+
+
Shares

नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय सम्मान

सरकारी कुरियर सेवामार्फत नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्‍याउन सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १८:०४

२५ भदौ, काठमाडौं । सरकारी कुरियर सेवामार्फत नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्‍याउन सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

एसियन–प्यासिफिक पोस्टल युनियन (एपीपीयूपी) ले प्रदान गर्ने प्रतिष्ठित ‘एपीपीयूपी इनोभेसन अवार्ड २०२६’ अन्तर्गत नेपालले ‘सर्भिस इन रिमोट एरियाज’ (दुर्गम क्षेत्रमा सेवा) विधामा उक्त सम्मान हात पारेको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मन्त्री तिमिल्सिनाले उक्त उपलब्धिको जानकारी दिँदै यो अन्तर्राष्ट्रिय पहिचान नेपालका लागि निकै उत्साहजनक रहेको बताएका छन्।

नेपाल हुलाकले हाल सरकारी कुरियर सेवामार्फत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा स्वास्थ्य रिपोर्टलगायतका महत्त्वपूर्ण कागजातहरू नागरिकको घरसम्मै सुरक्षित रूपमा डेलिभरी गर्दै आएको छ। दुर्गम भेगका नागरिकलाई केन्द्रित गरी सुरु गरिएको यही आधुनिक सेवाको मूल्यांकन गर्दै युनियनले नेपाललाई पुरस्कृत गरेको हो।

‘यस सम्मानले नेपाल हुलाकलाई थप उत्साहित भएर अझ दुर्गम क्षेत्रमा प्रभावकारी काम गर्ने ऊर्जा दिएको छ,’ मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘परम्परागत हुलाकबाट आधुनिक, छिटो र भरपर्दो सरकारी कुरियर सेवातर्फको सुरुवाती रूपान्तरणले पाएको यो अन्तर्राष्ट्रिय पहिचान उत्साहजनक उपलब्धि हो।’

कुनै समय चिठीपत्र ओसारपसारमा मात्र सीमित रहेको हुलाक सेवाले पछिल्लो समय प्रविधिको प्रयोग बढाउँदै सरकारी तथा गैरसरकारी महत्त्वपूर्ण दस्ताबेज ओसारपसारमा कुरियर मोडल अपनाएपछि यसको प्रभावकारिता बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?