+
+
Shares

रोल्पामा पनि राहदानी घरदैलो सेवा

सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाको कोठा नम्बर १०२ मा विशेष काउन्टर स्थापना गरिएको छ ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ जेठ २० गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पामा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको समन्वयमा 'राहदानी घरदैलो सेवा' शुरू भएको छ ।
  • दुर्गमका नागरिकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन 'तपाईंको राहदानी, तपाईंको हातमा' भन्ने नारासहित यो सेवा सञ्चालन गरिएको हो ।
  • यो सेवाअन्तर्गत नागरिकले आफ्नो इच्छाअनुसार हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

२० जेठ, रोल्पा । रोल्पामा पनि’राहदानी घरदैलो सेवा काउन्टर सुरु भएको छ । हुलाकमार्फत सेवा दिन राहदानी घरदैलो सेवा काउन्टर सेवा सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला हुलाक कार्यालय रोल्पाको संयुक्त समन्वयमा मंगलबारदेखि नयाँ सेवा भएको छ ।

दुर्गम तथा विकट क्षेत्रका नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालय रोल्पाको संयुक्त समन्वयमा ‘तपाईंको राहदानी, तपाईंको हातमा’भन्ने नारासहित सेवा सञ्चालनमा ल्याएको हो ।

नागरिकले राहदानी प्राप्त गर्न पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने लक्ष्यका साथ सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री बताउँछन् ।

‘हामीले मंगलबार देखि रोल्पामा ‘राहदानी घरदैलो सेवा काउण्टर’ सुरु गरेका छौँ,नेपाल सरकारको लक्ष्य रहेकाले पहाडी जिल्ला रोल्पामा प्रभावकारी हुने मैले विश्वास लिएको छु,’क्षेत्रीले भने ।

सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाको कोठा नम्बर १०२ मा विशेष काउन्टर स्थापना गरिएको छ । उक्त काउन्टरबाट राहदानी घरसम्म पठाउने सम्पूर्ण प्रक्रिया व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

जिल्ला हुलाक कार्यालय रोल्पाका प्रमुख युवराज परियारले नागरिक सेवाको काम प्रभावकारी बनाइने बताउँछन् ।

‘हामीले सुरुवाती चरणमा स्थानीय तहको केन्द्रसम्म सेवा पुर्‍याउने र अहिले जनशक्ति कम भएकोले जनशक्तिको व्यवस्थापन गरी सेवालाई घरसम्म विस्तार गर्ने योजना छ,’ कार्यालय प्रमुख परियारले भने ।

सेवालाई प्रभावकारी तबरले जनस्तरसम्म विस्तार गरी लाइसेन्स, बिल बुक, राष्ट्रिय परिचयपत्र र अन्य हुलाकमार्फत हुने सेवा प्रदान गरिने उनले बताए ।

‘जिल्ला प्रशासन कार्यालय रोल्पामा आउने सेवाग्राहीलाई ‍राहदानी लिन आफैं आउनु हुन्छ, कि घरमा पुर्‍याइदिने भनेर सोधपुछ हुन्छ र उहाँहरुको इच्छा अनुसार घरमै पुर्याइदिनु भनेपछि प्रक्रिया सुरु गरिनेछ,’ उनले भने ।

रोल्पा भौगोलिक रूपमा दुर्गम जिल्ला भएकाले यहाँका धेरै नागरिकलाई सामान्य प्रशासनिक सेवा प्राप्त गर्नसमेत लामो दूरी र यातायात प्रयोग गर्नुपर्ने अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला हुलाक कार्यालय रोल्पा बीच ‘राहदानी घरदैलो सेवा काउन्टर’ सेवा सञ्चालनका लागि १२ जेठमा संयुक्त रूपमा दुई पक्ष सम्झौता गरेका थिए । रोल्पामा १ नगरपालिका,९ गाउँपालिका गरी १० वटा स्थानीय तहको ७२ वटा वडा रहेका छन् ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?