+
+
Shares

बालेनलाई गगनको सुझाव : राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्र भर नपर्नुस्

विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन सुझाव दिएका छन्।
  • थापाले जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षति वैज्ञानिक प्रमाणसहित उठाउन र अनुदानमा आधारित जलवायु वित्तका लागि कडा लबिङ गर्न आग्रह गरेका छन्।
  • उनले प्रधानमन्त्रीलाई विदेश भ्रमणलाई औपचारिकतामा सीमित नगरी विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञसँग व्यापक परामर्श गर्न सुझाएका छन्।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्।

विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिएका छन्।

विपद्का प्रमाणसहित जलवायु वित्तमा कडा लबिङ गर्न आग्रह

थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।

‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ सभापति थापाले बैठकमा भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ।’

यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूको गहिरो अध्ययन गर्नसमेत उनले सुझाव दिएका छन्।

विगतमा प्रधानमन्त्रीहरूले उठाएका ‘हिमालदेखि महासागरसम्म’ का विषय र कोप–२८ मा अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्ने थापाको भनाइ छ।

देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको परामर्शका आधारमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने उनले प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?