२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता उद्धार कार्य नै भए पनि त्यसपछि घटनाका कमजोरीहरूबारे संसद् र जनस्तरमा निष्पक्ष बहस हुनुपर्ने बताए।
‘अहिले हामी केही दिन उद्धार कार्यमै केन्द्रित हुनुपर्छ। तर यो चरण सकिएपछि कहाँ, कसरी र किन कमजोरी भयो भन्नेबारे वस्तुनिष्ठ र निष्पक्ष बहस हुन जरुरी छ,’ त्रिशूली क्षेत्र (भोटेकोशी) मा भएको पछिल्लो दुर्घटनालाई इंगित गर्दै उनले भने, ‘यस्ता कमजोरी संस्थागत हुन् वा व्यक्तिगत, यसबारे संसद् र आम नागरिकले प्रस्ट जानकारी पाउनुपर्छ।’
‘टनेल उद्धारको तयारी पुगेन’
नेपालका विभिन्न स्थानमा बनिरहेका हाइड्रोपावर र सुरुङहरूमा विपद्का बेला हुनसक्ने जोखिम न्यूनीकरण र उद्धार कार्य निकै चुनौतीपूर्ण देखिएको सभापति थापाले औंल्याए।
‘प्राकृतिक विपद्का बेला टनेलबाट उद्धार गर्ने सन्दर्भमा हामीले यथेष्ट काम गर्नुपर्ने देखिएको छ,’ थापाले भने, ‘यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरुरी छ।’
उनले पूर्वाधार निर्माण र डिजाइनकै चरणमा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
यसपालिको महाविपद्बाट पाठ सिकेर भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग र पूर्वतयारीमा अब कुनै पनि हालतमा ढिलाइ गर्न नहुने उनको निष्कर्ष छ।
प्रतिक्रिया 4