+
+
Shares

‘बढी मानवीय क्षति भएको ठाउँ उद्धारको प्राथमिकतामै परेन’

यहाँबाट करिब १५ किलोमिटर माथि नेपाली सेनाको पोस्ट छ। बिदुरमा करिब १० किलोमिटर टाढा तालिम केन्द्र छ। तर उद्धारका लागि चार दिनसम्म हामीले बर्दी लगाएका सुरक्षाकर्मी देख्न पाएनौँ ।

माधव लामिछाने माधव लामिछाने
२०८३ भदौ १८ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको उत्तरगयास्थित श्री नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक लामिछानेले बाढीमा करिब २०० विद्यार्थी बगेको प्रारम्भिक अनुमान रहेको बताए।
  • उनले बेत्रावती, खाल्टे, स्याफ्रुबेसी र आसपासका बस्तीका विद्यार्थी बाढीमा परेकाले थप करिब डेढ सय विद्यार्थी हराएको अनुमान गरे।
  • लामिछानेले उद्धारमा राज्यको उपस्थिति ढिला भएको भन्दै विद्यालयले राहत र अस्थायी छात्राबास सञ्चालनको तयारी गरिरहेको बताए।

म भदौ १० गते बिहान साढे ८ बजे नै विद्यालय आइसकेको थिएँ। कार्यालयमा काम गर्दै थिएँ, विद्यालयका बस चालक आएर बाढी आएको खबर सुनिएको बताउनुभयो । के भएको रहेछ, बुझ्न उहाँले आग्रह गर्नुभयो। मोबाइल हेर्दा त्यतिबेला खासै सूचना देखिएको थिएन।

त्यसपछि मैले स्याफ्रुबेसीमा रहेका शिक्षक साथीलाई फोन गरेर बाढीको अवस्था बुझें । उहाँले ‘स्याफ्रुबेसी बजार बाढीले लगिसक्यो, सतर्क हुनुस्’ भन्नुभयो।

त्यसपछि खाल्टे, बेत्रावती, कैन्दलटार र नौबीसे क्षेत्रका अभिभावकलाई फोन गरेर ठूलो बाढी आएको खबर दिँदै सुरक्षित स्थानमा जान आग्रह गरें । शिक्षक साथीहरूलाई पनि तत्काल माथितिर जान र सुरक्षित हुन खबर गर्न भनेँ।

फोन गरिरहेकै बेला पाँच–सात मिनेटभित्रै खोला सुसाएको आवाज सुनियो । त्यतिबेला बस चालकले स्याफ्रुबेसीबाट विद्यार्थीहरू सडकमा निस्किसकेकोले आफू गएर उनीहरूलाई ल्याउने बताउनुभयो । बाढी यति छिटो यहाँसम्म आइपुग्छ भन्ने अनुमान थिएन। तर विद्यार्थी लिन गएको बस बेत्रावती पुगेर घुमाउने क्रममा बाढीमा पर्‍यो ।

हाम्रो बसको पहिलो ट्रिपमा खोलेबेसी, शान्तिबजार र पहिरेबेसीका विद्यार्थीहरू आउँथे । दोस्रो ट्रिपमा खाल्टेबाट कक्षा १ देखि ५ सम्मका साना बालबालिका ल्याइन्थ्यो । नर्सरी र केजीका बालबालिकालाई एउटै सिटमा चार जनासम्म राखेर ल्याउने गरिन्थ्यो ।

दुर्भाग्यवश, हामीले बाढीमा बसमा आउने ती सबै साना बालबालिका गुमायौँ ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने घरबाट हिँडेरै विद्यालय आउँथे । कमजोर विद्यार्थीका लागि बिहान ९ बजेदेखि रिमेडियल टिचिङ सञ्चालन गरेका थियौँ। त्यसका कारण केही विद्यार्थी विद्यालयमा पहिले नै आइसकेका थिए। अरू विद्यार्थी भने घरबाट विद्यालय आउँदै गर्दा बाढीमा परे ।

प्रारम्भिक अनुमानमा यस विद्यालयका करिब २०० विद्यार्थी बाढीमा बगेका छन्।

यही बस्तीबाट मोडर्न ट्रिनिटी स्कुल, नुवाकोटतर्फको रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया पब्लिक सेकेन्डरी स्कुलमा पनि विद्यार्थी जाने गरेका थिए। ती सबै विद्यालयका विद्यार्थीको साझा बस्ती यही थियो । बस्ती नै बगाएपछि ती विद्यालयका विद्यार्थी पनि ठूलो संख्यामा प्रभावित भए । करिब थप डेढ सय विद्यार्थी बगेको अनुमान छ।

बेत्रावती व्यापारिक केन्द्र मात्र होइन, ऐतिहासिक स्थल पनि हो । यहाँ ठूलो बजार र बाक्लो बस्ती थियो । चार वटा विद्यालय चल्न सक्ने ठूलो बस्ती एकैपटक बाढीले तहसनहस बनाउँदा अवस्था कल्पनाभन्दा बाहिरको भयो । मानवीय क्षति भयावह छ ।

विद्यार्थीलाई कसरी सुरक्षित गरियो ?

टिमुरे र स्याफ्रुबेसी बगाएको खबर आएपछि यो ठाउँमा पनि बाढी आउन सक्ने डर भयो । विद्यालय रहेको स्थान तुलनात्मक रूपमा सुरक्षित भए पनि जोखिम लिन चाहेनौँ । त्यसैले विद्यार्थीलाई सकेसम्म छिटो विद्यालयबाट निकालेर जंगलतिर पठायौँ ।

अभिभावकहरूलाई ‘विद्यालयका बच्चा हेर्नुस्, हामी तल गएर उद्धारमा लाग्छौँ’ भन्यौँ। शिक्षक साथीहरू तलतिर उद्धारका लागि खटिनुभयो ।

तल जाँदा केही स्टाफ विद्यालयकै पोसाकमा, चप्पल बगिसकेको अवस्थामा हिलोमा फसेर निस्कँदै गरेको देखियो । हामीले केही मानिसलाई हिलोबाट तानेर निकाल्न सफल भयौँ ।

तर, सञ्चार सम्पर्क तत्कालै विच्छेद भयो। कसैसँग सम्पर्क गर्न सक्ने अवस्था रहेन।

प्रहरीको ठूलो टोली नै बाढीमा परेको रहेछ। केही प्रहरी भागेर जोगिनुभएको रहेछ। गाउँपालिकाका गाडीहरू पनि बगे। हाम्रो विद्यालयको बससमेत बाढीमा पर्‍यो। त्यसैले उद्धारका लागि आवश्यक साधन नै हामीसँग रहेन ।

निकालिएका बिरामीलाई नजिकैको सामुदायिक स्वास्थ्य एकाइमा राखियो। गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भयो । तर सबैभन्दा बढी मानवीय क्षति भएको ठाउँ भएर पनि उद्धारको प्राथमिकतामा हामी अन्तिमतिर मात्र पर्‍यौँ ।

यहाँबाट करिब १५ किलोमिटर माथि नेपाली सेनाको पोस्ट छ। बिदुरमा करिब १० किलोमिटर टाढा तालिम केन्द्र पनि छ। त्यहाँ ठूलो जनशक्ति थियो। तर उद्धारका लागि चार दिनसम्म हामीले बर्दी लगाएका सुरक्षाकर्मी देख्न पाएनौँ ।

प्रारम्भिक उद्धार भएन। त्यसपछिका केही दिनसम्म पनि राज्यको उपस्थिति देखिएन । मैले पहिलो पटक बर्दी लगाएको सुरक्षाकर्मी देखेको सम्भवतः तेस्रो वा चौथो दिनमा हो । मुख्यमन्त्री रसुवा भ्रमणमा आउँदा उहाँसँग रहेका सुरक्षाकर्मी देखिएका थिए ।

अहिले भने अन्तिम चरणको खोज तथा शव संकलनका लागि नेपाली सेना विद्यालयमा बसेको छ ।

स्थानीयले आफ्नै प्रयासमा उद्धार गरे

जति मानिस बाँच्नुभयो र बचाउन सकियो त्यो धेरै हदसम्म स्थानीयको आफ्नै प्रयासबाट सम्भव भएको हो । घटना भएको करिब एक घण्टाभित्रै स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको थियो । कालिकास्थानका युवाहरू पनि उद्धारमा जुटिसकेका थिए ।

राज्यसँग तालिमप्राप्त जनशक्ति थियो । नजिकै सेना बसेको थियो । तर त्यस्तो जनशक्ति हुँदाहुँदै पनि तत्काल प्रयोग गर्न नसकिएको अवस्था देखियो । हाम्रो सांस्कृतिक स्थल अतिक्रमण गरेर सेना बसेको छ, तर विपद्का बेला त्यही जनशक्तिको उपयोग गर्न नसकिएको अनुभूति भयो ।

बाढीपछि विद्यालयले राहतमा पनि भूमिका खेलेको छ ।

पहिलो दिन विद्यालयमा दिवा खाजाका लागि रहेको सामग्रीबाट करिब ४६० जनालाई खाना पकाएर खुवायौँ। दोस्रो दिन बिहान करिब ५२०, बेलुका करिब ५०० र तेस्रो दिन बिहान करिब ४८० जनालाई खाना खुवायौँ ।

राहतका लागि नौकुण्ड गाउँपालिकाबाट केही म्याट्रेस आए । कालिका गाउँपालिकाबाट चामल आयो । उत्तरगया गाउँपालिकाबाट पनि चामल किनेर व्यवस्थापन गर्‍यौँ । तर यति राहत पर्याप्त थिएन।

नेपाल प्रहरीसँगको समन्वय

बाढीको जानकारी आएपछि गाउँपालिकाका कर्मचारी र प्रहरीले माइकिङ गर्दै सूचना दिएका रहेछन् । तर त्यो सूचना विद्यालयसम्म आइपुगेन । उहाँहरू आफैं पनि बाढीमा पर्नुभयो ।

पछि कालिकास्थान प्रहरी पोस्टबाट केही प्रहरी आउनुभयो । उहाँहरूले खोलाको किनारमा नजान, तलतिर नजान र विद्यार्थीलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । बाढीले बगाएका घरमा कोही फसेका छन् कि भनेर उद्धारमा जाने तथा शान्ति–सुरक्षा कायम गर्न पनि उहाँहरूले सहयोग गर्नुभयो ।

विद्यालयको दीर्धकालीन योजना

हामी धेरै अलमलमा छैनौँ । उत्तरगया गाउँपालिकाको यो मुख्य विद्यालय हो । रसुवा जिल्लाकै जेठो विद्यालय पनि हो । २००७ सालमा स्थापना भएको यो विद्यालयको अस्तित्व जोगाउँदै अघि बढ्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।

दुई दिनसम्म हामीले होल्डिङ सेन्टर चलायौँ । यहाँ पनि बाढी आउन सक्ने हल्ला भएपछि अहिले शिवालय आधारभूत विद्यालय र भीमसेनस्थान आधारभूत विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । शिक्षक साथीहरूले नै नेतृत्व गरिरहनुभएको छ ।

दुई दिनसम्म राहतको व्यवस्था पर्याप्त हुन नसकेपछि विद्यार्थी र अभिभावकलाई सम्भव भएसम्म आफन्तको शरणमा जान आग्रह गर्‍यौँ। रिकभरीको चरणमा पुगेपछि विद्यार्थी लिन आफन्तको गाउँघरमै पुग्ने बताएका छौँ।

अहिले केही विद्यार्थी होल्डिङ सेन्टरमा छन् भने धेरैजसो आफन्तको शरणमा छन् । तीन दिनपछि सूर्यगढी गाउँपालिका अध्यक्षले करिब १०० जना विद्यार्थी आइपुगेको जानकारी दिनुभएको छ । उनीहरू नुवाकोट दरबारको होल्डिङ सेन्टर हुँदै आफन्त भएका ठाउँतिर पुगेका छन् ।

अहिले ७४ जना बालबालिकाले बुवा–आमा गुमाएको सूची बनेको छ । धेरै विद्यार्थीले घरबार गुमाएका छन्। कतिपय अभिभावकले आफ्ना बालबालिकालाई आफैं पाल्न सक्ने अवस्था छैन।

खोलेबेसीका करिब २९ जना विद्यार्थी छन् । सलाखु खोला र त्रिशूलीको बीचबाट उनीहरू विद्यालय आउँथे। उनीहरूका अभिभावक नबगे पनि अन्ततः उनीहरूको शिक्षाको जिम्मेवारी यही विद्यालयले लिनुपर्छ ।

शान्तिबजारको तल्लो क्षेत्र र पहिरेबेसीका विद्यार्थीको जिम्मेवारी पनि यही विद्यालयले लिनुपर्ने अवस्था छ। पहिरेबेसीमा पहिलो दिन करिब ४६ जना मानिस थिए। अहिले करिब ६० जना बाँचेको हुनसक्ने र ६७ जनाको मृत्यु भएको जानकारी छ। त्यहाँका विद्यार्थीको हेरचाह र शिक्षाको जिम्मेवारी पनि यही विद्यालयको हो ।

त्यसैले, हामीले यहीँ आवासीय विद्यालय सञ्चालन गर्ने तयारी पहिलेदेखि नै गरेका थियौँ। १०० जना क्षमताको भवन तयार छ। अब त्यसलाई सञ्चालन गर्ने संयन्त्र बनाउँदै छौँ।

हामीलाई दातृ निकाय, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ठूलो सहयोग आवश्यक छ । अहिले अस्थायी छात्राबास बनाउन कति खर्च लाग्छ भनेर गाउँपालिकाका इन्जिनियरसँग लागत अनुमान मागेका छौँ ।

अस्थायी छात्राबासमा आल्मुनियमको संरचना, जस्ताको छाना र आवश्यक आवास सुविधासहितको व्यवस्था हुनेछ। अहिले भएको छात्राबास भवनले सबै विद्यार्थीलाई पुग्दैन।

सिद्धार्थ ग्रुप तथा सिद्धार्थ हस्पिटालिटी ग्रुपले पनि विद्यार्थीलाई छात्राबासमा राख्ने र एक वर्षसम्म खानाको व्यवस्थाका लागि सहयोग गर्ने इच्छा देखाएको छ। लायन्स क्लब इन्टरनेसनलसँग पनि यस विषयमा छलफल भइरहेको छ। अरू संस्थाहरू पनि जोडिन सक्छन्।

हामीलाई अहिले नै सहयोग चाहिएको छ। यी बालबालिकालाई उनीहरूकै ठाउँमा हुर्काउँदै राम्रो शिक्षा दिन विद्यालय प्रतिबद्ध छ। गाउँपालिकाले पनि आफ्नो प्रतिबद्धता जनाएको छ।

करिब एक महिनाभित्र छात्राबासको भौतिक तयारी सकेर विद्यार्थीलाई राख्ने र शैक्षिक वातावरण दिने हाम्रो लक्ष्य छ। त्यसका लागि सहयोग गर्न चाहने सबै निकायलाई विद्यालयसँग जोडिन म आग्रह गर्छु।

(रसुवाको उत्तरगयास्थित श्री नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक लामिछानेसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)

भिडियो/तस्वीर : कमल प्रसाईँ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?