News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले मंगलबार बुढीगंगा नगरपालिका–६ मा बाटोमै बच्चा जन्माएकी छिन्।
- सुत्केरी व्यथा लागेकी कमलालाई स्थानीयको खबरपछि स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै प्रसूति सेवा दिँदै सालनाल व्यवस्थापन गरेको हो।
- स्वास्थ्यकर्मीका अनुसार आमा र बच्चा दुवैलाई बाजुरा स्वास्थ्य चौकी लगिएको छ र दुवैको अवस्था सामान्य छ।
२४ भदौ, बाजुरा । बाजुराको खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले बाटोमै बच्चा जन्माएकी छिन् ।
मंगलबार दिउँसो बुढीगंगा नगरपालिका–६, फालासैन बजारमाथिको बाटोमा सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी कमलालाई स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिएको हो ।
बाजुरा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ईश्वरी केसीका अनुसार कमलालाई सुत्केरी व्यथा लागेर बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । त्यसपछि बाजुरा स्वास्थ्य चौकी टाँटाका स्वास्थ्यकर्मी हस्त खडायत र ईश्वरी केसी तथा जिल्ला अस्पताल बाजुराकी नर्स निशा रोकायासहितको टोली घटनास्थल पुगेको थियो ।
नर्स रोकायाका अनुसार आफू पुग्दा कमला प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । नर्सको सहयोगमा केही समयमै उनले बच्चा जन्माइन् ।
स्वास्थ्यकर्मीले बाटोमै सालनाल व्यवस्थापन गरी आमा र बच्चालाई बाजुरा स्वास्थ्य चौकीमा लगेका थिए । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको सिनियर अनमी ईश्वरी केसीले बताइन् ।
कमला १९ भदौ कृष्ण जन्माष्टमीका दिन खप्तडछेडेदहबाट माइतीघर बडिमालिका नगरपालिका–६, कोर्ध गाउँ पुगेकी थिइन् । २२ भदौ राति माइतीघरमै उनलाई सुत्केरी व्यथा लाग्यो ।
विवाहित महिलाले माइतीघरमा बच्चा जन्मए देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण कमला स्वास्थ्य संस्था जानुको सट्टा आफ्नो घरतर्फ हिँडेकी थिइन् । माइतीबाट घरतर्फ आउँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी हुन् ।
स्वास्थ्यकर्मीका अनुसार कोर्ध गाउँबाट करिब एक घण्टाको दूरीमा जडाङ्गा स्वास्थ्य चौकी र दुई घण्टाको दूरीमा जिल्ला अस्पताल बाजुरा रहेको छ । तर अस्पताल जानुको सट्टा घरतर्फ हिँडेकी कमलाले करिब ७ घण्टापछि दिउँसो ३ बजे बुढीगंगा नगरपालिका क्षेत्रमा बाटोमै बच्चा जन्माएकी हुन् ।
प्रतिक्रिया 4