।

प्रमिलाका श्रीमान् हरि डेढ वर्षअघि एक्कासी ढले । उपचारका लागि वीर अस्पताल पुर्‍याइयो ।

हरिलाई स्ट्रोक (मस्तिष्कघात) भएको रहेछ ।

उपचारमा पैसा लाग्थ्यो । तर घरमा सम्पत्ति थिएन ।

‘श्रीमान्‌को मस्तिष्कमा रगत जम्यो, श्वास रह्यो । म त्यसमै खुसी छु । सबैले अवस्था देखेर सहयोग गर्नुभयो । वीर अस्पतालबाट पनि नि:शुल्क उपचार गरिदिनुभयो,’ प्रमिला भन्छिन् ।

लामो उपचारपछि अस्पतालको शैय्यामा थलिएका उनका श्रीमान हरि अहिले शौचालयसम्म हिंडेर जान सक्छन् । तर पहिले जस्तो काम गर्न सक्दैनन् । घरको जिम्मेवारी सम्हाल्न सक्ने अवस्था छैन ।

त्यसपछि परिवारको बोझ प्रमिलाको काँधमा आयो । उनी अरूको घरमा बिरामीको स्याहार गर्छिन् । हिंड्न नसक्ने वृद्ध आमालाई उठाउने, बसाल्ने, खाना खुवाउने, सरसफाइ गर्ने उनको काम हो ।

बिहान एउटा घरमा काम गर्छिन् । त्यसबाट मासिक ३ हजार रुपैयाँ आउँछ । अर्को घरमा बिरामी हेर्ने काम गर्छिन्, जहाँबाट १५ हजार रुपैयाँजति कमाइ हुन्छ ।

महिनाको करिब १८–२२ हजार रुपैयाँ । त्यसैबाट कोठा भाडा तिर्नुपर्छ । घर चलाउनुपर्छ । श्रीमानको औषधि उपचार गर्नुपर्छ । छोराछोरी पढाउनुपर्छ ।

‘७–८ हजार त कोठामै जान्छ । बाँकी पैसाले खाने, बच्चाको पढाइ, यताउता गर्नुपर्छ,’ उनी बेलिस्तिार लगाउँछिन् ।

कहिले पैसा पुग्दैन, कहिले खाना खान पनि समस्या हुन्छ । ‘कुनै दिन खाएर बसेको हुन्छ, कुनै दिन भोक भोकै बसेको हुन्छ । परिस्थितिले त्यस्तै पुर्‍याउँदो रहेछ,’ प्रमिला भन्छिन् ।

प्रमिलाको आवाजमा गुनासोभन्दा स्वीकारोक्ति बढी सुनिन्छ । सायद लामो समयदेखि दु:खसँगै बस्दै आएकी भएकाले होला, अब उनलाई दु:खसँग डर लाग्न छाडेको छ ।

‘आत्तिएर पनि भएन । छ भनेर मात्तिन पनि भएन, छैन भनेर आत्तिन पनि भएन,’ उनी भन्छिन्, ‘जिन्दगी यस्तै रहेछ ।’

विवेकको बालापन कहाँ छ ?

विवेकका अरू साथीहरू स्कुलबाट फर्किएपछि खेल्छन् । मोबाइल चलाउँछन् । साथीहरूसँग रमाउँछन् । बाबाआमासँग घुम्न पनि जालान् ।

विवेक पनि स्कुल जान्छन्, पढ्छन् । तर उसको घरमा पढाइभन्दा अगाडि अरू धेरै आवश्यकता छन् ।

बाबु बिरामी छन् । आमा दिनभरी काममा व्यस्त हुन्छिन् । १५ वर्षीय दिदी छिन् । तीन जना दिदीहरूको विवाह भईसक्यो ।

घरको आर्थिक अवस्था कमजोर छ । त्यसैले, सायद विवेकले पनि आफ्नो उमेरभन्दा अगाडि नै संसार बुझ्न थालेको छ ।

सानै उमेरमा परिपक्व जो कोहीलाई आभास गराउने खुबी भएका विवेकले बुझेका छन्, ‘पैसा सजिलै आउँदैन ।’

विवेकले बुझेका छन, बिरामी हुँदा अस्पताल पुग्नुपर्छ । कसैको दु:खमा साथ दिनुपर्छ ।

र, उनले सायद यो पनि बुझेका छन्, अरूले दिएको पैसा सधैं आफ्नो हुँदैन ।

त्यसैले, त बाढीमा हराएका मान्छेको फोटो टाँस्दा पाएको पैसा पनि ऊ आफैंसँग राख्न चाहँदैनथ्यो ।

आमाले भनेजस्तै, ‘पैसाको लोभमा’ उसलाई कसैले गलत ठाउँमा नलैजाओस् भन्ने चिन्ता पनि छ ।

तर प्रमिलाका लागि विवेकले गरेको काम पैसा वा प्रशंसाभन्दा ठूलो हो ।

‘यतिबेला पीडितलाई पाँच रुपैयाँको पनि खाँचो छ,’ उनी भन्छिन्, ‘एउटा चाउचाउ दिए पनि धर्म हुन्छ । मेरो छोराले र मैले अरु जस्तो बाढीपीडितलाई पैसा दिन नसके पछि उसले टाँसेको फोटोबाट आफन्तले आफ्नो परिवार भेट्न सक्लान् ।’

प्रमिला आफ्नो छोरोको भविष्य सम्झिँदै भन्छिन्, ‘धनी बाउको छोराछोरी भएको भए छुट्टै हुन्थ्यो होला ।’

केहीबेर चुप लागेपछि फेरि भन्न सुरु गर्छिन्, ‘गरिबको कोखमा बास ल्याएको छ । कुनै दिन खाएर बसेको हुन्छ, कुनै दिन भोकै बसेको हुन्छ ।’

तर यही अभावको घरमा हुर्किएको विवेकले अरूको पीडा देख्न सिकेको छ ।

बाढीमा आफ्नो परिवारका कोही हराएका थिएनन् । तर अरूका परिवार हराएका थिए ।

विवेक उनीहरूका लागि अस्पताल पुगे । फोटो टाँसे । मान्छे खोज्न सघाए । सायद उनले कुनै परिवारले आफ्नो हराएको मान्छेको फोटो भेटोस् भन्ने चाहन्थ्यो । उनले आफ्नै परिवारको भोगाइबाट सिके, ‘दु:ख परेको बेला कसैको साथ कति महत्त्वपूर्ण हुँदो रहेछ ।’

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?