+
+
Shares

‘जलवायु परिवर्तनबाट भएको क्षतिबारे प्रधानमन्त्री बालेनले विश्वमञ्चमा आवाज उठाउनुपर्छ’

पूर्वमन्त्री हितबहादुर तामाङले कार्बन उत्सर्जन र जलवायु परिवर्तनबाट भएको क्षतिको सजाय विकसित देशले पाउनुपर्ने र बालेन शाहले अन्तर्राष्ट्रिय मञ्चमा बोल्नुपर्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री हितबहादुर तामाङले कार्बन उत्सर्जन र जलवायु परिवर्तनको क्षतिको सजाय विकसित देशले पाउनुपर्ने र प्रधानमन्त्री बालेन शाहले अन्तर्राष्ट्रिय मञ्चमा बोल्नुपर्ने बताएका छन्।
  • रसुवा बाढीलाई ताम्सालिङ डिजास्टर वा ताम्सालिङ बाढी नाम दिन सकिने भन्दै क्षतिपूर्ति र पुनर्निर्माणमा तामाङ समुदायको प्रतिनिधित्व माग गरिएको छ।
  • बाढीपीडितको उद्धारमा राज्यले ढिलाइ गरेको भन्दै कार्यक्रमका सहभागीहरूले आक्रोश व्यक्त गरेका छन्।

२२ भदौ, काठमाडौं। पूर्वमन्त्री हितबहादुर तामाङले कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण भएको क्षतिको सजाय विकसित देशले पाउनुपर्ने र यसबारे प्रधानमन्त्री बालेन शाहले अन्तर्राष्ट्रिय मञ्चमा धारणा राख्नुपर्ने बताएका छन् ।

तामाङ नागरिक समाजले काठमाडौंको बौद्धमा राखेको रसुवा बाढीसम्बन्धी छलफलमा पूर्वमन्त्री तामाङले यस्तो बताएका हुन् ।

‘विकसित, पूँजीवादी मुलुकले व्यापार गर्ने, यसबाट ताल फुट्ने, संयुक्त राष्ट्र संघको महासभामा पनि ७८औं महासभामा पनि प्रधानमन्त्री प्रचण्डले पनि कुरा राख्नुभएको थियो । माधव नेपाल र शेरबहादुर हुँदै केपी ओलीको पालामा पनि भए । तर प्रचण्डले कुरा राखेपछि सबैको ध्यानआकृष्ट भयो । अहिलेका बालेनले कोहीसँग नबोली कार्यकाल सिध्याउने विचार गरेका थिए होलान् । तर यस्तो विषयमा बोल्नै पर्छ । उसले अन्तर्राष्ट्रिय फोरममा बोल्नुपर्छ । यो बेला सुन्छ पनि,’ पूर्वमन्त्री तामाङले भने ।

बागमती प्रदेशसभाकी सांसद राधिका तामाङले अब क्षतिपूर्तिको विषयमा बोल्नुपर्ने समय आएको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आईटीसी) का महासचिव टासी लामाले प्रधानमन्त्री बालेन संयुक्त राष्ट्र संघमा जान लागेकोले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा के भनाइ राख्ने भन्ने विषयमा तामाङ समुदायले सघाउनुपर्ने धारणा राखे ।

‘रसुवा बाढीमा तामाङ समुदायले भोगेको दुःख विषयमा सारा समुदाय, सरकार, सरोकारवाला सबैलाई भन्नुपर्दछ । यहाँको वास्तविक उत्पीडनको कथा सुनाउनै पर्छ । यो विषयमा अन्तर्राष्ट्रिय मञ्च संयुक्त राष्ट्र संघमा जान लाग्नुभएको प्रधानमन्त्री शाहलाई सहयोग गर्नपर्छ। क्षतिपूर्ति माग्नुपर्छ। बलियो दाबेदार पेस गर्न हामी साथ दिन्छौं । क्षति बेहेरोको समुदायले क्षतिपूर्ति पाउनुपर्छ,’ महासचिव लामाले भने ।

रसुवा बाढीको नाम ताम्सालिङ डिजास्टर राख्न माग

पूर्वमन्त्री हितबहादुर तामाङले रसुवा बाढीको नाम ताम्सालिङ डिजास्टर राख्न सकिने बताए । ताम्सालिङ क्षेत्रमा भएको ठूलो विपद् भएकोले यसलाई ताम्सालिङ बाढी पनि भन्न सकिने उनले बताए ।

‘यसलाई के भन्ने ? यो ताम्सालिङ बाढी भन्दा पनि हुन्छ । विभिन्न नाम दिएका छन् । वास्तवमा यो चै भोटेकोसी–त्रिशुली नै हो । त्रिशुली तल देवघाटसम्म छ । कालिगण्डकी जोडिएपछि मात्रै गण्डकी भनिन्छ । मुग्लिनमा यसलाई त्रिशूली भनिन्छ । ताम्सालिङ डिजास्टर पनि भन्न सकिन्छ,’ पूर्वमन्त्री तामाङले भने ।

२०७२ सालको भूकम्पमा ३१ वटा जिल्लामा प्रभाव पर्दा ताम्सालिङको १३ वटा जिल्लामा नै बढी प्रभावित भएको उनले बताए । त्यही बेला झैं अहिले रसुवा बाढीले ठूलो क्षति पुर्‍याएको तामाङको भनाइ थियो ।

‘भूकम्पमा आर्थिक क्षति त्यसबेला ७ खर्ब जति भएको भन्ने छ । अहिले पनि आर्थिक क्षति त्योभन्दा कम छैन । ११ वटा उत्पादन दिइराखेको हाइड्रोपावर नष्ट भएको छ,’  पूर्वमन्त्री तामाङले भने ।

तामाङ घेदुङकी वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोनले यस विषयमा पहल गर्न घेदुङले समन्वयकारी भूमिका खेल्न सक्ने धारणा राखिन् ।

अधिकारकर्मी डा. संग्रामसिंह लामाले पुनर्निमाणको विषयमा तामाङ प्रतिनिधिधत्व हुनुपर्ने माग अघि सारे ।

‘अब पीडा त विस्तारै हट्दै जाला तर पुननिर्माण कसरी गर्ने । संकलन भएको रकमको व्यवस्थापन र प्रयोग कहाँ होला ? यो विषयमा हामीले वाच गर्नुपर्ला । यसको समिति कस्तो बन्छ ? यसको मेकानिजम कस्तो बन्ला ? यसमा हामी तामाङको प्रतिनिधित्व हुनुपर्छ,’ डा लामाले भने ।

मानवशास्त्री डा. मुक्तसिंह लामाले उद्धारको तथ्याङक हेर्दा ४० प्रतिशत तामाङ रहेको बताए ।

कार्यक्रममा रसुवाका फुर्वा तेन्जिङ तामाङले बाढीको अनुभव सुनाएका थिए । उनले राज्यले उद्धारमा ढिलाइ गरेकोमा आक्रोश समेत पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?