भदौ १० गते बिहान ।
सधैंझैं बिहान ९ बजे अस्पताल पुगेँ । बिरामी हेर्न थालेको केहीबेरमै एक सहकर्मी चिकित्सकले सुनाउनुभयो– नेपाल–चीन सीमातिर ठूलो बाढी आएको छ । मानवीय क्षति पनि भएको खबर आउन थालेको छ ।
अस्पतालको नियमित भिडभाडबीच त्यो खबर सुन्दा सुरुमा खासै ध्यान गएन । तर केही क्षणमै मेरो मन एकाएक झस्कियो । मलाई आफ्नै सासूआमा चौसरा पुन र ससुरा थमबहादुर पुनको याद आयो ।
उहाँहरू ‘ढोरपाटन’ बाट तीर्थयात्राका लागि गोसाइँकुण्ड जानुभएको थियो । मनमा चिसो पस्यो ।
यात्राको गन्तव्य साँच्चै गोसाइँकुण्ड नै हो कि होइन भन्ने निश्चित गर्न मैले सालीलाई फोन गरेँ । उनले गोसाइँकुण्ड नै जाने योजना रहेको पुष्टि गरिन् ।
त्यतिबेलासम्म रसुवाको बाढीबारे समाचारहरू निरन्तर आइरहेका थिए । मैले तत्काल श्रीमतीसहित परिवारका सबै सदस्यलाई उहाँहरूको फोनमा सम्पर्क गर्न आग्रह गरेँ ।
तर जवाफ निराशाजनक थियो ।
‘सम्पर्क हुन सकेन ।’
केही समयपछि फोन गर्दा अर्को आवाज आउन थाल्यो – ‘मोबाइलको स्विच अफ गरिएको छ ।’ सामान्यतः फोन नउठ्नु र मोबाइल नै बन्द हुनुबीच ठूलो अन्तर हुन्छ । केही मिनेटको अन्तरालमा फोनको जवाफमा आएको यही परिवर्तनले हाम्रो मनमा सम्भावित दुर्घटनाको भय जगाइदियो ।
त्यो दिन हामी परिवारका सदस्यहरूबीच उहाँहरूको यात्रालाई लिएर अनेक अनुमान गर्न थाल्यौँ । मेरी श्रीमती डा. सुनिता बस छुटेको स्थानसम्म पुगिन् । बसको नम्बर यकीन गरिन् । त्यसपछि आफन्त र साथीभाइसँग सम्पर्क गरेर भदौ १० गते सम्पर्कविहीन भएका बसहरूको नम्बर पत्ता लगाउन थाल्यौँ ।
आधिकारिक स्रोतबाट एउटा बस बाढीमा परेको खबर आयो । तर त्यसको नम्बर उहाँहरू चढेको बससँग मिलेन । त्यो खबरले क्षणभर राहत दियो ।
तर राहतसँगै तनाव पनि थियो । आशंका अझै बाँकी थियो । कतै सुरक्षित हुनुहुन्छ कि भन्ने झिनो आशा पनि । भोलिपल्टसम्म पनि फोन गर्दा उही जवाफ आइरह्यो– ‘मोबाइलको स्वीच अफ गरिएको छ ।’
अन्तिम लोकेसन : बेत्रावती
फोन सम्पर्क नभएपछि अर्को प्रश्नले सताउन थाल्यो – उहाँहरू आखिर कहाँसम्म पुग्नुभएको थियो ?
यदि अन्तिम स्थान थाहा पाउन सकियो भने कम्तीमा उहाँहरूको अवस्थाबारे केही अनुमान गर्न सकिन्थ्यो । नेपाल टेलिकममा बुझ्दा उहाँहरूको मोबाइलको अन्तिम सम्पर्क बेत्रावती आसपास देखिएको जानकारी आयो । हामी केही अचम्मित भयौँ ।
साथीभाइ र कतिपय आफन्तले धादिङ हुँदै गोसाइँकुण्ड जाने यात्रामा यति छोटो समयमा बेत्रावती पुग्न सक्ने सम्भावना कम रहेको बताएका थिए । तर यात्रा सुरु गरेको समय, सडकको अवस्था, यातायातको चाप र चालकले बस कति गतिमा चलाए भन्ने कुराले पनि समय फरक पार्न सक्थ्यो ।
त्यसैले एउटा सानो आशा फेरि पलायो ।
सायद उहाँहरू बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छैन कि ? सायद कतै सुरक्षित हुनुहुन्छ कि ?
त्यही आशा बोकेर हामी बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय पुग्यौँ ।
त्यहाँ धेरै मानिस आफ्ना आफन्तको खोजीमा आएका थिए । कोही फोनको अन्तिम लोकेसन सोधिरहेका थिए, कोही सम्पर्कविहीन आफन्तको खबर खोजिरहेका थिए ।
टेलिकमका कर्मचारीहरूले आफूले दिन सक्ने जानकारी दिएर सहयोग गरिरहेका थिए । त्यस्तो विपत्तिको बेला त्यहाँ देखिएको त्यो दृश्यले एउटा कुरा सम्झायो – ठूलो प्राकृतिक विपत्तिले नेपालीलाई दुःखमा मात्र पार्दैन, एकअर्काको सहारा बन्न पनि सिकाउँछ ।
२०७२ सालको भूकम्पमा पनि नेपाल टेलिकमले खेलेको भूमिकाको सम्झना आयो । तर बबरमहलबाट पाएको पछिल्लो जानकारीले हाम्रो आशामाथि फेरि प्रहार गर्यो ।
बेत्रावती लगभग बगरमा परिणत भइसकेको थियो । उहाँहरू चढेको बस फर्किएको थिएन । मोबाइलको अन्तिम सम्पर्क बेत्रावती देखिएको थियो । बेत्रावतीको अवस्था भयावह थियो । र उहाँहरूसँग कुनै सम्पर्क हुन सकेको थिएन ।
यी सबै तथ्य एकै ठाउँमा जोडिँदै गएपछि मनले कल्पना गर्न नचाहेको निष्कर्षतिर हामी धकेलिँदै गयौँ ।
सामाजिक सञ्जालमा एउटा झिनो आशा
त्यसपछि हाम्रो नजर सामाजिक सञ्जालमा पुग्यो । फेसबुकका पोस्टहरू, फोटो र भिडियोहरूमा आँखा दौडाउन थाल्यौँ । कतै ‘सकुशल छौँ’ भन्ने पोस्टमा उहाँहरू देखिनुहुन्छ कि ? कतै उद्धार गरिएका मानिसहरूको भिडमा उहाँहरूको अनुहार देखिन्छ कि ?
प्रत्येक पोस्ट एउटा सम्भावना थियो । प्रत्येक भिडियो एउटा आशा ।
एक पोस्टमा उहाँहरूको शारीरिक बनावटसँग मिल्दोजुल्दो देखिने व्यक्तिहरूको भिडियो भेटियो । हाम्रो धड्कन बढ्यो । तर भिडियोमा सबैको अनुहार अर्कोतिर फर्किएको थियो । यकीन गर्न सकिएन ।
पछि थाहा भयो – त्यो भिडियो नै ‘कटपेस्ट’ गरेर बनाइएको रहेछ । त्यो खबरले बाँकी रहेको आशामाथि पनि चोट पुर्यायो ।
प्राकृतिक विपत्तिका बेला गलत सूचना फैलाउनु केवल गलत काम होइन, कसैको पीडामाथि थप पीडा थप्नु हो । रसुवाको बाढीपछि सामाजिक सञ्जालमा फैलिएका यस्ता अपुष्ट र फेक सूचनाले पीडित परिवारलाई कति ठूलो मानसिक यातना दिन्छ भन्ने हामीले आफ्नै अनुभवबाट महसुस गर्यौँ । त्यसैले मेरो व्यक्तिगत आग्रह छ – कृपया यस्तो विपत्तिका बेला अपुष्ट सूचना नफैलाऔँ ।
अस्पतालदेखि डीएनएसम्म
बाढीमा घाइते भएकाहरूलाई उद्धार गरेर काठमाडौं ल्याउन थालिएको खबर आउन थालेपछि हाम्रो खोजी अस्पतालतिर मोडियो ।
एकपछि अर्को अस्पतालमा बुझ्न थाल्यौँ । कतै उहाँहरू घाइते अवस्थामा ल्याइएको खबर पो छ कि ?
तर कुनै अस्पतालबाट सकारात्मक खबर आएन । त्यसपछि सरकारले पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि आफन्तहरूको नमुना मागेपछि उहाँहरूका छोराले पनि रगतको नमुना दिए ।
तर त्यसको नतिजा कहिले आउँछ भन्ने निश्चित थिएन ।
बाढीले कति ठूलो विनाश निम्त्याएको थियो भन्ने कुरा विस्तारै खुल्दै थियो । यति ठूलो मानवीय क्षति होला भन्ने कुरा हाम्रो कल्पनाभन्दा पनि बाहिर थियो ।
समय बित्दै गयो । खोजीको सम्भावना क्षीण हुँदै गयो । अन्ततः आफन्तहरूसँगको सल्लाहपछि हामी एउटा कठोर निर्णयमा पुग्यौँ । उहाँहरूको काजक्रिया र अन्तिम संस्कार गर्ने । तर उहाँहरूको शव हामीसँग थिएन ।
त्यसैले कुशको शव बनाएर रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्यौँ । आफन्तहरू भेला भए । संस्कार पूरा भयो ।
भदौ २२ गते, सोमबार १३औँ दिनको पितृकार्य पनि सम्पन्न गर्यौँ ।
त्यही दिन सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाएको थियो ।
त्रिशूलीसँगै हराएको त्यो हाँसो
मेरा आमाबुवासमान सासूआमा र ससुराको हँसिलो अनुहार अब सम्झनामा मात्रै बाँकी छ । उहाँहरू कहाँ छन्, कसरी हराउनुभयो—यसको जवाफ हामीसँग अझै छैन ।
तर एउटा कुरा थाहा छ । उहाँहरूको जीवन अब त्रिशूलीको उर्लंदो पानीसँगै इतिहास बनेको छ । यो पिडा मेरो परिवारको मात्रै होइन । हजारौँ परिवारले आफ्ना आमाबुवा गुमाएका छन् । कसैले छोरा गुमाएको छ । कसैले छोरी । कसैले जीवनसाथी । कसैले आफ्नो सबैभन्दा प्रिय मान्छे ।
प्राकृतिक विपत्तिले घर, सम्पत्ति र बाटो मात्रै बगाउँदैन रहेछ । यसले परिवारका सपना, सम्बन्ध र सम्झनासमेत बगाएर लैजाँदो रहेछ ।
र बाँचेका मानिसहरूलाई भने एउटा प्रश्नसँग छाडेर जान्छ – अब कसरी बाँच्ने ?
यो राष्ट्रिय शोकको घडीमा बाढी प्रभावित सबै परिवारप्रति मेरो गहिरो समवेदना छ । मृतकका आफन्तलाई यो पीडा सहन सक्ने शक्ति मिलोस् । अझै सम्पर्कविहीन रहेकाहरूको शीघ्र खोजी होस् । उनीहरू सकुशल भेटिऊन् भन्ने कामना छ ।
तर यो सबैपछि मेरो मनमा एउटा प्रश्न भने निरन्तर खट्किरहेको छ – के हामी यो विनाशबाट पाठ सिक्छौँ ?
किनकि यस्तो विनाश पहिलोपटक भएको होइन । र सम्भवतः अन्तिमपटक पनि होइन ।
विगतमा पनि विपत्ति आउँदा हामी आत्तियौँ । राहत र उद्धारमा जुट्यौँ । आँसु बगायौँ । केही समयपछि विस्तारै सबै सामान्य भयो । हामीले बिर्सियौँ । तर विपत्तिले हामीलाई बिर्सेको हुँदैन । प्रकृतिले फेरि प्रश्न सोध्नेछ ।
त्यसअघि हामीले आफूलाई सोध्नुपर्नेछ – अर्को बाढी आउनुअघि के हामीले आजको बाढीबाट साँच्चै केही सिक्यौँ ?
प्रतिक्रिया 4