+
+
Shares
सन्दर्भ बीपी जयन्ती :

बीपी चिन्तन, जेनजी र नेपाली लोकतन्त्र

जेनजी युवाहरूले सत्ता विप्लव वा व्यवस्था परिवर्तनका लागि आह्वान गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार, कुशासन, सेवा प्रवाहमा हुने ढिलासुस्तीको विरोध गरेर एक्काइसौं शताब्दी सुहाउँदो सुसंस्कृत लोकतन्त्रका लागि आह्वान गरेका थिए। तर त्यो प्रदर्शन उनीहरूको नियन्त्रणबाहिर गयो र अपहरणकारीहरूको हातमा पुग्यो। ती अपहरणकारीहरू खासमा लोकतन्त्रका जल्लादहरू थिए।

शंकर तिवारी शंकर तिवारी
२०८३ भदौ २४ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत वर्ष भदौ २४ मा जेनजी प्रदर्शन अराजकतामा बदलिँदा सिंहदरबार, सर्वोच्च अदालत, संसद्, मन्त्रालय र पार्टी कार्यालयहरू व्यापक रूपमा ध्वस्त भएका थिए।
  • लेखले आन्दोलन आह्वानकर्ताको नियन्त्रणबाहिर जानुहुँदैन र अराजकता, ध्वंस तथा हिंसाबाट लोकतन्त्र कमजोर हुने बीपी कोइरालाका पाठहरू स्मरण गराएको छ।
  • नेपाली कांग्रेस विशेष महाधिवेशनपछि उडान भर्न तरखर गर्दा पनि रनवेमा अलमलिएको र पार्टी नेतृत्वले ऐतिहासिक पाठहरू हृदयङ्गम गर्दै अगाडि बढ्नुपर्ने लेखमा भनिएको छ।

आज ११३औं बीपी जयन्ती अर्थात् नेपाली लोकतन्त्रका उन्नयक बीपी कोइरालालाई सम्झिने र उनका जीवनकार्यहरूको मीमांसा गर्दै नेपाली लोकतन्त्रको राजमार्गमा देखापरेका बाधा–व्यवधानहरूलाई छिचोल्दै कसरी अगाडि बढ्ने भनेर विमर्श गर्ने दिन। यो आलेखमा बीपी विचारको आलोकमा गत वर्ष भएको जेनजी उथलपुथल, त्यसले नेपाली लोकतन्त्रमा पारेको प्रभाव र नेपाली कांग्रेसको आन्तरिक राजनीतिका बारेमा सङ्क्षिप्त विवेचना गर्ने कोसिस गरिन्छ।

भदौ २४, २०८२ : अराजकताको उधुम उत्कर्ष

गत वर्ष अर्थात् २०८२ भदौ २४ गते आधुनिक राज्य व्यवस्थाका इमारत मानिने एक–एक प्रतीकहरू केन्द्रदेखि गाउँसम्म प्रदर्शनकारीहरूको निशाना बनेका थिए। अराजकताले नेटो काटेको थियो। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, सार्वभौम संसद्, मन्त्रालयहरू, प्रदेश सरकारका कार्यालयहरू र पालिकाका भवनहरू व्यापक मात्रामा ध्वंसको सिकार बने। त्यतिले मात्र नपुगेर पार्टी कार्यालयहरू जलाइए। नेताहरूका निवासमाथि आक्रमण गरियो। व्यावसायिक प्रतिष्ठानहरू नष्ट गरिए।

विराटनगरस्थित कोइराला निवास, काठमाडौं चाक्सीबारीमा रहेको गणेशमान सिंह निवास, ललितपुर बाँडेगाउँमा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम सबै–सबै तहसनहस पारिए। लोकतन्त्रका लागि जीवन आहुति गरेका असङ्ख्य नेताहरूका अनेकन नगरहरूमा निर्मित प्रतिमा/सालिक तोडफोड गरिए। अराजकतावादका प्रणेता मानिने चिन्तक पिटर क्रप्टकिनसमेत अराजकताको उधुम देखेर तर्सिने अवस्था थियो।

एक्काइसौं शताब्दीमा युवाहरूले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनले यस्तो हिंस्रक र अराजक रूप कहीँ पनि लिएको थिएन। नेपाली माटोमा विगतमा कुनै पनि क्रान्ति, आन्दोलन वा विद्रोह हुँदा यस्तो कहिल्यै भएको थिएन। ऐतिहासिक सम्पदा, भवन र इमारतहरूमाथि प्रहार गर्नु भनेको त्यो देशको आत्मामाथिको प्रहार हो।

त्यसले एउटा लोकतान्त्रिक दिमागमा, एउटा लोकतान्त्रिक नागरिकको मनोविज्ञानमा पर्ने प्रभाव विकराल हुन्छ। त्यो आघातलाई कम गर्न मनोसामाजिक परामर्श मात्र पर्याप्त हुन्न। लोकतन्त्रको मनोसामाजिक परामर्श त झन् त्यति सहज विषय पनि होइन।

प्रदर्शनको अपहरण र दण्डहीनता

जेनजी युवाहरूले सत्ता विप्लवका लागि वा व्यवस्था परिवर्तनका लागि आह्वान गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार, कुशासन, सेवा प्रवाहमा हुने ढिलासुस्ती, यस्तै–यस्तै कुराको विरोध गरेर एक्काइसौं शताब्दी सुहाउँदो सुसंस्कृत लोकतन्त्रका लागि आह्वान गरेका थिए।

त्यो प्रदर्शनले प्रदर्शनकारीहरूको अपेक्षाविपरीत राज्यविहीनताको अवस्थामा पुर्‍याइदियो। त्यो प्रदर्शन प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर पुग्यो र अपहरणकारीहरूको हातमा पुग्यो। ती अपहरणकारीहरू खासमा लोकतन्त्रका जल्लादहरू थिए। तिनीहरूले नेपाली लोकतन्त्रले निर्माण गरेका एक–एक संस्थाहरूमाथि धावा बोले। आज त्यो घटना भएको एक वर्ष बितिसक्दा पनि विध्वंसकारीहरू कानुनी दायरामा आएका छैनन्।

कुनै पनि राष्ट्रभक्त देशप्रेमी नागरिकले त्यसको अंशियार बन्न सुहाउँदैनथ्यो। अदना, निर्बोध जेनजीहरू आफ्नै स्वतन्त्रता अराजकताको बलिवेदीमा चढाउन अभिशप्त बनेका थिए। इरानमा सन् १९७० को दशकमा भएको आन्दोलनले स्वस्थ लोकतन्त्रलाई धार्मिक कट्टरताको चङ्गुलमा बुझाएको थियो। आज पनि इरान त्यसबाट मुक्त हुन सकेको छैन।

बीपीको राजनीतिक व्यक्तित्वका सङ्घटक तत्त्व

नेपाली राजनीतिमा बरद हस्तक्षेप गर्ने हेतुले वि.सं. २००३ सालमा जारी गरिएको पहिलो वक्तव्य ‘सङ्गठन निर्माणको आह्वान’ देखि २०३९ सालमा दिएको ‘अन्तिम सन्देश’ का बीचको अवधिका ३६ वर्ष वा झन्डै ४ दशकमा बीपी कोइरालाले अनेकन क्रान्ति र आन्दोलनको आह्वान र नेतृत्व गर्नुभयो। ती शान्तिपूर्ण पनि थिए, सशस्त्र पनि थिए। सशस्त्र आन्दोलन भनेर अराजकता र नाजायज हिंसा गर्ने छुट ती आन्दोलनका कर्ताहरूलाई दिइएको थिएन।

त्यो सबै किन सम्भव भएको थियो भन्दा बीपी कोइरालाले भारतीय स्वतन्त्रता सङ्ग्रामलाई आफ्नो बाल्यकालदेखि नजिकबाट नियालेर हेरेका थिए, ती आन्दोलनहरूमा सरिक भएर त्यसको भोक्ता हुँदै कर्ता बनेका थिए। ती आन्दोलनका सर्वोच्च नेता महात्मा गान्धी थिए। तिनै महात्मा गान्धीको आह्वानमा उनले बाल्यवयमै अङ्ग्रेजहरूले चलाएको विद्यालय बहिष्कार अभियानमा स्वतःस्फूर्त भाग लिएका थिए।

एउटा स्वस्थ र सुदीर्घ राजनीतिक जीवनका लागि आवश्यक पर्ने सङ्घटक तत्त्वहरूको निर्माणका लागि आवश्यक प्रशिक्षण उनलाई प्रारब्ध वा नियतिले नै दिलाएको थियो।

बीपीको जीवनभोगाइबाट आज कुनै पनि राजनीतिक वा सामाजिक आन्दोलन वा प्रदर्शन गर्न चाहनेहरूले सिक्नुपर्ने मूलभूत पाठहरू यी हुन सक्छन्-

पहिलो : कुनै पनि आन्दोलन वा प्रदर्शन आन्दोलनकारीले आफ्नो बुताबाट गर्नुपर्छ।
दोस्रो : आन्दोलन वा प्रदर्शन आह्वानकर्ताको सम्पूर्ण नियन्त्रणमा हुनुपर्छ। आफ्नो नियन्त्रणबाट बाहिर जाने अवस्थामा आन्दोलन आह्वान गरिनुहुन्न। आन्दोलन नियन्त्रणबाहिर गएको सङ्केत प्राप्त हुनासाथ आन्दोलन तत्काल स्थगित गरिनुपर्छ।
तेस्रो : आन्दोलन अराजकताको हेतु वा कारक बन्नुहुन्न।
चौथो : आन्दोलनकारीले आफ्नो क्षमतासँगै सीमितता समेत बुझेको हुनुपर्छ।

यी चार पाठमा एउटै दर्शन, एउटै बीज तत्त्व सन्निहित भएको पाइन्छ। त्यो हो— आन्दोलनकारी, आन्दोलन र त्यो आन्दोलनबाट लाभान्वित हुने र प्रभावित हुने सबै पक्षका प्रति बराबर जिम्मेवार र जवाफदेही हुनुपर्छ। जिम्मेवारी र जवाफदेहीविनाको आन्दोलन— अराजकता, ध्वंस, हिंसाको दलदलमा पुगेर लफङ्गागिरीमा परिणत हुन्छ।

भदौ २४ को अराजकताको नग्न नृत्यले झन्डै लोकतन्त्रको मृत्युलीला बन्न पुगेको थियो। त्यो गणतन्त्र नेपालमाथिको निर्मम प्रहार थियो। नेपाललाई एक स्वतन्त्र राष्ट्रका रूपमा नष्ट गर्न, विलुप्त पार्न चाहनेहरूको शकुनि पासा थियो। त्यो शकुनि पासाको मण्डप तयार पारिदिएको अवगालबाट जेनजी पुस्तालाई निस्कन सहज छैन।

अल्बर्ट कामुको ‘विद्रोह’ दर्शन

बीपी कोइरालाको प्रिय पुस्तकमध्ये एक थियो- अल्बर्ट कामुले लेखेको ‘द रिबेल’ । कति प्रिय भन्दा बीपीले जेलमा बस्दा त्यो पुस्तक अनुवादसमेत गरेका थिए तर त्यो अनूदित कृति अहिलेसम्म प्रकाशित हुन पाएको छैन।

खैर जे होस्, ‘द रिबेल’ मा अल्बर्ट कामु भन्छन्- ‘आन्दोलनकारीले आन्दोलन गर्दा आन्दोलन गरिरहेका बखतमा प्राप्त संवैधानिक र मौलिक अधिकारहरू आन्दोलन सकिएको बखतमा अझ विस्तारित हुन्छन् कि सङ्कुचित हुन्छन्, त्यसमा ध्यान पुर्‍याउनुपर्छ। सुझबुझपूर्वक आन्दोलन नगर्दा धेरै ठाउँमा आन्दोलनकारीहरूले आन्दोलन सकिँदा पूर्ववत् प्राप्त अधिकार खुम्चिएको पाउने उनको ठोकुवा छ।’

तसर्थ आन्दोलनको मनस्थितिमा रहेको वा विद्रोह गर्न चाहने जोकोहीले परिस्थितिको ठीकठाक आकलन गर्नुपर्छ भन्ने ठहर कामुको थियो। आज प्रधानमन्त्री बनेका जेनजी आन्दोलनका अग्रणी मतियार बालेन शाह हिजोका प्रधानमन्त्री केपी ओलीको चरित्रभन्दा कति फरक बनेका छन्, जेनजी पुस्ता गम खाने अवस्थामा छ।

बीपी कोइरालालाई राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केका दिनहरूमा जेलबाट रिहाइपश्चात् जनमतसङ्ग्रहको दरमियानमा कुनै एजेन्सीका प्रतिनिधिले राष्ट्रपति बन्ने प्रस्ताव गरेका थिए। बीपीले सुझबुझपूर्वक ती मानिससँग केही समय माग्नुभयो र त्यो प्रस्ताव अस्वीकार गरिदिनुभयो।

त्यो सबै कुराको चाल पाएका र राष्ट्रपति बन्ने दुर्लभ अवसरलाई इन्कार गर्ने बीपीलाई कार्यकर्ताले आश्चर्यचकित हुँदै प्रश्न गर्दा बीपीको उत्तर थियो- ‘यति लामो इतिहास भएको राजसंस्थालाई निमेषभरमै खतम गर्न सक्छु भन्ने आँट भएको त्यो तागतले, त्यो शक्तिले उसका लागि मेरो प्रयोजन सकिएका बखत हठात् चमेरोझैं फ्याँक्न सक्छ। क्षणिक लाभ देखेर हौसिनुको कुनै अर्थ छैन। मेरो काम लोकतन्त्रको जग बलियो बनाउने र लोकतान्त्रिक संस्थाहरूको निर्माण र सबलीकरण गर्ने हो।’

दोस्रो कुरा- ‘मैले त्यो प्रस्तावलाई किन समय लिएर इन्कार गरेँ भन्दा, यदि मैले तत्क्षण उसलाई त्यो प्रस्ताव इन्कार गरेको सन्देश दिएको भए उसले त्यो योजना अरू कसैबाट लागू गराउने कोसिस गर्न सक्थ्यो। समय गुज्रेपछि उसँग त्यो सुविधा पनि रहेन।’

‘स्थितप्रज्ञ’ लोकतान्त्रिक चरित्र

एउटा लोकतान्त्रिक सम्बलले प्रयुक्त व्यक्तित्व लोकतन्त्रका हकमा स्थितप्रज्ञ हुन्छ। गीता दर्शनको दोस्रो अध्यायमा स्थितप्रज्ञ व्यक्तित्वका चरित्रको विशद वर्णन गरिएको छ। ऊ पद पाउँदा हौसिने, मातिने र पद नहुँदा अधैर्य, निराश, थकित र गलित हुँदैन।

लोकतन्त्र चौबीसै घण्टा पहरेदारी गर्नुपर्ने व्यवस्था भएकाले नागरिकहरूलाई लोकतान्त्रिक जीवनपद्धतिमा अभ्यस्त बनाउन सक्नुमा नै लोकतन्त्रको सफलता सन्निहित हुन्छ। ऊ आफ्नो कर्तव्यबाट विचलित हुँदैन।

बीपी कोइराला लोकतन्त्रका त्यस्तै एक अविचलित योद्धा र पथप्रदर्शक थिए। उनले कुनै पनि उकाली वा ओराली, आरोह वा अवरोहमा आफ्नो कर्तव्यबाट च्युत हुने कार्य गरेनन्। त्यसकारण उनी नेपाली जनजन, मनमनमा लोकतन्त्रका आदि प्रेरणा पुरुष बनेका हुन्।

आफूले लिएका निर्णय र त्यो निर्णयबाट सिर्जित परिस्थितिका लागि आफैं जवाफदेही रहन्छु भन्ने बुझेर बीपीले जहिले पनि कानुनी राजअन्तर्गत आफ्ना कुराको बहस र पैरवी गर्ने कुरा, अदालतको सामना गर्ने विधिबाट कहिल्यै पनि विरत हुनुभएन। उहाँलाई अदालत संस्थाप्रति ठूलो भरोसा थियो। उहाँको त्यही अटल विश्वासले गर्दा अदालतले उहाँलाई अराष्ट्रिय तत्त्व, राजद्रोहीको अभियोगबाट सफाइ दिएर क्रान्तिकारी र देशभक्तको प्रमाणसमेत दिएको थियो। राजाको अभियोग निस्तेज भएको थियो।

विद्यार्थी आन्दोलनको मोडालिटीका बारेमा नेपाली कांग्रेसको भ्रातृ संस्थाका अध्यक्षसँग उहाँको सवाल–जवाफ भएको थियो। बलबहादुर केसी विद्यार्थी नेता थिए। बीपी कोइरालाले आन्दोलनमा घुसपैठ हुने आशङ्काले आन्दोलनका बारेमा सकारात्मक धारणा दिनुभएको थिएन। तर पनि बलबहादुर केसीले आन्दोलनको नेतृत्व लिए।

विद्यार्थीका माग पूरा भएर सन्तोषको सास फेर्न नपाउँदै बलबहादुर केसी, अखिलका नेता शरणविक्रम मल्ललगायतलाई कालोमोसो दलेर ठेलामा सहर परिक्रमा गराइयो। बीपीको आशङ्का हप्ताभरमै प्रमाणित भएको थियो।

२०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहको आन्दोलन चलिरहँदा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बम विस्फोट भएपछि नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले तत्काल सत्याग्रहको कार्यक्रम स्थगित गर्नुभएको थियो। यस्ता अनेकन उदाहरण नेपाली कांग्रेसको जीवनबाट लिन सकिन्छ।

भद्रकाली मुख्यालयको इसारा पर्खने सिंहदरबार

आज जेनजीले आफ्ना बुताभन्दा पर कसैको कठपुतली बनेर गरेको आन्दोलनको परिणति सिंहदरबार सैनिक मुख्यालय भद्रकालीसँग खुसामद गरिरहेको, निर्देशन पर्खिरहेको देखिन्छ। २०४७ सालको अन्तरिम सरकारको नेतृत्व गरेका कृष्णप्रसाद भट्टराईलाई भद्रकालीका जर्नेलहरूले बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा गएर अर्ती–उपदेश दिँदै निर्माणाधीन संविधानका अन्तरवस्तुहरूमा हस्तक्षेप गर्न खोज्दा/कोसिस गर्दा किसुनजीले उनीहरूलाई- ‘सेनाले लोकतन्त्र चलाउने होइन, सेना नागरिक नेतृत्वको अधीनमा हुनुपर्छ’ भनेर ऐतिहासिक पाठ पढाएर फर्काइदिनुभएको थियो।

०६२/६३ को जनआन्दोलनपछि पनि सेना नागरिक सरकारको नियन्त्रणमै थियो। तर २०८२ को जेनजी उथलपुथलपछि सिंहदरबारको लगाम भद्रकाली ‘फौजीतन्त्र’ को छायाबाट मुक्त हुन सकेको छैन।

सुरुमै चर्चा गरिएको बीपीको प्रिय लेखक कामुको ‘द रिबेल’ पुस्तकको प्रसङ्ग यहाँनिर समीचीन हुन पुग्छ- नागरिक शासनको प्रतीक सिंहदरबारले जेनजी प्रदर्शनपछि पूर्ववत् अधिकार गुमाएको छ। जहाँ आन्दोलनकारीले पूर्ववत् अधिकारसमेत गुमाउँछन्, त्यो आन्दोलन क्रान्ति हुँदैन, अरू केही हुन्छ अर्थात् भ्रान्ति बन्न पुग्छ। यदि बालेन शाह जेनजीका असली प्रतीक हुन्थे भने उनलाई यो कुरा किमार्थ पनि स्वीकार्य हुने थिएन।

सामाजिक सञ्जाल, एल्गोरिदमले लोकतान्त्रिक व्यक्तित्वको निर्माण गरेको रेकर्ड छैन। त्यसका लागि अझै धेरै समय लाग्ने देखिन्छ। नेपालका नवयुवक र तरुणहरू त्यो लामो प्रतीक्षाका लागि तयार देखिँदैनन्। कथित धर्मगुरुहरू जेनजी सहिदहरूको सम्मानमा आयोजित सरकारी कार्यक्रमका अतिथि बनाइन पुगेका छन्।

ती धर्मगुरुको चयन हेर्दा समाजमा असल संस्कार प्रवर्द्धन गर्नेभन्दा नकारात्मक चिन्तन प्रवाह गर्नेमा उनीहरूको ख्याति ज्यादा देखिन्छ। राजनीतिमा धर्मको स्थान हुन्छ तर त्यो धर्म अध्यात्मबाट निर्देशित हुनुपर्छ। अध्यात्मको अनुशीलन नभएका धार्मिकहरूले राजनीतिलाई प्रदूषित र कलुषित मात्र गर्छन्।

दलतन्त्रबाट मुक्ति, ‘फौजीतन्त्र’ को सहारा

आज जेनजी उथलपुथलको वर्षगाँठमा नेपाली लोकतन्त्रको अवस्था के छ, नागरिक सर्वोच्चताको अभ्यास कति भएको छ, नागरिकहरूको जीवनमा अमनचयन कायम हुन पुगेको छ कि छैन, सार्वजनिक बहसको विषय बनेका छन्। ६ महिनादेखि खाना पकाउने ग्यासको सहज आपूर्ति नभएर नागरिकको जीवन कष्टकर बनेको छ। उद्यमी र उद्योगीहरू लगानी गर्न, नयाँ–नयाँ उद्यम गर्न उत्साह र उमङ्गको वातावरण महसुस गर्न सकिरहेका छैनन्।

जलवायु सङ्कटले सिर्जित भोटेकोसीको महाप्रलयले आपत्कालको अवस्था छ। प्रधानमन्त्री नागरिकसँग संवादमा देखिँदैनन्। अरूको कुरा धैर्यपूर्वक सुन्दैनन्। ‘दलतन्त्र’ बन्यो भनेर सुधारको प्रयत्न गरिएको लोकतन्त्र ‘फौजीतन्त्र’ बन्ने खतराबाट मुक्त भएको छैन।

अति दक्षिणपन्थी शक्तिका रूपमा संसद्मा वर्चस्व जमाएको रास्वपा अधिवेशन गरेरसमेत दलको आकार ग्रहण गर्न सकेको छैन। प्रधानमन्त्री संसदीय दलको अधीनमा छैनन्। रवि लामिछाने पनि मतदातासँग खुलेर संवाद गर्न सकेको देखिँदैन। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर गति लिन खोजेको नेपाली कांग्रेसले उडान भर्न सकेको छैन।

उडानका लागि पन्ध्रौं महाधिवेशनको प्रतीक्षा गर्नुपरेको छ। मधेसका दलहरू अर्थात् क्षेत्रीय शक्तिहरू तिलमिलाएको अवस्था छ। एमालेका हकमा केपी ओलीको प्रहसन जारी छ। प्रचण्ड छटपटी कायम छ। हर्कवादको धङ्धङ्गीमा श्रमसंस्कृति जरा गाड्न खोज्दै छ। अधीर नागरिकहरू जुनसुकै मागका लागि आत्मदाहको अतिवादी बाटो रोजिरहेका देखिन्छन्।

वैश्विक लोकतन्त्रको भयानक सन्धिकाल

पुरानाहरू सामयिक बन्न सङ्घर्षरत छन्। नयाँहरूले ठोस आकार ग्रहण गरेका छैनन्। वैश्विक लोकतन्त्र एउटा भयानक सन्धिकालमा उभिएको छ। त्यसबाट नेपाली लोकतन्त्रसमेत अछुतो छैन। लोकतन्त्रमा भइरहेको क्षय/व्याघातका लागि नयाँ–नयाँ नामहरू, नयाँ–नयाँ उपमाहरू राजनीतिशास्त्रीहरूले/बौद्धिकहरूले दिइरहेका छन्। लोकतन्त्रको ओरालो यात्राले आफ्नो खास पदावली ठम्याउन सकेको छैन।

हन्टिङ्टनले दिएको लोकतन्त्रको पहिलो लहर, दोस्रो लहर, तेस्रो लहर अब कतिऔं लहरमा पुगेको हो, त्यसको प्रतिलहर कसरी आउने हो, लोकतन्त्रका अनुगामीहरू अन्योलमा छन्। ९० को दशकमा अर्थात् प्रजातन्त्रको तेस्रो लहरलाई ‘इतिहासको अन्त्य’ को उपमा दिएका फुकुयामा पछिल्लो दशक आइडेन्टिटी, लिबरलिज्म एन्ड इट्स डिस्न्टेन्ट्स हुँदै ‘इन द रियलम अफ लास्ट म्यान’ को तत्त्वचिन्तनमा घोत्लिएका छन्।

यस्तोमा नेपाली लोकतन्त्रलेसमेत नयाँ राह अर्थात् बाटो देखाउनुपर्नेछ। बीपी कोइरालाको शेषपछि लोकतन्त्रको नेपाली विशेषतामा चिन्तन गरेका प्रदीप गिरि, देवेन्द्रराज पाण्डेलगायत हाम्रा माझ छैनन्। लोकचिन्तक चन्द्रकिशोरले वर्तमान नेपाली लोकतन्त्रलाई ‘डिपार्चर डेमोक्रेसी’ को सङ्ज्ञा दिएका छन् र उनले बालेन सरकारलाई ‘डोपामिन सरकार’ भनेका छन्। दलको आन्तरिक लोकतन्त्र स्वस्थ, मजबुत गराउन पार्टीभित्र र बाहिर पनि प्रभावकारी रूपमा आवाज उठाइरहेका गगन थापा त्यो अभियानमा कति सफल हुन्छन्, चासोको विषय बनेको छ। जेनजीले आफ्नो पुस्ताको चिन्तक वा दार्शनिक भेटेको छैन। रक्षा बम, तनुजा पाण्डेहरू त्यो दिशामा केही झिल्को देखाइरहेका छन्।

अति दक्षिणपन्थीका लागि सरकार साधन हुन्छ, साध्य हुँदैन। लोकतन्त्र उसको लागि जीवनमरणको विषय हुँदैन, प्रदर्शनी वा देखावाको माध्यम मात्र हुन्छ। नेपाली लोकतन्त्रको पछिल्लो सन्धिकालको सरकारी कमान्ड सम्हालेकी न्यायमूर्ति सुशीला कार्कीलेसमेत ‘दुईतिहाइको सरकार भए पनि नागरिक सन्तुष्ट नहुँदासम्म केही नहुने’ चेतावनीको भाषा बोलेकी छन्। त्यसको सोझो अर्थ हो- नयाँ सरकारले नागरिकमा सन्तोष सिर्जना गरेको छैन।

इतिहासको आप्तवचन र ‘रनवे’ मै अलमलिएको कांग्रेस

बीपी कोइरालाले हिन्दुस्तानको राजनीतिमा संलग्न भएर सिकेका पाठ र नेपाली राजनीतिको नेतृत्व गरेर सिकेका पाठहरू आज लोकतन्त्र उन्नयनका लागि जबरजस्त आप्तवचन बन्न पुगेका छन्। तर ती सिकाइहरूलाई लोकमाझ पुर्‍याउने जिम्मा बीपीले निर्माण गरेको लोकतन्त्रको हतियार नेपाली कांग्रेस र त्यसको नेतृत्वको काँधमा छ। विशेष महाधिवेशनपछि उडान भर्नका लागि तरखर गरेको कांग्रेस ‘रनवे’ मा अनावश्यक अलमलिएको छ। त्यो अलमल कांग्रेस र नेपाली लोकतन्त्रका लागि निको सङ्केत होइन।

बीपी कोइरालाले ‘जेल जर्नल’ मा भनेजस्तै- ‘एउटा राजनीतिक संस्थामा, त्यसको सिद्धान्त, त्यसका सदस्यहरूको आचरण र कार्यक्षमता, त्यसले जनताबाट प्राप्त गर्न सकेको विश्वास (जुन विश्वास पनि समय–समयमा उसले लिएका समयोचित कदमहरूले विस्तार–बिस्तार निर्मित हुन्छ), त्यसका नेताहरूको क्षमता र इमानदारी आदि कुराहरूबाट जीवन स्पन्दन हुन्छ।’

नेपाली कांग्रेसले आसन्न पन्ध्रौं महाधिवेशनबाट पार्टी जीवनमा स्पन्दन पैदा गर्न सक्नुपर्छ। कांग्रेसको नयाँ नेतृत्वको क्षमता र इमानदारीमा कुनै प्रश्न छैन। यति हो- समय र परिस्थितिको तकाजा नबुझीकन मनोगत चाहनामा रमाउनेहरूबाट कांग्रेसको नयाँ नेतृत्व मुक्त भने हुनैपर्छ।

कांग्रेसले आफ्नो स्थापनाकालदेखि जहिले पनि आफूलाई सामयिक गराउने कुरामा कुनै कसर बाँकी राखेको छैन र प्रत्येक आघात र व्याघातपछि राष्ट्रिय शक्तिका रूपमा पुनः उठेको छ, राष्ट्रलाई जोडेको छ। कांग्रेस सभापति गगन थापाको हुटहुटी र उत्प्रेरणामा कुनै शङ्का छैन। नागरिकहरूसँग संवाद गर्न सक्ने उनको शैली परखयोग्य छ। विशेष अधिवेशनबाट पार्टीको कमान्ड सम्हालेका उनले कांग्रेसको राष्ट्रिय शक्तिको चरित्रमा नयाँ इँटा थप्दा विवेक र निष्ठापूर्वक, ऐतिहासिक पाठहरू हृदयङ्गम गर्दै अन्तर्मनको आवाजसमेत सुन्दै अगाडि बढ्नुपर्छ।

लेखक
शंकर तिवारी

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी राजनीतिक विश्लेषक तथा लेखक हुन्। उनको लेखन तथा सम्पादनमा ‘ कसले सुधार्छ कांग्रेस ? ‘लगायत आधा दर्जन फुर्सद पुस्तक प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?