News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका ३० वर्षीय सञ्जय साह १० दिनपछि शुक्रबार बिहान जीवितै उद्धार भएका छन्।
- नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सकुशल बाहिर निकालेपछि सप्तरीमा रहेको परिवारमा खुसीको आँसु बगेको र बुवा, काका तथा काकी काठमाडौं आउँदैछन्।
- सञ्जयका अनुसार उनले बाढीका बेला अरूको ज्यान बचाउन खोज्दा आफू सुरुङभित्र फसेका थिए र उनले भगवानको ‘महामन्त्र’ जपेर ज्यान जोगिएको विश्वास गरेका छन्।
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका ३० वर्षीय सञ्जय साह १० दिनपछि जीवितै उद्धार भएका छन्।
शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनलाई सकुशल बाहिर निकालेपछि सप्तरीस्थित उनको परिवारमा १० दिनदेखिको छटपटी हर्षका आँशुमा बदलिएको छ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ का सञ्जय आयोजनाको कन्ट्रोल रुममा कार्यरत थिए। छोराको सकुशल उद्धार भएको खबर सुन्नासाथ अर्धचेत अवस्थामा रहेका बुवाको आँखाबाट खुसीको आँशु बगेको सञ्जयका भाइ सञ्जीवले बताए।
‘बुवा त बेहोसजस्तै हुनुहुन्थ्यो, राति हामी कोही परिवार सुतेकै थिएनौं,’ सञ्जीवले भने, ‘अहिले बुवा धेरै खुसी हुनुभएको छ। उहाँ खुसीको आँशु झार्दै विमानस्थलतर्फ जाँदै हुनुहुन्छ।’
सञ्जयलाई भेट्न बुवासँगै काका र काकी पनि काठमाडौं आउँदैछन्।
अरूलाई निकाल्दा आफैं फसे
बाढी आएको दिन सञ्जय अरूको ज्यान बचाउने प्रयास गर्दागर्दै आफैं सुरुङमा थुनिएका थिए। आफ्नो प्रयास जारी राखेर उनले धेरैलाई टनेलबाट बाहिर पनि निकाले। तर, अन्त्यमा रात परेपछि उनी आफैं भने निस्कन सकेनन्।
उद्धारपछि नेपाली सेनासँगको कुराकानीमा सञ्जयले भनेका छन्, ‘कन्ट्रोल रुममा काम गर्थेँ। त्यहाँ म भएपछि मेरो कर्तव्य सबैको ज्यान बचाउनु थियो। दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो।’
उनले थपे, ‘सबैलाई बाहिर भाग्न लगाउँदै थिएँ। त्यसो गर्दा मेरो समय नै भएन। रातमा म निस्कन नै पाइनँ।’ सुरुङभित्र फस्दा आफूले भगवानको ‘महामन्त्र’ जपिरहेको र त्यसैले गर्दा ज्यान जोगिएको उनको विश्वास छ।
सोच्दै नसोचेको खुसी
श्रीमान् बेपत्ता भएपछिको पीडा सहन नसकेपछि सञ्जयकी श्रीमती माइती गएकी थिइन्। उनीहरूको डेढ वर्षकी छोरी छिन्। शुक्रबार बिहान भाइ सञ्जीवले नै भाउजुलाई फोन गरेर यो अप्रत्याशित खुसीको खबर सुनाए।
‘अहिले त भाउजु पनि धेरै खुसी हुनुहुन्छ,’ सञ्जीव भन्छन्, ‘यो सोच्दै नसोचेको खुसी भयो।’
बाढी आएको दिन भदौ १० गते बिहान ७:४५ बजे सञ्जयको परिवारसँग करिब ५ सेकेन्ड मात्र कुरा भएको थियो। दिउँसो १ बजेतिर परिवारले सामाजिक सञ्जाल र समाचारमार्फत घटनाबारे थाहा पाएपछि फोन गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेको थिएन। १० दिन लामो त्यो कालो रात अन्ततः सञ्जयको सकुशल फिर्तीसँगै उज्यालोमा परिणत भएको छ।
प्रतिक्रिया 4