+
+
Shares

हुम्लाको सिमकोटमा विद्युत् आपूर्ति बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सदरमुकाम सिमकोटमा भदौ १६ गतेदेखि पावर हाउसको युनिट–९ नियन्त्रणमा समस्या आएपछि विद्युत् सेवा अनिश्चितकालका लागि बन्द छ।
  • विद्युत् अवरुद्ध हुँदा सरकारी र गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसायी र सर्वसाधारण प्रभावित भएका छन्।
  • स्थानीयले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन र हुम्लामा देखिने समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन्।

२० भदौ, हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए ।

उनका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुने बताए ।

सामग्री र प्राविधिकको लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताए । उनले अर्को सूचना जारी नभएसम्म विद्युत् सेवा अवरुद्ध रहने सार्वजनिक सूचना जारी गरेको सुनाए ।

विद्युत् सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन् । केही सरकारी कार्यालयमा सोलार प्रणाली जडान भएकाले काम सञ्चालनमा केही सहज भए पनि सर्वसाधारण भने बढी प्रभावित भएका छन् ।

विशेषगरी विद्यार्थी र कोठा भाडामा बस्दै आएका नागरिकले विद्युत् अभावको बढी समस्या भोगिरहेका छन् । मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, अध्ययन गर्न तथा विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भएको छ ।

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज नै प्रभावित हुन थालेपछि स्थानीयले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन माग गरेका छन् । साथै, हुम्लामा पटक–पटक देखिने विद्युत् समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको माग छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?