+
+
Shares

विपद्को मौका छोपेर ग्यासमा कालोबजारी

विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ भदौ १६ गते २०:२६

१६ भदौ, गोरखा । विपद् र अभावको मौका छोपेर गोरखा जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ । जिल्लाका ग्यास डिलरमध्ये बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले सिल गरेको सिलिन्डरबाटै ग्यास चोरेर बेच्ने गरेको खुलासा भएको हो ।

कम तौलको ग्यास बिक्री गरेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सप्लायर्सको बाह्रकिलोस्थित गोदाममा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सप्लायर्सले सिलिन्डरको सिल फुटाएर ग्यास चोर्ने र बेच्ने गरेको पाइएको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।

‘त्यहाँ गोदाममा भरिएको सिलिन्डर थिएनन्, सबै बेचिसकेको रहेछ,’ उनले भने, ‘त्यहाँबाट बिक्री भएका सिलसहितको केही सिलिन्डर जोख्यौं, करिब चार केजी तौल कम पाइयो ।’

भरी सिलिन्डरको तौल कम्तीमा २९ केजी हुनुपर्नेमा २५ केजीमात्र भेटिएको उनले बताए ।

उनका अनुसार सिलिन्डर सिल गर्न प्रयोग भएको प्लास्टिक पनि कम्पनीकोभन्दा फरक पाइएको छ । ‘कम्पनीले लगाएको सिल तोडेर ग्यास चोर्ने अनि अर्काे प्लास्टिक लगाएर सिल गर्ने गरेका रहेछन्,’ सहायक सीडीओ शर्माले भने, ‘अनि कम तौल भएको त्यही ग्यास बेच्दा उपभोक्ता ठगिने गरेको पाइयो ।’

सो कुरा गोदामका कामदारले पनि स्वीकार गरेका छन् । अनुगमनका क्रममा सिलिन्डरबाट ग्यास चोर्न प्रयोग हुने धातुको सुइरोजस्तो उपकरण समेत गोदामबाट बरामद गरिएको सहायक प्रजिअ शर्माले बताए ।

उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन वा कालाबजारी अन्तर्गत कारबाही हुनुपर्ने उनले जिकिर गरे । उपभोक्ता संरक्षण ऐन अन्तर्गत जरिवाना र कालाबजारी अन्तर्गत जरिवानासँगै जेलसजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए ।

सहायक सीडीओ शर्माको नेतृत्वको अनुगमन टोलीमा जनप्रतिनिधि, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, एकीकृत सेवा कार्यालय, पत्रकार महासंघलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उक्त सप्लायर्सले बाबा, लुम्बिनी, चण्डीलगायतका ग्यास बिक्री वितरण गर्दै आएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?