News Summary
Generated by OK AI. Editorially reviewed.- चाडपर्व, विवाह, पूजा र पारिवारिक जमघटमा साडी, कुर्ता, अनारकली वा लेहेंगासँग मिल्ने पाँच सजिला हेयरस्टाइल सुझाइएको छ।
चाडपर्व, विवाह, पूजा, पारिवारिक जमघट वा कुनै विशेष अवसरमा साडी, कुर्ता, अनारकली वा लेहेंगा लगाउँदा कस्तो हेयरस्टाइल बनाउने ?
जब कुनै विशेष पारिवारिक विशेष जमघट हुन्छ, अधिकांश महिलामा यो चिन्ता हुने गर्छ ।
राम्रो हेयरस्टाइलले पहिरनको सुन्दरता बढाउनुका साथै अनुहारको बनावटलाई समेत आकर्षक देखाउन सक्छ । हेयरस्टाइल बनाउन हरेकपटक पार्लर धाउनुपर्छ भन्ने छैन । घरमै केही मिनेटमा बनाउन सकिने सजिला हेयरस्टाइलले पनि एथनिक पहिरनलाई आकर्षक र व्यवस्थित देखाउन सक्छन् । त्यसमाथि गजरा, फूल, मोतीका हेयरपिन वा अन्य सामान्य सामग्री थप्दा साधारण हेयरस्टाइल पनि विशेष देखिन्छ ।
अहिले धेरै सजावटभन्दा सरल, प्राकृतिक र सहज हेयरस्टाइलको चलन पनि बढिरहेको छ । लामो समयसम्म टिक्ने र विभिन्न किसिमका एथनिक पहिरनसँग सजिलै मिल्ने यस्ता हेयरस्टाइल चाडपर्वका लागि उपयोगी हुन सक्छन् ।
क्लासिक लो बन
साडी, सिल्कको कुर्ता वा लेहेंगासँग लो बन निकै सुहाउँदो देखिन्छ । कपाललाई बीच वा साइडबाट छुट्याएर तलतिर सफासँग बाँधेर बन बनाउन सकिन्छ । बनलाई अझ आकर्षक देखाउन गजरा, ताजा फूल वा मोतीका हेयरपिन प्रयोग गर्न सकिन्छ । यो हेयरस्टाइलले अनुहारलाई सफा र स्टाइलिश देखाउँछ । विशेषगरी परम्परागत पहिरनसँग यसले आकर्षक र शाही शैलीको झल्को दिन्छ ।
साइड ब्रेड
परम्परागत पहिरनमा केही फरक शैली थप्न चाहनुहुन्छ भने साइड ब्रेड अर्थात् छेउतिरको चोटी राम्रो विकल्प हुन सक्छ । कपाललाई एकातिर लगेर हल्का खुकुलो चुल्ठोमा बनाउन सकिन्छ ।
चुल्ठोमा साना फूल, रिबन वा आकर्षक पिन लगाउँदा हेयरस्टाइल अझ सुन्दर देखिन्छ । लामो कपालमा यो शैली विशेष खुल्छ । कुर्ता, अनारकली र लेहेंगासँग पनि सजिलै मिलाउन सकिन्छ ।
हाफ–अप हाफ–डाउन
खुला कपाल मन पराउनेहरूका लागि हाफ–अप हाफ–डाउन अर्थात् केही कपाल बाँधेर बाँकी खुला राख्ने शैली उपयुक्त हुन्छ । अगाडिको केही कपाललाई पछाडि लगेर पिनले बाँध्ने र बाँकी कपाल खुला छोड्ने गरिन्छ । कपालमा हल्का घुमाउरोपन थप्दा यो हेयरस्टाइल अझ आकर्षक देखिन्छ । लगभग सबै प्रकारका अनुहार र एथनिक पहिरनमा सुहाउने भएकाले चाडपर्वका लागि यो सजिलो विकल्प बन्न सक्छ।
हल्का वेभसहित खुला कपाल
धेरै समय लगाएर कपाल बनाउन नचाहनेहरूका लागि हल्का वेभ बनाएर कपाल खुला छोड्न सकिन्छ । कपाललाई बीच वा साइडबाट छुट्याएर हल्का घुमाउरो बनाउने र त्यसमा सुन्दर हेयरक्लिप, फूल वा मागटीका थप्न सकिन्छ । जर्जेट, सिफन तथा फूलबुट्टे एथनिक पहिरनसँग यस्तो हेयरस्टाइल विशेष आकर्षक देखिन्छ । सरल र प्राकृतिक देखिन चाहनेहरूका लागि यो राम्रो विकल्प हुन सक्छ ।
ट्विस्टेड लो पोनीटेल
साधारण पोनीटेललाई पनि केही फरक तरिकाले बनाएर आकर्षक बनाउन सकिन्छ । कपालको दुवैतर्फबाट केही भाग छुट्याएर हल्का ट्विस्ट गर्दै पछाडि लगेर तलतिर पोनीटेल बनाउन सकिन्छ ।त्यसपछि मोतीको हेयरपिन, धातुको क्लिप वा अन्य सामान्य सामग्री थप्न सकिन्छ । सरल तर स्टाइलिस देखिन चाहनेहरूका लागि यो हेयरस्टाइल उपयुक्त हुन्छ । पूजा, पारिवारिक जमघटदेखि चाडपर्वको कार्यालय समारोहसम्ममा पनि यसलाई सजिलै अपनाउन सकिन्छ ।
हेयरस्टाइललाई अझ आकर्षक बनाउन यी कुरा ध्यान दिनुहोस्
हेयरस्टाइल बनाउनुअघि कपाल राम्ररी सुल्झाउनुहोस् । कपाल धेरै रुखो वा अस्तव्यस्त देखिएको छ भने थोरै हेयर सिरम लगाएर मुलायम बनाउन सकिन्छ । लामो समयसम्म हेयरस्टाइल टिकाउन हल्का होल्ड भएको हेयर स्प्रे प्रयोग गर्न सकिन्छ ।
ताजा फूल, मोतीका पिन वा सामान्य हेयर एक्सेसरिजले पनि एथनिक लुकलाई थप आकर्षक बनाउन सक्छन् । तर धेरै सामग्री प्रयोग गर्नुभन्दा आफ्नो पहिरन, अनुहारको बनावट र अवसरअनुसार हेयरस्टाइल तथा सजावट छनोट गर्नु राम्रो हुन्छ ।
प्रतिक्रिया 4