News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धारमा सरकार असफल भइसकेको निष्कर्षमा अहिले नै नपुग्न आग्रह गरेका छन् ।
- झाले सरकारका कमी–कमजोरीमाथि प्रश्न उठ्नु जायज भए पनि प्रधानमन्त्रीले संसद्मा राहत र उद्धारबारे बुँदागत स्पष्ट पारेको उल्लेख गरे ।
- झाले विपद्को समयमा सबै राजनीतिक दलबीच सहकार्य हुनुपर्ने बताउँदै सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदल बनाएर अघि बढ्नुपर्ने प्रस्तावबारे छलफल भइरहेको जानकारी दिए ।
१७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन् ।
बुधबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले सरकारका कमी–कमजोरीमाथि प्रश्न उठ्नु जायज भएपनि सबै संयन्त्र असफल भइसकेको भन्नु न्यायोचित नहुने बताए ।
सांसद झाले प्रधानमन्त्रीले संसदमा राहत र उद्धारका सम्बन्धमा बुँदागत रूपमा स्पष्ट पारेको उल्लेख गर्दै कतिपय प्राविधिक कारणले पनि परिणाम देखिन समय लागेको उनले बताए ।
सरकारको नियत र इमान्दारितामा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गर्दै उनले विपद्को समयमा सबै राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
‘राहत र उद्धारमा अपेक्षाकृत परिणाम नआएको भन्ने प्रश्न जायज हुन सक्छ, तर एकैपटक सबै चिज बिग्रिसक्यो वा सरकार असफल भयो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । हाम्रो राजनीतिक दस्ताबेजले नै सहअस्तित्वको अभ्यासलाई जोड दिएको छ,’ झाले भनेका छन् ।
झाले रास्वपा सभापतिले सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको जानकारी पनि दिए ।
‘सबै तह र संयन्त्रलाई समेटेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । गृहमन्त्री फिल्डमा जाँदा कमान्ड सेन्टरमा बस्नुपर्थ्यो भन्ने प्रश्न उठ्छ, यदि नगएको भए किन नगएको भन्ने प्रश्न उठ्ने थियो । यो कार्यशैलीको कुरा हो,’ उनले भने ।
उद्धार कार्यमा गृहमन्त्रीको सक्रियतालाई लिएर उठेका प्रश्नहरूको सन्दर्भमा सांसद झाले यो काम गर्ने आफ्नो–आफ्नो शैली भएको टिप्पणी गरे ।
प्रतिक्रिया 4