News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी सहिद दिवसको स्मृतिसभामा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई अतिथि बनाइएपछि चौतर्फी आलोचना भएको छ ।
- आयोजक जेनजी सहिद परिवार कल्याण समाजका सचिव रोशन गौतमले विवादित दुवैलाई आफूहरूले नै बोलाएको र पृष्ठभूमि नथाहा भएको बताए ।
- भण्डारी ठगी मुद्दा र आचार्य साम्प्रदायिकता भड्काउने तथा सार्वजनिक शान्तिविरुद्धका मुद्दामा पटकपटक विवादित बनेका पात्र हुन् ।
२५ भदौ, काठमाडौं । जेनजी सहिद दिवसको अवसरमा मङ्गलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा आयोजित स्मृतिसभामा दुई विवादित धर्मगुरु अतिथि बनेको विषय अहिले चौतर्फी आलोचनाको केन्द्रमा छ ।
जेनजी आन्दोलनको स्वामित्व ग्रहण गरेको रास्वपाकै नेता तथा सांसदले समेत प्रतिवाद गरेपछि यो मुद्दा अझै उछालिएको छ ।
जेनजी शहीद स्मृतिसभामा गृहमन्त्री सुदन गुरुङ प्रमुख अतिथिको भूमिकामा उपस्थित थिए भने कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, रास्वपा सांसदहरु, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललगायतको उपस्थिति थियो। जेनजी सहिदका परिवार तथा आफन्तहरू, जेनजी अगुवाहरूको पनि सहभागिता रह्यो।
सहिद परिवारका आफन्तदेखि जेनजी घाइते, मन्त्रीसम्म उपस्थित रहेको यो स्मृतिसभामा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यले राम्रो प्राथमिकता पाए।
आफूलाई धर्मगुरु भन्ने बालयोगेश्वर विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारी र अर्का श्रीनिवास आचार्य भनिने दिनेश पण्डितले जेनजी स्मृतिसभामा राम्रै मानमनितो र सत्कार पाए। उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्ने बेला सहयोगका हातसमेत बढाएका थिए।
मन्त्री र कतिपय भीआईपीहरूलाई समेत पछिल्लो पंक्तिमा पुर्याएर मञ्चको अघिल्लो पंक्तिमा गृहमन्त्रीसँग मञ्च शेयर गरेका श्रीनिवासले त आक्रामक भाषण नै दिए ।
उनले गृहमन्त्री गुरुङको महिमामण्डन गर्न कुनै कसर बाँकी छाडेनन् । बरु प्रधानमन्त्री वालेन्द्र शाहलाई चुनौती दिंदै सम्बोधन गरे । उनले बालेन नआएको विषयलाई आक्रामक आलोचना गरे ।
यी विवादित धर्मगुरुलाई जेनजी स्मृतिसभामा कसले रेड कार्पेट ओछ्याएर त्यहाँ पुर्यायो ? यसबारे सूचना पछ्याउँदै जाँदा उनीहरू आयोजककै निमन्त्रणामा मञ्चमा पुगेको देखिन्छ।

आयोजक संस्था जेनजी सहिद परिवार कल्याण समाजका सचिव रोशन गौतमले समेत यो विषय स्वीकार गरेका छन्। अनलाइनखबरसँग कुरा गर्दै सचिव गौतमले भने, ‘हामीले नै बोलाएका हौं।’
विवादित धर्मगुरुलाई किन बोलाइएको भन्नेबारे प्रश्न गर्दा उहाँहरूको पृष्ठभूमिबारे थाहा नभएको उनले बताए। ‘धर्मगुरु भनेपछि विवादमा परेको हुनुहोला भनेर हामीले सोचेनौं,’ गौतमको दाबी छ।
उनका अनुसार यो कार्यक्रमलाई राजनीतिबाट टाढा राख्न भन्दै सबै धार्मिक संस्था, राष्ट्रपति कार्यालयदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सर्वोच्च अदालत, सबै सुरक्षा निकायमा निमन्त्रणा गरिएको दाबी उनको छ।
तर गौतमले उक्त दाबी गरे पनि यी दुई धार्मिक गुरुबाहेक अन्य धर्मका धार्मिक गुरुहरू भने कोही पनि उपस्थित थिएनन्। तर उनी भने निमन्त्रणा पठाए पनि उनीहरू नआएको दाबी गर्छन्।
स्मृतिसभामा दुई धार्मिक गुरुले स्वस्तिशान्तिसमेत गरेका थिए। प्रमुख अतिथिहरू आउन ढिला भएकाले स्वस्तिशान्ति गरिएको र यो कुनै पूर्वनिर्धारित कार्यक्रम नभएको दाबी आयोजकको छ।
अझ पूर्वमन्त्री तथा सांसद, नेपाल प्रहरीका प्रमुख (आईजीपी)लाई पछि राखेर प्रमुख अतिथिसँगै धार्मिक गुरुहरूलाई राखिएको बारे प्रश्न गर्दा आयोजकले पहिल्यै आएकाहरू अगाडि बसेको प्रष्टीकरण दिएको छ ।
प्रतिनिधिमूलक ढंगले सम्बोधन गर्न दिने क्रममा श्रीनिवासलाई पनि पालो दिएको आयोजकको दाबी छ ।
विवादित विगत
जेनजी स्मृतिसभामा अतिथि बनेर पुगेका यी दुवैको विगत भने निकै विवादित छ। दुई वर्षअघि २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा एकल आयोजक थिए भण्डारी। त्यो कोटिहोममा उठेको पैसाको विषयलाई लिएर ठूलो विवाद उठेको थियो।
रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई समेत प्रवेश नदिई आक्रमण गरिएको भन्दै त्यतिबेला खुबै विरोध भएको थियो।
यसअघि पोखरामा भएको महायज्ञमा पनि ठूलो विवाद भयो। महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रूखबिरुवाका हाँगाबिँगा काटेपछि उनी विवादमा तानिएका थिए।
भण्डारीविरुद्ध त थुप्रै मुद्दासमेत चलेका थिए। १५ वर्षदेखि धर्मको आवरणमा सर्वसाधारणलाई ठग्दै आएका विजय भण्डारीले झन्डै एक दशकदेखि ठगी मुद्दा झेलिरहेका थिए। २०८१ कात्तिकमा पीडितहरूको रकम फिर्ता गरेर मिलापत्रमार्फत मुद्दा टुङ्ग्याएको थियो ।
भण्डारीविरुद्धको ठगी मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन थियो। ११ कात्तिक २०८१ मा उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा मिलापत्र भयो। उनी ठगिएकाहरूलाई रकम फिर्ता गर्न तयार भए, अनि पीडितहरूसँग मिलापत्र गर्ने वातावरण बन्यो।

गुल्मीको धुर्कोट स्थायी ठेगाना भएका भण्डारीले काठमाडौंमा ‘मानव कल्याण आध्यात्मिक परोपकार सङ्घ, नेपाल’ नामक संस्थाको आवरण गरेर ठगीधन्दा सुरु गरेका थिए।
उक्त संस्था गठन गरेर धार्मिक कार्यक्रमको आवरणमा ‘अमेरिका पठाइदिन्छु’ भनी उनले २०६८ सालदेखि नै विभिन्न व्यक्तिसँग रकम उठाएका थिए। कतिपयसँग एक लाख रुपैयाँका दरले बैना मागेका थिए भने कतिपयले १० लाख रुपैयाँसम्म दिएका थिए।
पीडितहरूको जाहेरीका आधारमा विष्णु भण्डारी, उनकी पत्नी सुलोचना भण्डारी, बागलुङका कमलनयन पौडेल भनिने कमल पौडेललगायतविरुद्ध जाहेरी परेको थियो।
२०६८ सालदेखि सुरु भएको यो ठगीधन्दा २०७१ सालमा विजय भण्डारी पक्राउ नपर्दासम्म जारी थियो। जाहेरीपछि अनुसन्धानका क्रममा प्रहरीले छाउनी हाउजिङभित्र विजय भण्डारी बस्ने घर नम्बर २१ मा छापा मार्यो। प्रहरीले उनी बस्ने घरबाट रजिस्टर, चेक, चन्दा रसिदलगायतका कागजात बरामद गरेको थियो।
उनले डाइनामिक डेरिमेरिम इन्भेस्टमेन्ट प्रालिका नाममा कम्पनी खोलेको भेटिएको थियो। प्रहरीले अरविन्द योग मन्दिरको नाममा रसिद प्याड र अरू कागजातलाई पनि ठगीको प्रमाण मानेको थियो।
काठमाडौं प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरी एक करोड २७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दासहित अदालतमा पेस गरेको थियो। उनले अदालतको बयानमा आफूले रकम लिएको स्वीकार गरे। आफूले लिएको सबै रकम दान भएको उनको जिकिर थियो।
काठमाडौंमा मुद्दा चलेपछि विष्णु भण्डारीले आफ्नो धन्दा रोकेनन्। उनले चैत २०७५ सालमा गुल्मी दरबार गाउँपालिका–४ वीरबासस्थित रुन्खादह माविको भवन निर्माण गर्ने भनी महायज्ञ सञ्चालन गरेका थिए। करिब ५० लाख रुपैयाँ सङ्कलन भएकोमा विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई उनी रकम बोकेर हिँडेका थिए।
भण्डारीविरुद्ध ठगीबाहेक वैदेशिक रोजगारीको कसुर गरेको आरोपमा अर्को मुद्दा पनि चलेको थियो। उनले धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनाबाट १२ लाख रुपैयाँ लिएका थिए। पछि रकम फिर्ता गरेनन्। ठगेको आरोपमा उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा चलेको थियो।
२७ जेठ २०७५ मा वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई डेढ वर्ष कैद र डेढ वर्ष जरिबानाको फैसला सुनायो। उनी २०६८, २०७१ र २०७६ सालमा गरी पटकपटक थुनामा परेका थिए। उनै विवादित पात्र भण्डारी अहिले जेनजी स्मृतिसभामा अतिथि बनेर पुगेका छन्।
उनीसँगै जेनजी स्मृतिसभामा पुगेका अर्का श्रीनिवास आचार्य भनिने दिनेश पण्डित पनि विवादित पात्र हुन्। कतिसम्म भने, आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिक हिंसा फैलाउनेसम्मको काम श्रीनिवासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यसपछि उनी पक्राउ परेका थिए।
यो घटना २०७५ सालको हो। आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिकता फैलाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङले श्रीनिवासलाई पक्राउ गरी मुद्दा चलाएको थियो। त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजानाको कसुरमा मुद्दा चलेको थियो।
त्यतिबेला मोरङका एसपी अरुण बिसी थिए। हिन्दु राष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफूमाथि गोली हान्न माधव चौधरीलाई लगाएको अनुसन्धानबाट खुलेको थियो। चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि यो रहस्य खुलेको थियो। त्यसपछि श्रीनिवास पक्राउ परेका थिए।
यो घटनापछि पनि श्रीनिवास पक्राउ पर्ने शृङ्खला भने रोकिएन। ‘गौहत्या गर्नेलाई हत्या गर्ने’ भन्दै उनले भाषण दिएका थिए। त्यसपछि २०८० असोजमा उनी सुनसरीमा पक्राउ परेका थिए। त्यतिबेला उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलेको थियो।
त्यसपछि छुटेका श्रीनिवास २०८० मङ्सिरमा पनि पक्राउ परे। दुर्गा प्रसाईंको नेतृत्वमा त्यतिबेला गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि श्रीनिवास पक्राउ परेका थिए।
प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित पुगेका उनले भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए। त्रिशूलसहित पुगेको उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि पक्राउ गरिएको हो।
गेरुवस्त्रमा त्रिशूलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो। त्यतिबेला पनि उनी छुटेका थिए। पटकपटक विवादमा पर्ने, पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका उनै दुई विवादास्पद पात्रहरू अहिले जेनजी स्मृतिसभामा मानसम्मानसहित मञ्चमा आसीन बने पनि सत्तारूढ रास्वपाका नेताहरूले नै प्रश्न उठाएका हुन् ।
प्रतिक्रिया 4