News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धि अटोकर्पले दिपल नेभो क्यू०५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
- नेभो क्यू०५ का म्याक्स र अल्ट्रा भेरियन्टको नियमित मूल्य क्रमशः ४८ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
- यसमा ५१.९ किलोवाटआवर ब्याट्री, ४६२ किलोमिटर रेन्ज, १६२ किलोवाट डीसी फास्ट चार्जिङ र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने दाबी गरिएको छ।
२५ भदौ, काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले नेपाली बजारमा सार्वजनिक गरेको ‘दिपल नेभो क्यू०५’ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीमा उच्च क्षमताको ब्याट्री, फास्ट चार्जिङ, फराकिलो इन्टेरियर र आधुनिक ड्राइभिङ प्रविधि समेटिएको छ ।
चाङ्गानको दिपल ब्रान्डअन्तर्गतको नेभो क्यू०५ दुई भेरियन्ट म्याक्स र अल्ट्रामा नेपालमा उपलब्ध छ । नाडा अटो शोका क्रममा प्रारम्भिक मूल्य म्याक्सको ४६ लाख ९९ हजार र अल्ट्राको ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । नियमित मूल्य भने म्याम्सको ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
५१.९ किलोवाट आवरको ब्याट्री
नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको क्याटल एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा चाङ्गानको ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ ।
नेपालमा उपलब्ध स्पेसिफिकेसनअनुसार यसले एकपटकको चार्जमा ४६२ किलोमिटरसम्मको रेन्ज दिनेछ । यसमा १२० किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले १६३ हर्सपावर र १९० एनएम टर्क उत्पादन गर्छ । अगाडिका पांग्रामा पावर जाने यो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ८.२ सेकेन्डमा लिन सक्छ ।
१५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज
क्यु ०५ को मुख्य आकर्षणमध्ये फास्ट चार्जिङ पनि हो । यसले १६२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । उपयुक्त अवस्थामा ३ सी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमै चार्ज गर्न सकिने दाबी गरिएको छ ।
यसले ७ किलोवाट एसी चार्जिङ पनि सपोर्ट गर्छ, जसबाट पूर्ण चार्ज गर्न करिब ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

कम्प्याक्ट आकार, फराकिलो क्याबिन
क्यू०५ को लम्बाइ ४ हजार ४३५ मिलिमिटर, चौडाइ १ हजार ८५५ मिलिमिटर र उचाइ १ हजार ६०० मिलिमिटर छ । यसको ह्विलबेस २ हजार ७३५ मिलिमिटर छ । यही लामो ह्विलबेसका कारण कम्प्याक्ट एसयूभीको आकारमा पनि पछाडिका यात्रुका लागि पर्याप्त लेगरुम उपलब्ध गराइएको छ ।
पछाडिको सिटमा तीन जना बस्न सक्ने र सिटको ब्याकरेस्ट २८ देखि ३३ डिग्रीसम्म समायोजन गर्न सकिने व्यवस्था छ । यसको बुट स्पेस ५४० लिटर छ ।
कम्पनीका अनुसार क्याबिनमा आराम बढाउन नौ तहको सिट संरचना प्रयोग गरिएको छ । सडकबाट आउने आवाज र कम्पन कम गर्न ६७ भन्दा बढी एनभीएच नियन्त्रण उपाय अपनाइएको दाबी पनि गरिएको छ ।
१४.६ इन्चको टचस्क्रिनदेखि पानोरामिक ग्लास रूफसम्म
क्यू०५ को ड्यासबोर्डमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, ओभर–द–एयर (ओटीए) अपडेट, वायरलेस चार्जिङ र बिल्ट–इन ड्यासक्यामजस्ता सुविधा छन् ।
पानोरामिक ग्लास रूफ, अगाडिका भेन्टिलेटेड सिट र पछाडिका रिक्लाइनिङ सिटले यसको इन्टेरियरलाई थप प्रिमियम बनाउने कम्पनीको दाबी छ ।

५४० डिग्री क्यामेरा र एडीएएस
सुरक्षातर्फ क्यू०५ मा ६ वटा एयरब्याग, ५४० डिग्री सराउन्ड–भ्यु क्यामेरा र विभिन्न एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध छन् ।
एडाप्टिभ क्रुज कन्ट्रोल, फर्वार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ तथा ट्राफिक जाम असिस्टजस्ता सुविधा यसमा समेटिएका छन् । भेरियन्टअनुसार ड्राइभर असिस्टेन्स सुविधाको संख्या फरक हुन सक्ने बताइएको छ ।
डिजाइनमा पनि विशेष ध्यान
क्यू०५ चाङ्गानको ‘डिजिटल विङ २.०’ डिजाइन भाषामा आधारित छ । यसको डिजाइनमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञ सहभागी भएको कम्पनीले जनाएको छ । चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष क्लाउस जिक्योरा नेतृत्वको डिजाइन टिमले यसको डिजाइन गरेको हो ।
यसमा अगाडिको डिजिटल विङ डिजाइन, विशिष्ट एलईडी लाइट सिग्नेचर र ‘स्टार रिङ म्याट्रिक्स’ टेललाइट प्रयोग गरिएको छ । यसको ड्रयाग कोइफिसियन्ट ०.२६५ रहेको बताइएको छ ।
क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेख्य बिक्री हासिल गरेको छ । चाङ्गानका अनुसार यो अगस्ट ११ सम्म चीनमा यसको सञ्चित बिक्री १ लाख युनिट नाघिसकेको थियो ।
नेभो क्यू०५ को मुख्य आकर्षण लामो ह्विलबेस, फराकिलो क्याबिन, ५१.९ किलोवाटआवरको ब्याट्री, तीव्र चार्जिङ र उच्चस्तरीय प्रविधि रहेको देखिन्छ ।
स्टाइलिस, स्मार्ट र स्पेसियस ईभी गाडीको खोजीमा रहेकालाई नेभो क्यू०५ विकल्प हुनसक्छ ।
प्रतिक्रिया 4