+
+
Shares

खगेन्द्रलाई हरिनाको सुझाव : नागरिकको पीडामाथि राजनीतिक व्यंग्य नगरौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई नागरिकका पीडामाथि राजनीतिक व्यंग्य नगर्न सुझाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद हरिनादेवी कामीले प्रतिनिधिसभामा रास्वपा सांसद खगेन्द्र सुनारलाई नागरिकका पीडामाथि राजनीतिक व्यंग्य नगर्न सुझाइन्।
  • उनले जेनजी सहिद दिवसको कार्यक्रममा सुनारले दिएको ‘तपाईंको छोराले गोली खायो, नेपालले सिटामोल पायो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
  • कामीले गृहमन्त्री सुदन गुरूङले पत्रकार र जनतालाई धम्क्याएको आरोप लगाउँदै राज्यप्रति भरोसा जगाउन आग्रह गरिन्।

२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई नागरिकका पीडामाथि राजनीतिक व्यंग्य नगर्न सुझाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले २३ भदौमा सांसद सुनारले जेनजी सहिद दिवसको कार्यक्रममा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै यस्तो सुझाव दिएकी हुन् ।

‘जेनजी सहिद दिवसका दिन सत्ता पक्षका माननीयज्यूले भन्नुभएको थियो– तपाईंको छोराले गोली खायो, नेपालले सिटामोल पायो,’ सांसद कामीले भनिन्, ‘सहिदका परिवार र घाइते नागरिकका पीडामाथि राजनीतिक व्यंग्य गर्ने अधिकार कसैलाई छैन ।’

उनले सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जनताले खाना पकाउने ग्यास पाउनका निम्ति के खानु पर्ने हो भन्दै प्रश्न पनि गरिन् । ‘म उहाँलाई सोध्न चाहन्छु– जनताले सहजै ग्यास पाउनका निमित्त के खानु पर्ने हो ?,’ सांसद कामीले सोधिन् ।

सांसद कामीले गृहमन्त्री सुदन गुरूङलाई जनता धम्क्याउन छाडेर राज्यका प्रतिको भरोसा जगाउन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीको जिम्मेवारी जनतालाई धम्काउने, तर्साउने होइन,’ उनले भनिन्, ‘राज्यप्रति भरोसा जगाउने हो ।’

उनले जेनजी आन्दोलनको वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले पत्रकारलाई धम्क्याएको आरोप लगाइन् । कामीले केही समयअघि निर्वाचन क्षेत्रमा पुगेर गुरूङले जनतालाई मत फिर्ता लैजानुस् भन्दै चुनौती दिएको प्रसंग पनि सुनाइन् ।

‘गृहमन्त्रीज्यूले जेनजी कार्यक्रममा राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारितालाई धम्क्याउनुभयो,’ उनले भनिन्, ‘केही समय अघि निर्वाचन क्षेत्रमा पुगेर जनतालाई दिएको मत फिर्ता लैजानुस् भनेर चुनौती दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?