१९ भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीका कारण ललितपुरका कबिर महर्जन पनि त्रिशूली ३ एको सुरुङभित्रै फसे। आज १० दिनपछि उनको जीवितै उद्धार भयो। नेपाली सेना र प्राविधिकसहितको टोलीले उनको सकुशल उद्धार भएको हो।
अहिले उनलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। उनको अस्पतालमा उपचार सुरु गरिएको छ। भाइलाई सकुशल उद्धार भएपछि खुसी छिन् दिदी विद्या डंगोल।
भाइलाई भेट्न पाइन्छ कि भनेर सैनिक अस्पताल छाउनीमा पुगेकी उनले भनिन्, ‘आज हामी धेरै खुसी छौं । भाइलाई यहीँ ल्याएको छ रे भेट्न त पाएको छैन तर सन्तोष छु।’
उनले भाइको उद्धार भएपछि खुसीको सीमा नभएको पनि बताइन्। ‘नराम्रो भएन, राम्रो भयो भाइलाई । एकदम खुसी छौं । खुसीको सीमा नै छैन,’ उनले भनिन्, ‘१०-१० दिनसम्म त्यस्तो भएको मेरो भाइ…सबै जना दिदी बहिनी हामी भेट्न आएको । हामीले आशै मारी सकेका थियौं । यस्तो चमत्कार हुन्छ भन्ने लागेकै थिएन ।’
उनले आफ्नो भाइलाई केही नहोस् भनेर आज बिहानमात्रै पनि पूजा गरेको सुनाइन्।
‘बिहान पूजापाठ गरेँ । मेरो भाइलाई केही नहोस् भगवान भनेर प्रार्थना गरेर पूजा गरिरहेकी थिएँ । पूजा गरेर चिया खाने बेला मैले मोबाइल हेरेको थिएँ । मोबाइलमा खबर देखेँ। एकदम खुशी भएर हतार हतार मैले मेरो बहिनीलाई फोन गरेँ,’ उनले भनिन्, ‘बहिनीलाई फोन गरेर ए मैयाँ, यो भएछ, हो भनेँ । हो दिदी भनेपछि हामी त एकदम खुसी भयौं । ए भगवान, भगवानलाई लाखलाख धन्यवाद मैले यत्ति भनेँ ।’
उनले सुरुङमा फसेका अन्यको पनि सकुशल उद्धारको कामना गरिन् । आज सुरुङबाट कबिरसँगै अर्का एक जनाको पनि जीवितै उद्धार भएको छ।
प्रतिक्रिया 4