१ वैशाख रोल्पा । पश्चिम उत्तर रोल्पाको परिवर्तन गाउँपालिकामा एक लाख एक हजार १११ रुपैयाँ बराबर पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
वैशाख ५ गतेदेखि १२ गतेसम्म परिवर्तन गाउँपालिका-३ बागमारामा रहेको लाली गुराँस युवा क्लबको २८औं वार्षिक उत्सवको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
लाली गुराँस युवा क्लबका अध्यक्ष हिरालाल खड्काका जानकारी अनुसार खुला पुरुष भलिबल प्रतियोगितामा विजेता आउने टिमले नगद पुरस्कार एक लाख १ हजार १११ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।
त्यस्तै उपविजेता हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११ रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलिस्ट दुई टिमले नगद पुरस्कार २५ हजार १ सय ११ रुपियाँ सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुला महिला भलिबल प्रतियोगितामा विजेता हुने टिमले नगद पुरस्कार ३५ हजार ५ सय ५५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता हुने टिमले नगद पुरस्कार २० हजार ५ सय ५५ रुपियाँ सहितको मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलिस्ट दुई टिमले १० हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछन् आयोजकले जानकारी गराएको छ ।
पश्चिम रोल्पामा रहेको लाली गुराँस युवा क्लब ठूलो राशीको खुला भलिबल प्रतियोगिता राख्नेमा पहिलो रहेको छ । अहिलेसम्म पश्चिम् रोल्पामा यतिठूलो राशिको प्रतियोगिता आयोजना गरेका छैनन् ।
रोल्पा जिल्लामा क्लब दर्ताको हिसाबले सनस्टार युवा क्लब पहिलो रहेको छ भने लाली गुराँस युवा क्लब दोस्रो रहेको छ । वि.सं.२०५५ साल वैशाख ५ गते अध्यक्ष विश्वकुमार चन्दको अध्यक्षतामा स्थापना भएको लाली गुराँस युवा क्लबले थुप्रै गतिविधि र राष्ट्रिय,क्षेत्रीय खेलाडी बनाउन समेत सफल भएको छ ।
नेपाल सरकारले भलिबल खेललाई वि.सं.२०७४ जेठ ८ गतेदेखि लागू हुने गरी आधिकारिक रूपमा नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले लोकप्रियता र भौगोलिक सहजता मानेर हिमाल,पहाड र तराईलाई आधार मानेर निर्णय गरेको थियो ।
राष्ट्रिय खेल घोषणा गरिएको ९ वर्ष पूरा भइसके तापनि अझै पनि व्यवस्थित हल बन्न सकेका छैन । पश्चिम नेपालका धेरै जिल्लामा अहिले पनि धेरै मात्रामा भलिबल प्रतियोगिता हुने गर्दछ। रोल्पामा पनि धेरै क्लब,संघसंस्थाले भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया 4