News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी–त्रिशूली नदी प्रणाली हुँदै आएको हिमबाढीले रसुवा र त्रिशूली क्षेत्रमा बस्ती, सडक, पुल र जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
- खोज, उद्धार र पुनःस्थापनाको काम जारी रहेकाले बाढीको पूर्ण मानवीय तथा भौतिक असर अझै स्पष्ट भइसकेको छैन।
- विपद्का बेला टाढा रहेका मानिसले पनि डुमस्क्रोलिङबाट जोगिँदै विश्वसनीय सूचना सीमित रूपमा लिनुपर्ने र मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने लेखले जोड दिएको छ।
म अहिले दिल्लीमा छु, नेपालको हालैको बाढी (हिमबाढी) बाट प्रभावित क्षेत्रभन्दा करिब ७५० किलोमिटर टाढा। भौतिक रूपमा घटनास्थलबाट टाढा भए पनि मेरो मन भने निरन्तर रसुवा र त्रिशूली क्षेत्रतिर तानिइरहेको छ।
सन् २०२३ मा मैले रसुवा जिल्लामा इन्जिनियरका रूपमा काम गरेको थिएँ। त्यसैले समाचारमा आइरहेका नदी, सडक, गाउँ र जलविद्युत् परियोजना मेरा लागि नक्शाका अपरिचित नाम वा टेलिभिजनमा देखिने दृश्य मात्र होइनन् ती ठाउँसँग मेरा सहकर्मी, त्यहाँका कामदार, स्थानीय समुदाय, व्यक्तिगत सम्झना र मेरो व्यावसायिक जीवनको एउटा महत्वपूर्ण अध्याय जोडिएको छ।
हिमबाढीले पुर्याएको जनधनको अपूरणीय क्षति, उजाडिएका बस्ती, अनाथ बनेका बालबालिका, सहाराविहीन वृद्ध आमाबुबा, सिउँदो पुछिएका दिदीबहिनी तथा जीवनसाथी र सन्तान गुमाएका व्यक्तिहरूको पीडा देख्दा कसको मन भावविह्वल नहोला र? तर एक इन्जिनियरका रूपमा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र इन्जिनियर तथा अन्य कामदारहरू फसेको समाचारले मलाई अझ गहिरोसँग मर्माहत बनायो। यो केवल भौतिक संरचनाहरूमा पुगेको क्षतिको समाचार थिएन; यो अमूल्य मानव जीवन, वर्षौंको अथक् श्रम र राष्ट्र निर्माणसँग जोडिएको हाम्रो सामूहिक आशामाथिको ठूलो विपद् थियो।
सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाल पुनर्निर्माण र विकासको बाटोमा विस्तारै अगाडि बढिरहेको थियो। कठिनाइका बीच पनि हामीले सुरक्षित संरचना, नयाँ पूर्वाधार र समृद्ध भविष्यको आशा बोकेका थियौं। हालैको हिमबाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिले त्यही आशा र मिहिनेतमाथि गम्भीर चोट पुर्याएको छ। भत्किएका सडक, पुल र जलविद्युत् संरचना केवल ढुङ्गा, फलाम र कङ्क्रिटको क्षति होइनन्; तीसँग मानिसको जीवन, श्रम, जीविकोपार्जन र देशको भविष्य जोडिएको हुन्छ।
भोटेकोशी–त्रिशूली नदी प्रणाली हुँदै आएको भीषण हिमबाढीले बस्ती, सडक, पुल र जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। खोज, उद्धार र पुनःस्थापनाको काम जारी रहेकाले यसको पूर्ण मानवीय तथा भौतिक असर अझै स्पष्ट भइसकेको छैन।
घटनाको समाचार आएपछि म बारम्बार मोबाइल हेर्न थालें। नयाँ भिडियो खोज्ने, समाचार पढ्ने र सामाजिक सञ्जालमा आउने प्रत्येक सूचना पछ्याउने क्रम निरन्तर चलिरह्यो। प्रत्येक नयाँ अपडेटले केही जानकारी दिन्थ्यो, तर सँगसँगै मनमा दुःख, भय र असहायताको भावना पनि थप्दै जान्थ्यो।
म लामो समयदेखि ध्यान अभ्यास गर्दै आएको व्यक्ति हुँ। तैपनि यस घटनाको मानसिक प्रभावबाट जोगिन सकिनँ। मेरो मन घटनामै अड्किएको जस्तो भयो। आफूलाई पुनः सन्तुलित अवस्थामा फर्काउन मलाई करिब चार–पाँच दिन लाग्यो।
यस अनुभवले मलाई एउटा महत्वपूर्ण सत्य फेरि सम्झायो ध्यानले मानिसलाई मानसिक रूपमा बलियो बनाउन सक्छ, तर भावनाशून्य बनाउँदैन। ध्यान गर्नुको अर्थ दुःख नलाग्नु होइन; दुःखलाई स्वीकार गर्दै त्यसबाट विस्तारै सम्हालिन सक्ने आन्तरिक आधार निर्माण गर्नु हो। करुणा, शोक, डर र चिन्ता कमजोरी होइनन्। ती गम्भीर विपद्प्रति उत्पन्न हुने स्वाभाविक मानवीय प्रतिक्रिया हुन्।
यही व्यक्तिगत अनुभवले मलाई एउटा प्रश्नतर्फ डोर्यायो, विपद्बाट प्रत्यक्ष प्रभावित भएका र टाढा बसेर निरन्तर त्यसका दृश्य हेरिरहेका मानिसले आफ्नो मानसिक स्वास्थ्य कसरी जोगाउने?
प्रत्यक्ष पीडा र परोक्ष प्रभाव
बाढीबाट प्रत्यक्ष प्रभावित मानिसहरूले कल्पना गर्नै कठिन पीडा भोगिरहेका छन्। कसैले प्रियजन गुमाएका छन्, कसैको घर बगेको छ र कसैको जीविकोपार्जन समाप्त भएको छ। धेरै मानिसको आफ्नो सुरक्षा र भविष्यप्रतिको विश्वास नै हल्लिएको छ। उनीहरूको उद्धार, उपचार, राहत र पुनर्वास हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
तर घटनास्थलबाट टाढा रहेका मानिस पनि मानसिक रूपमा प्रभावित हुनसक्छन्। विशेष गरी आफ्नो परिवार, पुरानो कार्यस्थल, साथी वा व्यक्तिगत सम्झना प्रभावित क्षेत्रसँग जोडिएको छ भने समाचारमा देखिने दृश्यले गहिरो असर पार्न सक्छ।
डरलाग्दा भिडियो पटक–पटक हेर्दा मस्तिष्कले घटनालाई बारम्बार अनुभव गरिरहेको जस्तो प्रतिक्रिया दिन सक्छ। अमेरिकी मनोवैज्ञानिक संघका अनुसार विपद्पछि भावनात्मक, मानसिक, व्यावहारिक र शारीरिक परिवर्तन देखिनु सामान्य हो। यस्तो प्रतिक्रियालाई ‘सामान्य’ भन्नुको अर्थ मानिसको पीडा सानो छ भन्ने होइन। यसको अर्थ असामान्य परिस्थितिमा मानव मस्तिष्क र शरीरले स्वाभाविक रूपमा प्रतिक्रिया दिइरहेका छन् भन्ने हो।

विपद्पछि देखिन सक्ने सामान्य प्रतिक्रिया
घटनाको सुरुआती चरणमा मानिस स्तब्ध, अन्योलग्रस्त वा भावशून्य हुन सक्छ। के भएको हो भन्ने कुरा स्वीकार गर्न कठिन हुन सक्छ। कतिपयले निर्णय गर्न नसक्ने वा अब के गर्ने भन्ने बुझ्न नसक्ने अनुभव गर्न सक्छन्। त्यसपछि चिन्ता, डर, शोक, चिडचिडापन वा निराशा जस्ता तीव्र र अनिश्चित भावना देखिन सक्छन्। कहिले अत्यधिक दुःख लाग्ने र केही समयपछि अचानक रिस उठ्ने हुन सक्छ। मनस्थिति सामान्यभन्दा छिटो परिवर्तन हुन सक्छ। घटनाका दृश्य नचाहँदा नचाहँदै पनि सम्झनामा आइरहन सक्छन्। यस्तो बेला मुटुको धड्कन बढ्ने, पसिना आउने, शरीर काँप्ने वा श्वास छिटो चल्ने हुन सक्छ। काममा ध्यान दिन, सामान्य निर्णय गर्न वा अरूसँग कुराकानी गर्न समेत कठिन हुन सक्छ।
निद्रा र खानपानमा पनि परिवर्तन आउन सक्छ। कसैलाई निद्रा नलाग्ने, राति बारम्बार ब्युँझिने वा डरलाग्दा सपना आउने हुन सक्छ। अरू व्यक्ति सामान्यभन्दा धेरै सुत्न सक्छन्। त्यसैगरी कसैको भोक हराउन सक्छ भने कसैले तनावका कारण आवश्यकताभन्दा बढी खाना खान सक्छ।
साइरनको आवाज, ठूलो वर्षा, खोलाको गर्जन, हेलिकोप्टरको आवाज, हिलो वा धुवाँको गन्धले अचानक घटनाको सम्झना जगाउन सक्छ। प्रत्यक्ष जोखिम नभए पनि शरीरले आफू फेरि खतरामा परेको जस्तो प्रतिक्रिया दिन सक्छ। यस्ता सङ्केतलाई मनोविज्ञानमा ‘ट्रिगर’ भनिन्छ।
अत्यधिक तनावले सम्बन्धमा पनि प्रभाव पार्न सक्छ। परिवारका सदस्य, साथी वा सहकर्मीसँग सामान्यभन्दा बढी विवाद हुन सक्छ। कतिपय मानिस भने अरूबाट टाढा हुन, फोन नउठाउन वा आफूलाई पहिले मन पर्ने गतिविधिबाट अलग हुन थाल्छन्।
टाउको दुख्ने, पेट बिग्रिने, वाक्वाकी लाग्ने, शरीर दुख्ने, अत्यधिक थकान हुने वा छाती दुख्ने जस्ता शारीरिक लक्षण पनि देखिन सक्छन्। तनावका कारण पहिलेदेखि रहेका रक्तचाप, मुटु, मधुमेह वा अन्य स्वास्थ्य समस्या बढ्न सक्छन्। विशेषगरी छाती दुख्ने वा श्वास फेर्न कठिन हुने जस्ता लक्षणलाई तनाव मात्र ठानेर बस्नुहुँदैन; तत्काल स्वास्थ्यकर्मीको सहायता लिनुपर्छ।

जानकारी लिनु र घटनामा डुबिरहनु एउटै होइन
विपद्का समयमा सही सूचना अत्यावश्यक हुन्छ। जोखिमयुक्त क्षेत्रमा रहेका मानिसले सरकारी निकायका चेतावनी, मौसम सम्बन्धी जानकारी र सुरक्षित स्थानमा जान दिइएका निर्देशन पालना गर्नैपर्छ।
तर घटनास्थलबाट टाढा र सुरक्षित स्थानमा रहेका व्यक्तिले एउटै दुःखद् दृश्य निरन्तर हेरिरहँदा उद्धार कार्यलाई कुनै सहयोग पुग्दैन। करुणावान हुन चौबीसै घण्टा पीडादायी दृश्य हेर्नु आवश्यक छैन। सामाजिक सञ्जालका प्लेटफर्मले हामीले एकपटक हेरेको सामग्रीसँग मिल्दोजुल्दो अर्को सामग्री देखाइरहन्छन्। एउटा दुःखद् भिडियोपछि अर्को भिडियो आउँछ। त्यसपछि फेरि अर्को। नकारात्मक समाचारमा निरन्तर डुबिरहने यस्तो बानीलाई ‘डुमस्क्रोलिङ’ भनिन्छ।
हाम्रो मनले अर्को अपडेटबाट शायद राहत वा निश्चित जानकारी पाइएला भन्ने अपेक्षा गर्छ। तर प्रत्येक नयाँ भिडियोले डर, दुःख र असहायताको भावना झन् बढाउन सक्छ। घटनाबारे जानकारी राख्नु आवश्यक छ; तर त्यसमा निरन्तर डुबिरहनु आवश्यक छैन।
मानसिक पुनःस्थापनाका व्यावहारिक उपाय
आफूलाई समय दिनुहोस्
विपद्पछिको समय कठिन हुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ। आफूलाई तुरुन्तै सामान्य बन्न बाध्य पार्नुहुँदैन। प्रियजन, घर, जीविकोपार्जन वा सुरक्षाको अनुभूति गुमाएको व्यक्तिलाई शोक व्यक्त गर्ने समय चाहिन्छ। पुनःस्थापना सिधा रेखामा अघि बढ्ने प्रक्रिया होइन। कुनै दिन आफूलाई सहज महसुस हुन सक्छ भने अर्को दिन फेरि दुःख बढ्न सक्छ। आफ्नो भावनामा आउने यस्तो परिवर्तनप्रति धैर्य राख्नुपर्छ।
विश्वासिलो मानिससँग सहयोग माग्नुहोस्
आफ्नो कुरा सुन्ने र भावना बुझ्ने परिवारका सदस्य, साथी, छिमेकी वा समुदायसँग सम्पर्कमा रहनुपर्छ। सहयोग माग्नु कमजोरीको संकेत होइन। आफ्ना अनुभव र भावना व्यक्त गर्ने तरिका सबैका लागि एउटै हुँदैन। कसैलाई कुरा गर्न सहज लाग्न सक्छ भने कसैलाई डायरी, कविता लेख्न, चित्र बनाउन, सङ्गीत सुन्न वा केही समय मौन बस्न उपयोगी हुन सक्छ। आवश्यक परे तालिमप्राप्त मनोसामाजिक परामर्शदाता वा अनुभवी स्वास्थ्यकर्मीले सञ्चालन गरेको सहयोग समूहमा सहभागी हुन सकिन्छ। समान अनुभव भएका व्यक्तिसँग कुरा गर्दा आफू एक्लो नभएको महसुस हुन सक्छ।
समाचार हेर्ने सीमा बनाउनुहोस्
समाचार हेर्न निश्चित समय निर्धारण गर्न सकिन्छ— उदाहरणका लागि बिहान एकपटक र साँझ एकपटक। दर्जनौं सामाजिक सञ्जाल पोस्ट पछ्याउनुको सट्टा केही विश्वसनीय समाचार संस्था र आधिकारिक स्रोतबाट जानकारी लिनुपर्छ। अनावश्यक मोबाइल नोटिफिकेसन बन्द गर्नुपर्छ। विशेषगरी सुत्नुअघि डरलाग्दा भिडियो र तस्बिर हेर्नुहुँदैन। अपुष्ट सूचना तथा पीडितको गरिमामा चोट पुर्याउने दृश्य अरूलाई पठाउनुहुँदैन।
शरीर र दिनचर्याको ख्याल राख्नुहोस्
सन्तुलित खाना, पर्याप्त पानी, नियमित निद्रा, विश्राम र हल्का शारीरिक गतिविधिले तनाव सहने क्षमता बढाउँछ। निश्चित समयमा खाना खाने, सुत्ने र उठ्ने प्रयास गर्नुपर्छ।
हिंड्ने, व्यायाम गर्ने, पुस्तक पढ्ने, बगैंचामा काम गर्ने, खाना पकाउने वा आफूलाई मन पर्ने कुनै गतिविधिका लागि समय छुट्याउन सकिन्छ। यस्तो गर्नु पीडितलाई बिर्सनु होइन। नियमित दिनचर्याले मस्तिष्कलाई वर्तमान क्षणमा आफू सुरक्षित रहेको सन्देश दिन्छ। तनाव बिर्सन मदिरा वा लागूपदार्थको सहारा लिनुहुँदैन। यसले केही समय भावनालाई दबाए जस्तो गरे पनि दीर्घकालीन पुनःस्थापनालाई कठिन बनाउन सक्छ।
ध्यानलाई भावना दबाउने साधन नबनाउनुहोस्
हिंड्ने, शरीर तन्काउने, विस्तारै श्वास लिने, प्रार्थना गर्ने वा ध्यान गर्ने अभ्यासले मनलाई वर्तमान क्षणमा फर्काउन सहयोग गर्न सक्छ। एउटा सरल अभ्यास गर्न सकिन्छ— खुट्टाले जमिन छोएको अनुभव गर्ने, श्वासको प्राकृतिक गतिलाई महसुस गर्ने र मनमनै भन्ने: “म अहिले यहाँ छु। यो क्षणमा म सुरक्षित छु।”
ध्यानको उद्देश्य दुःखलाई जबर्जस्ती हटाउनु होइन। हामी आफ्नो दुःखलाई स्वीकार गर्दै त्यसले सम्पूर्ण चेतनामाथि नियन्त्रण जमाउन नदिने अभ्यास गर्न सक्छौं। ध्यान सहयोगी अभ्यास हो, तर गम्भीर मानसिक समस्याको अवस्थामा यो व्यावसायिक उपचारको विकल्प होइन।
असहायताको भावनालाई उपयोगी कार्यमा बदल्नुहोस्
विश्वसनीय संस्था मार्फत आर्थिक वा भौतिक सहयोग गर्न, प्रभावित परिवारलाई सहायता दिन, रक्तदान गर्न, आधिकारिक सुरक्षा सूचना फैलाउन वा भरपर्दो संस्था मार्फत स्वयंसेवा गर्न सकिन्छ। सकारात्मक कार्यले करुणालाई दिशा दिन्छ। तर अपुष्ट समाचार र डरलाग्दा भिडियो सेयर गर्नु सहयोग होइन।
ठूला निर्णय केही समय स्थगित गर्नुहोस्
तीव्र तनावको अवस्थामा जागिर छोड्ने, पेशा परिवर्तन गर्ने, बसाइँ सर्ने, सम्बन्ध तोड्ने वा ठूलो आर्थिक निर्णय गर्ने काम सकेसम्म केही समय स्थगित गर्नु राम्रो हुन्छ। यस्ता निर्णय आफैंमा तनावपूर्ण हुन्छन्। मन अत्यधिक प्रभावित भएको समयमा परिस्थितिको सन्तुलित मूल्याङ्कन गर्न कठिन हुन सक्छ।
बालबालिकालाई डरलाग्दा दृश्यबाट जोगाऔं
बालबालिकाले एउटै भिडियो बारम्बार देख्दा प्रत्येक पटक नयाँ घटना भइरहेको ठान्न सक्छन्। त्यसैले उनीहरूको समाचार र सामाजिक सञ्जालमा पहुँचबारे अभिभावक विशेष रूपमा सचेत हुनुपर्छ। उनीहरूका प्रश्नको शान्त र सरल भाषामा उत्तर दिनुपर्छ। उनीहरू अहिले सुरक्षित छन् भन्ने विश्वास दिलाउनुपर्छ। खाना खाने, पढ्ने, खेल्ने र सुत्ने नियमित समय सकेसम्म कायम राख्नुपर्छ। बालबालिकालाई जबर्जस्ती घटनाको विस्तृत विवरण सुनाउनु वा डरलाग्दा भिडियो देखाउनुहुँदैन। उनीहरूलाई चित्र बनाउने, खेल्ने, कथा पढ्ने र आफ्ना भावना व्यक्त गर्ने सुरक्षित अवसर दिनुपर्छ।
व्यावसायिक सहयोग कहिले लिने?
अनुसन्धानले अधिकांश मानिसमा प्रतिकूल परिस्थितिबाट विस्तारै पुनःस्थापित हुने क्षमता रहेको देखाउँछ। समय, सामाजिक सहयोग र सुरक्षित वातावरण पाएपछि धेरै मानिस आफ्नो पुरानो दैनिकीमा फर्कन सक्छन्। तर सबैको पुनःस्थापनाको गति एउटै हुँदैन। कसैलाई केही दिन लाग्न सक्छ भने कसैलाई हप्ता वा महिना लाग्न सक्छ।
अत्यधिक डर, तनाव वा निराशा लामो समयसम्म रहिरहेमा; दैनिक काम गर्न कठिन भएमा; निद्रा निरन्तर बिग्रिएमा; डरलाग्दा सम्झना नियन्त्रण गर्न नसकिएमा; वा आफू एक्लैले परिस्थिति सम्हाल्न नसकेको महसुस भएमा मानसिक स्वास्थ्य विशेषज्ञ वा तालिमप्राप्त मनोसामाजिक परामर्शदातासँग सहयोग लिनुपर्छ।
निरन्तर निराशा, मदिरा वा लागूपदार्थको बढ्दो प्रयोग अथवा आत्महानिको विचार आएमा तत्काल सहायता खोज्नुपर्छ। नेपालमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि टीपीओ नेपालको निःशुल्क नम्बर १६६० ०१० २००५ मा सम्पर्क गर्न सकिन्छ। नेपाल टेलिकम प्रयोगकर्ताले हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क फोन गर्न सक्छन्। आत्महानि वा आत्महत्याको विचार आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा तुरुन्त सम्पर्क गर्न सकिन्छ।
आफू नढली अरूको दुःखमा साथ दिऔं
नेपालको पुनःस्थापनाका लागि उद्धार, राहत र भौतिक पुनर्निर्माण मात्र पर्याप्त हुँदैन। विपद् प्रभावित मानिसको मानसिक तथा भावनात्मक पुनःस्थापनालाई पनि विपद् व्यवस्थापनको अत्यावश्यक भाग मानिनुपर्छ। घटनास्थलबाट टाढा बसेर समाचार हेरिरहेका हामीले पनि संवेदनशील, सचेत र सहयोगी रहनुपर्छ। तर अरूलाई साथ दिन हामी आफैं मानसिक रूपमा स्थिर रहनु उत्तिकै आवश्यक छ।
केही समय मोबाइल बन्द गर्नु उदासीनता होइन। खाना खानु, काममा फर्किनु, हिंड्न जानु, परिवारसँग बस्नु वा शान्त भएर ध्यान गर्नुको अर्थ हामीले पीडितलाई बिर्सियौं भन्ने होइन। यसको अर्थ हामी डर र आवेगबाट होइन, स्पष्टता र विवेकबाट सहयोग गर्न आफूलाई सक्षम बनाइरहेका छौं। विपद् घटनास्थलबाट टाढा हुन सक्छ, तर त्यसको मानसिक असर टाढा नहुन सक्छ। त्यसैले हामीले अरूको दुःखमा साथ दिंदै आफ्नो मनको पनि हेरचाह गर्न सिक्नुपर्छ। हामी शोक गर्न सक्छौं। सम्झन सक्छौं। सहयोग गर्न सक्छौं। र त्यही समयमा आफूलाई फेरि सामान्य जीवनतर्फ फर्कने अनुमति पनि दिन सक्छौं।
प्रतिक्रिया 4