News Summary
Generated by OK AI. Editorially reviewed.- उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएकी छन्।
- नेपाली कांग्रेसका ३८ प्रतिनिधिसभा र २४ राष्ट्रिय सभा सांसदले तलबबाट बाढीपीडितलाई सहयोग गर्न संसद् सचिवालयलाई पत्र लेखेका छन्।
- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पनि बाढीपीडितका लागि १५ दिनको तलब, र नेकपाले स्वकीयको १५ दिनको तलबसमेत सहयोग गर्ने उल्लेख गरेका छन्।
२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन् ।
उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई भनेकी हुन् ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्म गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका छन् ।
यसमा नेपाली कांग्रेसका प्रतिनिधिसभा तर्फका ३८ जना र राष्ट्रिय सभातर्फका २४ जना सांसद रहेका छन् ।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । साथै कांग्रेसका सांसदहरू गंगालक्ष्मी अवाल, रुक्मिणी देवी कोइराला प्रकाश सिंह कार्की र मोहन आचार्यले एक/एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
कांग्रेसका सांसद टेकबहादुर गुरुङले एक लाख सहयोग गर्ने भएका छन् । एक महिनाको तलबबाट नपुग्ने भएकाले उनले एक महिनाको पुरकै तलब र बाँकी अर्को महिनाको तलबबाट कटाउन भनेका छन् ।
बाँकी कांग्रेसका सांसदहरू सबैले १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।
नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब सहयोग गर्ने भनेर संसद् सचिवालयलाई पत्र लेखेका छन् । बाँकी एमालेका सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने भएका हुन् ।
एमालेको प्रतिनिधिसभामा २५ जना र राष्ट्रिय सभामा १० जना सांसद छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।
संसद् सचिवायलाई पत्र लेखेर नेकपाले सांसदहरूसँगै उनीहरूका स्वकीयको १५ दिनको तलब पनि बाढी पीडितलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।
नेकपाको प्रतिनिधिसभा र राष्ट्रिय सभामा १७/१७ जना सांसद रहेका छन् ।
प्रतिक्रिया 4