+
+
Shares

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान पहल

प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिज्म रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलन गर्ने निर्णय गरेको छ ।
  • रसुवा, नुवाकोट, धादिङ र गोरखाका होटल, रेस्टुरेन्टलगायत सेवा प्रदायकको क्षति विवरण अनलाइन फारममार्फत संकलन गरिने छ ।
  • कैलाश–मानसरोवर यात्राका लागि वैकल्पिक नाका, लाङटाङमा बेलिब्रिज र रसुवा धुन्चे पुग्ने वैकल्पिक सडकमार्गका लागि सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।
  • पर्यटकलाई सडक अवस्थाबारे नियमित सूचना पर्यटन बोर्डका सामाजिक सञ्जालमार्फत दिने र नेपालका अन्य गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्ने व्यवस्था मिलाइने छ ।
  • नेपालको पर्यटन अवस्थाबारे यथार्थ सूचना दिन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन, पाटा र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

१९ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ को निर्णय अनुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) र विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐरसहित बसेकाको बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका पर्यटन सेवा प्रदायकको मानवीय तथा भौतिक क्षति विवरण संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारम आवश्यकता अनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्ट लगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । विवरण संकलनका लागि फारम अनलाइन मार्फत उपलब्ध गराइने छ ।

त्यस्तै प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिज्म रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकले कैलाश–मानसरोवर यात्राका लागि नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । यसबाट कैलाश–मानसरोवर यात्रामा परेको सम्भावित प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लाङटाङ क्षेत्रमा चालु सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलिब्रिज निर्माणका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, रसुवा धुन्चे पुग्ने वैकल्पिक सडकमार्गको नक्सा तयार गर्ने निर्णय भएको छ ।

सडक अवस्थाबारे पर्यटकलाई नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन नेपाल प्रहरीको ट्राफिक कार्यालय तथा पर्यटक प्रहरीबाट सडक सञ्चालन सम्बन्धी सूचना प्राप्त गरी पर्यटन बोर्डका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ ।

बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि वास्तविक अवस्था र नियमित सूचनालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।

नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्‍व पर्यटन संगठन र पाटा लगायत अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष भरतजंग पाण्डे, नेपाल पर्वतारोहण संघ (एनएमए), होटल व्यवसायी महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), हिमालयन उद्धार संघ (एचारए), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), एक्सपिडिसन एसोसिएसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) का प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?