News Summary
Generated by OK AI. Editorially reviewed.- कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गका कारण काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्तिमा हिजोको तुलनामा आज सुधार आएको छ ।
- नेपाल आयल निगमका अनुसार आज २२ ग्यास उद्योगले ४६ हजार ९ सय ७६ सिलिन्डर डिलरहरूमार्फत बजारमा पठाएका छन् ।
- राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले त्रिभुवन राजपथ हुँदै ग्यास ल्याउनुपरेको र त्यसले मागअनुसार आपूर्ति सहज हुन नसकेको बताएका छन् ।
२४ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण प्रभावित बनेको संघीय राजधानी काठमाडौंको खाना पकाउने एलपी ग्यासको आपूर्तिमा हिजो मंगलबारको तुलनामा आज बुधबार सुधार आएको छ ।
नेपाल आयल निगमको एलपिजी विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा एकैदिन करिब ४७ हजार ग्यास सिलिन्डर बजारमा पुगेका छन्।
प्राप्त तथ्यांकअनुसार आज उपत्यकामा २२ वटा ग्यास उद्योगले कुल ४६ हजार ९ सय ७६ वटा ग्यास सिलिन्डर डिलरहरूमार्फत बजारीकरण गरेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ । हिजो मंगलबार काठमाडौं उपत्यकामा जम्मा ७ वटा ग्यास कम्पनीका १५ हजार ९ सय ९४ वटा सिलिन्डर मात्रै डिलरहरूसम्म पुगेका थिए ।
पहिरोले मुख्य राजमार्ग अवरुद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनुपरेको छ । यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
निगमको एलपिजी विभागको तथ्यांकअनुसार यस दिन सबैभन्दा बढी ग्यास श्री ग्यास उद्योग प्रालिले बजारमा पठाएको छ । श्री ग्यासले मात्रै झन्डै १० हजारको हाराहारी अर्थात् ९ हजार ८ सय ९९ वटा सिलिन्डर बजारीकरण गरेको छ ।
त्यसैगरी, दोस्रो सर्वाधिक ग्यास वितरण गर्नेमा नेपाल ग्यास रहेको छ, जसले ६ हजार ८ सय ७६ वटा सिलिन्डर बजारमा पठाएको छ ।
धेरै ग्यास पठाउने अन्य प्रमुख ब्रान्डहरूमा क्रमशः एभरेस्ट ग्यासले ३ हजार ९ सय ५३, सगरमाथा ग्यासले ३ हजार ३ सय ३८, ओम ग्यासले २ हजार ५ सय ६७, मेट्रो काठमाडौं ग्यासले २ हजार ४ सय ५८ र श्रीराम ग्यासले २ हजार १ सय ७० वटा सिलिन्डर बजारमा पठाएका छन् ।
कुल २२ वटा कम्पनीले ग्यास पठाएकोमा सबैभन्दा कम ग्यास भने मारुती ग्यासको आएको छ । मारुती ग्यासले जम्मा ३ सय १५ वटा सिलिन्डर मात्र बजारमा पठाएको छ ।
त्यस्तै, अत्यन्त न्यून मात्रामा ग्यास वितरण गर्ने अन्य कम्पनीहरूमा ग्यास वान नेपालले ३ सय ३८ र सूर्य ग्यासले ४ सय ३४ वटा सिलिन्डर मात्र बजारमा पठाएका छन् । यसैगरी, नमस्ते ग्यासले ५ सय, गिता ग्यासले ५ सय ४० र उग्रचण्डी ग्यासले ६ सय सिलिन्डर बजारीकरण गरेका छन् ।
बजारमा ग्यास पठाउने अन्य कम्पनीहरूमा हिमालय पेट्रोकेमिकल्स १ हजार ९ सय १, सुगम ग्यास १ हजार ८ सय ९०, गौरीशंकर ग्यास १ हजार ७ सय ८६, सीताश्री ग्यास १ हजार ६ सय ९५ र काब्सोन्स इन्डस्ट्रिज १ हजार ६ सय ६१ रहेका छन् ।
साथै, साईबाबा ग्यासले १ हजार ४ सय १०, भानु ग्यासले ९ सय ७१, श्रीकृष्ण ग्यासले ९ सय २४ र सिद्धार्थ ग्यासले ७ सय ५० वटा सिलिन्डर डिलरहरूसम्म पुर्याएका छन् ।
व्यवसायीहरूका अनुसार वैकल्पिक मार्ग (त्रिभुवन राजपथ) को प्रयोग चुनौतीपूर्ण भए पनि उपभोक्ताको अभाव र मागलाई मध्यनजर गर्दै उपत्यकामा ग्यास आपूर्तिलाई सकेसम्म सहज बनाउने निरन्तर प्रयास भइरहेको छ ।
प्रतिक्रिया 4