+
+
Shares

अस्ति कुशको शव बनाएर दाहसंस्कार, आज जीवितै उद्धार

बेत्रावतीका स्थानीय भन्छन्– बाँकी रहेका सबै घरमा खोजी गरियोस्

बाढीपछि बेपत्ता भएकी बेत्रावतीकी चण्डिका श्रेष्ठ शनिबार भेटिएसँगै अब स्थानीयहरू आफ्ना आफन्त भेटिन्छन् कि भन्ने आशा बढाउन थालेका छन् । उनीहरू सबैको एउटै माग सुनिन्छ– सबैतिर खोजी गरियोस् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ २० गते १८:०६
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले बगाएको नुवाकोट बेत्रावतीको घरभित्र ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि सकुशल भेटिइन् र उनलाई काठमाडौं लगिएको छ।
  • चण्डिकाका छोराहरूले कुशको शव बनाएर दाहसंस्कार गरेपछि काजकिरियामा बसेका थिए, तर आमा भेटिएपछि पुरोहितले विधि पुर्‍याएर फुकुवा गराएका छन्।
  • स्थानीयले बाढीले बगाएका घरहरूमा पनि खोजतलास गर्न सरकारसँग माग गरेका छन्, किनकि चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठ अझै बेपत्ता छन्।

२० भदौ, काठमाडौं । दुईवटै छोराहरू (आशिष र अनिश) काठमाडौंमा थिए । नुवाकोटको बेत्रावतीमा बुढेसकाल लागेका बुवा–आमा बस्थे ।

१० भदौमा हजारौंका परिवारजस्तै यो परिवारमा पनि नसोचेको विपत्ति आइलाग्यो ।

भोटेकोशी बाढीले बुवा–आमासहित घर बगायो । ८ दिनसम्म परिवारै मिलेर खोजी पनि गरे ।

अन्तत: नभेटेपछि तीन दिन अघि कुशको शव बनाएर दाहसंस्कार गरियो । गत बिहीबारदेखि दुवै छोराहरू आमा–बुवा फर्कने आशा मारेर काजकिरियामा बसे ।

तर, शनिबार बिहान एकाएक नसोचेको खबर आयो– नुवाकोटको बेत्रावतीमा घरभित्रै एक महिला सकुशल भेटिइन् । त्यो नाम थियो– ६४ वर्षीया चण्डिका श्रेष्ठ ।

किरियाघरमा बसेका छोराहरूलाई पत्याउनै असहज भयो ।

केहीबेरमै लगातार फोन आउन थाले । सबैको खबर थियो– आमा सकुशल भेटिनुभयो ।

चण्डिकाकी भतिजी रिसिका श्रेष्ठका अनुसार, बाढीले बगाएको दिनबाट गणना गरेर आज ११ औँ दिनको काम भइरहेको थियो ।

आमा भेटिएपछि अहिले चण्डिकाको काजकिरिया पुरोहितले विधि पुर्‍याएर फुकुवा गराएका छन् ।

बेत्रावती लाखे क्लबको अध्यक्ष शशी डंगोलले पनि काजकिरिया फुकुवा गरिएको बताए ।

बाढीले क्षतिग्रस्त नुवाकोटको बेत्रावती ।

‘कुशको शव बनाएर संस्कार गरिएको थियो । तर उहाँ (चन्डिका)को सकुशल उद्धार भएको छ,’ उनले भने, ‘भेटिएपछि विधिपूर्वक फुकुवाइएको हो ।’

चण्डिकाका छोराहरूले शनिबार नै किरियाघर छाडेका छन् ।

वडाध्यक्ष डंगोलले बताए अनुसार, चण्डिकाको स्वास्थ्यमा सुधार भएपछि मात्र श्रीमान् आनन्द श्रेष्ठ नभेटिएमा काजकिरिया गर्ने तयारी परिवारको छ ।

‘अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको श्रीमान् नभेटिएमा फेरि काजकिरिया गर्ने भनिएको छ,’ उनले भने, ‘अहिलेलाई फकाइयो ।’

चण्डिकाका श्रीमान् पनि बाढीपछि बेपत्ता छन् । उनीसँग पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।

घरसहित बगेकी थिइन् चण्डिका

पुरिएको घरबाट उद्धार गरिएकी चण्डिकालाई बाढीले घरसहित बगाएको थियो ।

स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर बाढीले बगाएर उनको घरभन्दा थप ५० मिटर पर बगाएर पुर्‍याएको थियो । सोही बगाएको घरबाट उनको उद्धार भएको हो ।

‘बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो । मेरो घर घडीघरसँग जोडिएको छ । आज उद्धार भएको उहाँ (चन्डिका) को घर मेराभन्दा ७० मिटर पछाडि थियो,’ डंगोलले अनलाइनखबरसँग भने, ‘बाढीले बगाएर मेरो घर भएको ठाउँबाट ५० मिटर पर पुर्‍याएको छ । त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो ।’

विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो ।

‘उहाँको श्रीमान् भेटिनु भएको छैन । अब एक पटक खोजतलास गर्नुपर्ने भयो । भत्किएको घरमा मान्छे जीवितै भेटिन थालेको छ,’ क्लबका अध्यक्ष डंगोलले भने, ‘उहाँलाई हेलिबाट उपचार गर्न काठमाडौं लगिएको छ ।’

बेत्रावतीमा नेवार सुमदायको मात्र २३० बढी घर थिए । कतिलाई बाढीले बगायो भन्ने यकिन विवरण अझै आएको छैन ।

बाढीले बगाएको घरमा ११ दिनपछि पनि मानिस जीवितै भेटिएपछि स्थानीययले सबै घरमा खोजतलास गर्न सरकारसँग माग गरेका छन् ।

‘भोलिबाट बेत्रावतीको प्रत्येक घरमा खोजतलास हुनुपर्‍यो,’ अध्यक्ष डंगोलले भने । बाढीले बगाएपछि सम्पर्कमा नआएकाको अधिकांशको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरियामा बसेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?