+
+
Shares

टेक्सास इन्टरनेसनल कलेजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सास इन्टरनेसनल कलेजले बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा व्यवस्थापन र सूचना प्रविधि विषयको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।
  • सम्मेलनमा एआई, साइबर सुरक्षा, दिगोपन, सामाजिक–आर्थिक विकास र शिक्षासहितका विषयमा ४० भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन्।
  • सम्मेलनले प्रविधि र व्यवस्थापनलाई दिगो विकास, आर्थिक समृद्धि र भावी पुस्ताको हितसँग जोड्दै नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

२२ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

‘२१औँ शताब्दीमा दिगोपन, समृद्धि र भावी पुस्ताका लागि व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोग’ विषयमा केन्द्रित सम्मेलनमा सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, दिगोपन, सामाजिक–आर्थिक विकास र शिक्षालगायत विषयमा अनुसन्धानमूलक छलफल तथा कार्यपत्र प्रस्तुत गरिएको थियो।

कलेजका अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी प्रमुख अतिथि रहेका थिए। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनियाँ विशेष अतिथि तथा अस्ट्रेलियाको स्विनबर्न विश्वविद्यालयका प्रा. डा. सियन वाट्स विशेष वक्ताका रूपमा सहभागी थिए।

त्यस्तै, भारतीय प्रविधि संस्थान रुड्कीका प्रा. डा. सन्तोष रंगनेकर, भारतीय प्रविधि संस्थान दिल्लीका प्रा. डा. सूर्यप्रकाश सिंह र दक्षिण कोरियास्थित आईटीएएमका अध्यक्ष प्रा. नाम्जे चोले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। कार्यक्रममा पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेल र डिजिटल शासन विज्ञ भोजराज घिमिरेलगायतको उपस्थिति थियो।

नेपालमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको सम्मेलनमा राष्ट्रिय गान तथा दीप प्रज्वलनसहित उद्घाटन सत्र अघि बढाइएको थियो। प्राचार्य डा. श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष भेषराज पोखरेलले सम्मेलनको उद्देश्यबारे जानकारी गराएका थिए।

सम्मेलनका विभिन्न सत्रमा व्यवस्थापन, वित्त, दिगोपन, सामाजिक–आर्थिक विकास, एआई, साइबर सुरक्षा, डिजिटल रूपान्तरण, शिक्षा, संस्कृति र स्वास्थ्यलगायत विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले अध्ययन प्रस्तुत गरेका थिए।

प्राविधिक सत्रमा नेपालको डिजिटल अर्थतन्त्र, हरित आपूर्ति शृङ्खला, दिगो व्यवसाय, एआई तयारी, साइबर सुरक्षा, डिजिटल बैंकिङ, तथ्याङ्क व्यवस्थापन, मेसिन लर्निङ तथा प्रविधिको पहुँचलगायत विषयमा छलफल भएको थियो।

त्यस्तै, शिक्षा तथा अन्तरविषयक अनुसन्धान सत्रमा भविष्यका लागि शैक्षिक संस्था निर्माण, शिक्षक क्षमता अभिवृद्धि, अङ्ग्रेजी शिक्षणमा प्रविधिको प्रयोग, अभिभावकत्व तथा डिजिटल पदचिह्न, विद्यार्थीको व्यवहार, स्वास्थ्य, सुरक्षा, सांस्कृतिक संरक्षण र दिगो पर्यटनलगायत विषय समेटिएका थिए।

सम्मेलनका तीन समानान्तर सत्रमा ४० भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका थिए। प्रत्येक प्रस्तुतीपछि सत्राध्यक्षको टिप्पणी तथा प्रश्नोत्तर गरिएको थियो।

दिउँसोका सत्रमा डिजिटल आपूर्ति शृङ्खला, एआई र मानव भूमिका, साना तथा मझौला उद्यममा एआईको प्रयोग, डिजिटल वित्तीय साक्षरता, डेटा संरक्षण तथा सांस्कृतिक पुनर्जागरणलगायत विषयमा थप कार्यपत्र प्रस्तुत गरिएका थिए।

अनुसन्धान अध्यक्ष प्रा. डा. सतीशकुमार ओझाको समापन मन्तव्य तथा प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखुको धन्यवाद ज्ञापनसँगै सम्मेलन समापन भएको थियो। सम्मेलनले प्रविधि तथा व्यवस्थापनलाई दिगो विकास, आर्थिक समृद्धि र भावी पुस्ताको हितसँग जोड्दै नवप्रवर्तन तथा व्यावहारिक समाधानमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सम्मेलनपछि प्राचार्य डा. श्यामसुन्दर श्रेष्ठले २१औँ शताब्दीमा व्यवस्थापन र सूचना प्रविधि दिगो विकास तथा समृद्धिको महत्वपूर्ण आधार भएको बताए। सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा ज्ञान तथा अनुसन्धान आदानप्रदानको अवसर प्रदान गरेको र नेपालको शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।

टेक्सास इन्टरनेशनल कलेजले अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?