+
+
Shares

फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छ : महानिर्देशक सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन् ।
  • उनले सर्वोच्चका आदेशपछि विभिन्न निकायसँग राय माग्ने र किस्ताबन्दीमा कार्यान्वयन गर्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने बताए ।
  • उनले फरार कैदी पक्राउ र बाँकी कैद असुली प्रभावकारी बनाउन प्रहरी पुरस्कार रकम बढाउन र न्यायिक प्रहरीको व्यवस्था गर्न प्रस्ताव गरे ।

२५ भदौ, काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सर्वोच्चले फैसला गरिसकेपछि पनि विभिन्न निकायहरुसँग राय माग्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने गरेको बताए ।

सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन हुनुपर्नेमा किस्ताबन्दीमा कार्यान्वयन गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

महानिर्देशक सिंहले फरार कैदी तथा व्यक्तिलाई पक्राउ गरी बाँकी कैद असुली गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रहरीलाई दिइने पुरस्कार रकम बढाउनुपर्नेमा प्रस्ताव गरिएको पनि बताए ।

उनले फैसला कार्यान्वयन निर्देशनालयमा कार्यरत कर्मचारीले फरार कैदीको खोजी तथा फैसला कार्यान्वयनका लागि लागिपरेको भए पनि त्यसअनुसारको प्रोत्साहनको व्यवस्था नभएको गुनासो गरे ।

उनले भने, ‘सर्वोच्च अदालतले फैसला गर्छ । संविधान र मौजुदा कानुनमा पनि त्यही व्यवस्था छ । तर कानुन मन्त्रालयसहितका निकायहरूले समेत राय माग्नुहुन्छ । सुप्रिम कोर्टले बोलिसकेपछि त एकैचोटि कार्यान्वयन गर्ने हो । बरु कार्यान्वयनको मोडालिटी बनाउने हो ।’

उनले थपे, ‘राय माग्नका लागि पनि समिति गठन गर्नुहुन्छ । समिति गठन गर्दाखेरि पनि फेरि किस्ताबन्दीमा कार्यान्वयन गर्नुहुन्छ । त्यसैले सर्वोच्च अदालतले आदेश अथवा फैसला गरेपछि ती कुरा त हुबहु कार्यान्वयन गर्नुपर्छ । सरकारी वकिलसँग राय माग्नुभन्दा सरकारी वकिलले बहसकै क्रममा, लिखित जवाफकै क्रममा केही कुरा राखेको भए जाती हुन्थ्यो । पछि आएर राय माग्नु त त्यति तुक होइन जस्तो लाग्छ । कार्यान्वयन गरिदिए राम्रो हुन्थ्यो ।’

उनले सर्वोच्चले गरेका फैसला कार्यान्वयनका लागि न्यायिक प्रहरीको व्यवस्था गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?