+
+
Shares

वैकल्पिक मार्गबाट साढे २४ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी र पहिरोले सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपास जिल्लामा पेट्रोलियम पदार्थ वैकल्पिक मार्गबाट आपूर्ति गरिरहेको छ ।
  • निगमले आज उपत्यकाका लागि करिब २४ हजार ५ सय ग्यास सिलिन्डर ल्याउने व्यवस्था मिलाएको छ र भोलिदेखि थप परिमाणमा नियमित आपूर्ति गर्ने जनाएको छ ।
  • उद्धार कार्यका लागि नुवाकोटको नेपाली सेनाको ब्यारेकबाट हवाई इन्धन रिफ्युलिङ सेवा मिलाइएको छ र १० भदौदेखि १० लाख २ हजार लिटर इन्धन पठाइसकिएको छ ।

आजमात्र उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको छ भने भोलिदेखि यो क्रम नियमित एवं थप परिमाणमा ल्याइने छ ।

१८ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपास जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास आपूर्ति वैकल्पिक मार्गबाट गरिरहेको जनाएको छ ।

१० भदौमा भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लामा अत्यधिक जनधनको क्षति भएकाले उक्त क्षेत्रमा भइरहेको उद्धार कार्यमा निगमले पेट्रोलियम पदार्थ तथा ग्यास बिक्री वितरण व्यवस्था मिलाइरहेको बताएको छ ।

त्यस्तै १४ भदौमा त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा कटान गरेको र सडक भासिएका कारण बाटो अवरुद्ध हुँदा सोही रुटमा पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था सिर्जना भएको छ ।

यस समस्या मध्यनजर गर्दै निगमले काठमाडौं तथा आसपास जिल्ला र काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थ वैकल्पिक रूपमा त्रिभुवन राजपथबाट भित्र्याइरहेको उल्लेख गरेको छ ।

निगमका अनुसार एलपी ग्यास उद्योगका हकमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिन्डर भरी सोही बाटोबाट ल्याउने व्यवस्था मिलाइएको छ । आजमात्र उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको छ भने भोलिदेखि यो क्रम नियमित एवं थप परिमाणमा ल्याइने छ ।

यसका साथै, खोज तथा उद्धार कार्यमा संलग्न भएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवाको प्रबन्ध मिलाइएको निगमको भनाइ छ ।

१० भदौदेखि आजसम्म १० लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङ कार्यका लागि पठाइसकिएको र हालसम्म पनि उक्त ब्यारेकबाट रिफ्युलिङ कार्य नियमित भइरहेको निगमले जनाएको छ ।

उद्धार कार्यको सहजीकरणका लागि निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रहरूमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल १० लाख ५ हजार लिटर र डिजेल २० लाख २ हजार लिटर उपलब्ध गराइएको छ ।

साथै, माग अनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

खोज तथा उद्धार कार्यबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न स्थानका सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिका लागि आवश्यक पर्ने ग्यासको समेत व्यवस्था गरिएको छ ।

निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग संघबाट उपलब्ध गराउने १ हजार २ सय ५० थानमध्येबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंको अनुरोधमा रसुवा र नुवाकोट जिल्लामा ५ सय थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?