News Summary
Generated by OK AI. Editorially reviewed.- पालुङटारबाट गोसाईँकुण्ड तीर्थयात्रा गएको बस बगाउँदा गाउँका ३२ जनाको ज्यान गएको खबरले नौखोर गाउँ स्तब्ध भएको छ ।
- ७५ वर्षीय दाताराम देवकोटाले पानीको बोतल लिन भान्सामा पस्दा बस छुटेको र त्यसै कारण आफू बाँचेको बताए ।
- देवकोटाका छोराबुहारी पनि सोही यात्रामा जाने योजनामा रहे पनि अन्तिममा नगएकाले उनीहरू जोगिएका छन् ।
१७ भदौ, गोरखा । भदौ १० गते पालुङटारबाट गोसाईँकुण्ड तीर्थयात्रा जानेहरूको सूचीमा ७५ वर्षीय दाताराम देवकोटा पनि थिए । उनको अघिल्लो दिनमात्रै यात्रा निश्चित भएको थियो ।
भोलिपल्ट बिहान ४ बजे जम्मा भएर ५ बजे निस्कने पूर्वजानकारी देवकोटाले पाए । पोका–पन्तुरा मिलाउँदैमा रातको १ बज्यो ।
एकैछिन आँखा मात्रै के झिम्क्याएका थिए, बाहिर हो–हल्ला सुरु भयो । बरन्डामा निस्केर हेर्दा बस आइसकेछ ।
‘घडी हेर्दा तीन बजिसकेको रहेछ । यति चाँडै किन निस्केको भनेर कराएँ,’ देवकोटाले त्यो दिनको विवरण सुनाउँदै भने, ‘घरअगाडि पुगेको गाडीलाई रोक्न खोजेँ, नरोकेर सिधै महादेवटारमा पुगेर रोकियो ।’
उनले बरन्डाबाट आफू पनि जाने भन्दै पर्खँन भनेका थिए । तर, बस नरोकेरै अघि बढ्यो ।
‘महादेवटारमा केहीबेर बस रोकियो । म पोका–पन्तुरा बोकेर निस्किएँ,’ देवकोटाले भने । तर, ढोकाबाट निस्किँदै गर्दा उनलाई एकाएक पानीको याद आयो । ‘पानीको बोतल लिन भान्सतिर छिरेँ । पानीको बोतल लिने केही समय लाग्यो,’ उनी भन्छन्, ‘बाहिर निस्किँदा महादेवटारमा बस थिएन, हिँडिसकेछ ।’
यसरी पानीको बोतल लिन भान्सा पस्दा देवकोटालाई गोसाईँकुण्ड लैजाने भनिएको बस छुट्यो । त्यही संयोगले आज उनी बाँचेका छन् ।
‘बस छुटिसकेपछि सबै सामान घरभित्र थन्क्याएर केहीबेर आराम गरेँ । गोसाईँकुण्ड जान पाइनँ भनेर थकथकी लागिरह्यो,’ उनले भने ।
देवकोटाले बिहानको खाना खाइसकेपछि भने गाउँमा एकाएक खैलाबैला मच्चियो । ‘बिहान मलाई छाडेर हिँडेको बस बगायो भन्ने खबर आयो,’ देवकोटाले भने, ‘त्यसअघि खिन्न मन त्यसपछि धन्न बाँचेछु भन्ने भयो ।’
उनलाई अहिले भगवानले आफूलाई बचाएको महशुस भइरहेको छ । उनी भन्छन्, ‘भगवान्ले जोगाउनलाई बाटो छेकेका रहेछन् ।’
त्यो दिन उनका छोराबुहारी पनि गोसाईँकुण्ड जाने योजनामा रहेको उनले सुनाए । तर, उनीहरू पनि गएनन् ।
आफू संयोगले बाँचेपनि गाउँका ३२ जनालाई बाढीले बगाएकामा भने देवकोटा स्तब्ध छन् । सोही बससँगै बगेकाहरूको शोकमा नौखोर गाउँ पनि स्तब्ध छ ।
प्रतिक्रिया 4