५ वैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला हुलाक कार्यालयसँगको समन्वयमा सेवाग्राहीको घरसम्म पुगेर राहदानी (पासपोर्ट) वितरण थालेको छ ।
तर, यो सेवा हेटौंडा बजार क्षेत्रमा मात्रै सीमित छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाभित्र सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण कार्य थालिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले जानकारी दिए । उनका अनुसार २ वैशाखदेखि ४ गते शुक्रबारसम्म कार्यालयले ७६ वटा पासपोर्ट वितरण गरिसकेको छ ।
‘सेवाग्राहीले कार्यालयमै आएर पासपोर्ट लिनु पनि भएको छ । हामीले घरमै पनि पुर्याएका छौं’, लामिछानेले भने । हेटौंडा–१६ हटिया र २ नम्बर वडाको बजार क्षेत्रमा रहेका दुई वटा हुलाक काउन्टरबाट ६ जना जनशक्तिले राहदानी वितरणको काम भइरहेको हो ।
जिल्ला हुलाक कार्यालयमा ४ जना र काउन्टरका दुई जना पत्र वितरण कार्यमा खटिएको प्रमुख लामिछानेले बताए । हुलाक कार्यालयले पहिलो चरणमा ५० वटा राहदानी हेटौंडाका विभिन्न वडा (२, ४, ५, ६, १२, १३, १६ र १७) का सेवाग्राहीको घरमा राहदानी पुर्याएको छ ।
मकवानपुरका अन्य ९ वटा स्थानीय तहमा भने हुलाकले सेवा सुरु गर्न नसकेको प्रमुख लामिछाने बताउँछन् । उपमहानगर क्षेत्रमा सेवा सहज भए पनि ग्रामीण भेगमा भने भौगोलिक विकटता र सवारी साधनको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ ।
थाहा नगरपालिका, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा पालिका स्तरको हुलाक कार्यालय पनि छ । यहाँ एक खरिदार स्तरका कर्मचारी, हुलाकी र हल्कारा गरेर ४ जनाको जनशक्ति रहेको प्रमुख लामिछानेले बताए ।
‘हामीसँग साधन पनि छैन । जनशक्ति पनि थोरै भएकाले विकट क्षेत्रको घरसम्मै पुग्न कठिन हुन्छ । जनशक्ति र स्रोतसाधनको व्यवस्थापन भएपछि गाउँसम्म सेवा विस्तार गर्न सक्षम हुनेछौं’, उनले भने ।
हुलाकले नागरिकता र लाइसेन्सको वितरण कार्य पनि सुचारु गरेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, आगामी दिनमा यो सेवालाई अझ व्यापक बनाइनेछ ।
‘अहिले राहदानीबाट सुरु गरेका छौँ, अब छिट्टै नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत हुलाकमार्फत घरमै पुर्याउने हाम्रो तयारी छ,’ प्रजिअ अधिकारीले भने । हाल प्रशासनमा थन्किएर रहेका करिब ५०० राहदानीलाई पहिलो प्राथमिकतामा राखेर घरघरमा पठाइने उनले जानकारी दिए ।
प्रतिक्रिया 4