News Summary
Generated by OK AI. Editorially reviewed.- राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आर्थिक अभावका कारण एक विपन्न महिलाले उपचार नपाएको कांग्रेस मधेश प्रदेशले जनाएको छ।
- अस्पताल परिसरबाहिर प्रसूति गराउनुपरेको तस्वीर र भिडियो सार्वजनिक भएपछि कांग्रेसले स्वास्थ्य सेवा र अस्पताल व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको बताएको छ।
- कांग्रेस मधेश प्रदेशका प्रचार प्रमुख नितेश कुमार गुप्ताले तत्काल निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनी दायरामा ल्याउन संघीय र मधेस प्रदेश सरकारसँग माग गरेका छन्।
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न महिलालाई आर्थिक अभावका कारण उपचार नपाउनु गम्भीर विषय भएको जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर तथा भिडियोमा महिलाले अस्पताल परिसरबाहिर प्रसूति गराउन पर्नुले स्वास्थ्य सेवा तथा अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ। कांग्रेस मधेस प्रदेशका प्रचार प्रमुख नितेश कुमार गुप्ताले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्था गम्भीर रहेको बताए।
गुप्ताले घटनाको तत्काल र निष्पक्ष छानबिन गर्न विशेष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न संघीय र मधेस प्रदेश सरकारसँग माग गरेका छन्। छानबिनका क्रममा अस्पतालका कुनै कर्मचारी वा जिम्मेवार व्यक्ति दोषी देखिएमा उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत उनले माग गरेका छन् । गुप्ताले भने,‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आर्थिक अभावकै कारण कुनै महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् र गम्भीर विषय हो।’
प्रतिक्रिया 4