२१ भदौ, पाल्पा । पाल्पामा यो आर्थिक वर्ष मात्रै २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको २० गतेसम्ममा २३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो तथ्यांक लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो । यो आर्थिक वर्ष सुरु भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ्ग भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मुधुसुधन भट्टराईले जानकारी दिए ।
जिल्लाका चारवटा अस्पतालमा भएको परीक्षणमा डेंगुका बिरामी देखिने क्रम बढेका हुन् । पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगु संक्रमण पुष्टि भएको पाइएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा समेत डेंगुका बिरामीहरु देखिने क्रम बढ्दो क्रममा रहेको सूचना अधिकारी भट्टराईले बताए । जलवायु परिवर्तन, परीक्षणको दायरामा वृद्धि भएपछि जिल्लामा संक्रमितको संख्या बढेको हो ।
यस्तै जिल्लाका दुई ठूला निजी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत धेरै संक्रमण देखिएको हुँदा लुम्बिनी प्रदेशमै धेरै संख्यामा संक्रमित पहुने जिल्ला पाल्पा बनेको हो ।
पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८२।०८३ मा ४३२ जना २०८१।०८२ मा ५१० जना, २०८०/८१ मा ६८६ जनामा संक्रमण पुष्टि भएको थियो । जलवायु परिवर्तनका कारण पाल्पामा पनि डेंगु सार्ने लामखुटटेको वृद्धि विकास राम्रो हुँदा संक्रमितको संख्यामा वृद्धि भएको पाइएको भट्टराईले बताए ।
एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोगको संक्रमण हुने गर्दछ । यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो ।
डेंगु संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया 4