News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको ऐतिहासिक सेतो दरबारको एक भाग बिहीबार बिहान पूर्ण रूपमा भत्किएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिएका छन्।
- २०८० कात्तिक १७ गतेको भूकम्पले क्षतिग्रस्त दरबार लामो समयदेखि पुनर्निर्माण नहुँदा थप कमजोर बनेको थियो।
- सेतो दरबारको संरक्षण र प्राविधिक अध्ययन गरी मौलिक स्वरूप कायम राखेर पुनर्निर्माण गर्नुपर्ने माग उठेको छ।
२५ भदौ, सुर्खेत । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको जाजरकोटको सेतो दरबारको एक भाग बिहीबार बिहान भत्किएको छ। २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त बनेको दरबार लामो समयसम्म पुनर्निर्माण तथा संरक्षणको पर्खाइमा रहेका बेला एक भाग भत्किएको हो।
बिहीबार बिहान दरबारको एक भाग पूर्ण रूपमा भत्किएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए। उनका अनुसार भूकम्पपछि नै दरबारको संरचना कमजोर र जोखिमपूर्ण बनेको थियो। प्रशासन कार्यालय भने भूकम्पपछि अस्थायी रूपमा निर्माण गरिएको संरचनाबाट सञ्चालन हुँदै आएको छ।
जाजरकोट सदरमुकाम खलङ्गाको अग्लो स्थानमा रहेको यो दरबार जिल्लाको प्रशासनिक इतिहाससँगै जाजरकोट राज्यको इतिहाससँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। सेतो रङका कारण स्थानीय रूपमा ‘सेतो दरबार’ भनेर चिनिने यो भवनलाई सरकारले केही वर्षअघि देशका सय पर्यटकीय गन्तव्यको सूचीमा समेत राखेको थियो।
१८५२ सालमा बनेको सेतो दरबार
उपलब्ध विभिन्न ऐतिहासिक विवरणअनुसार हाल सेतो दरबार भनेर चिनिने जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको हो। खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरी दरबार निर्माण गरिएको इतिहासविद् तथा स्थानीय जानकारहरूले बताउँदै आएका छन्।
यसअघि सोही क्षेत्रको पश्चिमतर्फ ‘रातो दरबार’ रहेको थियो। विभिन्न स्रोतमा रातो दरबारको निर्माण वि.सं. १८०० देखि १८११ सालको बीचमा भएको उल्लेख छ भने कतिपय सामग्रीमा राजा हरि शाहले विसं १८२५ मा निर्माण सुरु गरेको उल्लेख गरिएको छ। रातो दरबारबाट जाजरकोट राज्यको राजकाज सञ्चालन हुने गरेको स्थानीय इतिहासमा उल्लेख छ। अहिले रातो दरबारमा जिल्ला समन्वय समितिको कार्यालय सञ्चालन हुँदै आएको छ।
रातो दरबार बनेको केही दशकपछि राज्य सञ्चालनका लागि थप भौतिक संरचना आवश्यक भएपछि राजा इन्द्रनारायण शाहले सेतो दरबार निर्माण गराएको इतिहासका जानकारहरूको भनाइ छ। दरबार निर्माणमा तत्कालीन राजाको आदेशमा स्थानीय जनताको श्रमदानसमेत प्रयोग गरिएको थियो।
भूकम्पसँग पटकपटक सङ्घर्ष
सेतो दरबारले आफ्नो लामो इतिहासमा पटकपटक भूकम्पको सामना गरेको छ। वि.सं. १९९० माघ २ गते गएको ठूलो भूकम्पबाट दरबारमा गम्भीर क्षति पुगेको थियो। त्यसपछि पुरानो शैली र स्वरूपलाई कायम राख्दै दरबारको पुनर्निर्माण गरिएको इतिहास भेटिन्छ।
विभिन्न विवरणअनुसार १९९० सालको भूकम्पपछि दरबार पुनर्निर्माणका लागि भक्तपुरका नेवार समुदायका दक्ष कालीगढ तथा इन्जिनियर नाम्चेलाई ल्याइएको थियो। पुनर्निर्माण गर्दा दरबारको पुरानो शैली, झ्यालका कला र वास्तुकलालाई सकेसम्म कायम राखिएको स्थानीय इतिहासका अध्येता तथा संरक्षण अभियन्ताहरूले बताउँदै आएका छन्।
१९९० सालको भूकम्पपछि पुनर्निर्माण गरिएको दरबारको स्वरूप पनि समयक्रममा परिवर्तन भएको देखिन्छ। केही ऐतिहासिक विवरणमा पुरानो दरबार पाँच वा सात तलासम्म रहेको उल्लेख भए पनि पुनर्निर्माणपछि तीनतले संरचनाका रूपमा रहेको बताइएको छ।
पुरानो संरचनाको वास्तविक स्वरूप कस्तो थियो भन्ने विषयमा समेत थप अध्ययन आवश्यक रहेको जाजरकोट सम्पदा संरक्षण अभियन्ताहरूले बताउँदै आएका छन्।
२०८० सालको भूकम्पले फेरि थलियो
२०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सेतो दरबारलाई फेरि गम्भीर क्षति पुर्यायो। भूकम्पपछि दरबारमा बस्न नमिल्ने अवस्था सिर्जना भयो। भवनमा चिरा परेपछि वर्षाको पानीबाट थप क्षति हुन नदिन केही समय त्रिपालले ढाकेर राखिएको थियो।
भूकम्पपछि जिल्ला प्रशासन कार्यालय दरबारबाट हटाएर परिसरमा निर्माण गरिएको अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्न थालिएको हो। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत प्रशासनिक सेवा अस्थायी संरचनाबाटै प्रवाह हुँदै आएका छन्।
भूकम्पबाट क्षति भएको लामो समयसम्म पनि दरबारको पुनर्निर्माणले गति लिन सकेन। पुनर्निर्माणको जिम्मेवारी पुरातत्त्व विभागसँग जोडिएपछि प्रक्रिया जटिल बनेको र अन्य निकायले सहजै काम गर्न नसकेका कारण दरबारको निर्माण कार्य हुन नसकेको हो। यसबीच वर्षा र मौसमका कारण दरबारका कमजोर भागमा थप क्षति हुँदै गएको थियो।
संरक्षण नहुँदा इतिहास मेटिने चिन्ता
ऐतिहासिक दरबारको संरक्षणमा ढिलाइ हुँदा यसको मौलिक स्वरूप नै हराउने चिन्ता बढेको छ। संरक्षण अभियन्ताहरूले दरबारलाई सामान्य सरकारी भवनका रूपमा मात्र हेर्न नहुने बताउँदै आएका छन्।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले दरबारलाई सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने अभियानसमेत सञ्चालन गरेको थियो। स्थानीय संरक्षण अभियन्ताहरूका अनुसार सेतो र रातो दरबारलाई समेटेर जाजरकोटको राजकीय इतिहास, संस्कृति र पुरातात्त्विक सामग्री संरक्षण गर्ने गरी सङ्ग्रहालय विकास गर्न सकिन्छ।
दरबार जाजरकोटको मात्र नभई सिङ्गो कर्णालीको ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण पुरानै वास्तुशैली र मौलिकता कायम हुने गरी गर्नुपर्ने माग हुँदै आएको छ। इतिहासविद्हरूले भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर दरबारको मौलिक स्वरूप जोगाउनुपर्ने सुझाव दिएका छन्।
राजदरबारबाट सरकारी कार्यालयसम्म
जाजरकोट राज्यको राजकीय इतिहास बोकेको सेतो दरबार समयक्रममा सरकारी सम्पत्तिमा परिणत भयो। उपलब्ध विवरणअनुसार जाजरकोटका अन्तिम राजा स्वयंप्रकाशविक्रम शाहका तर्फबाट दरबार नेपाल सरकारलाई बिक्री गरिएपछि यो सरकारी स्वामित्वमा आएको थियो।
राजाहरूले दरबार छाडेपछि लामो समयदेखि जिल्ला प्रशासन कार्यालयले यही भवन प्रयोग गर्दै आएको थियो। यसरी दरबार राजकीय शासनको केन्द्रबाट सरकारी प्रशासनको केन्द्रमा रूपान्तरण भयो। तर अहिले भने भूकम्पका कारण प्रशासन कार्यालय अस्थायी संरचनामा सरेको छ।
एक भाग भत्किएपछि फेरि उठ्यो संरक्षणको प्रश्न
भूकम्पले कमजोर बनाएको ऐतिहासिक संरचनाको एक भाग अहिले भत्किएपछि सेतो दरबारको संरक्षणको प्रश्न फेरि सतहमा आएको छ। दरबारको बाँकी भागसमेत जोखिममा रहेकाले तत्काल प्राविधिक अध्ययन गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।
दरबारको एक भाग भत्किनु पुरानो भवन ढल्नु मात्र नभई जाजरकोटको राजकीय इतिहास, वास्तुकला र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदामा क्षति पुग्नु भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। त्यसैले बाँकी संरचना सुरक्षित राख्दै भत्किएको भागको ऐतिहासिक स्वरूप र मौलिकता कायम हुने गरी पुनर्निर्माण गर्नुपर्ने उनको माग रहेको छ।
झन्डै दुई सय वर्षभन्दा लामो इतिहास बोकेको यो दरबारले जाजरकोट राज्यको राजकाज, विभिन्न कालखण्डका भूकम्प र शासन व्यवस्थाका परिवर्तन देखिसकेको छ। तर संरक्षणको अभावमा अहिले त्यही इतिहास बोकेको संरचना आफैं अस्तित्वको सङ्कटमा पुगेको छ।
प्रतिक्रिया 4