+
+
Shares

अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २५ गते १९:१७

२५ भदौ, सुर्खेत । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षाका कारण वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा संरचनामा बाढी पस्नुका साथै पर्खाल भत्किएका छन् । यस्तै,  चट्याङ लागेर एक जना घाइतेसमेत भएका छन् ।

वीरेन्द्रनगर–६ स्थित नेपाली सेनाले सञ्चालन गरेको आर्मी स्कुलको कम्पाउन्डको करिब १० मिटर पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किए पनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर–४ शहीदपार्क निवासी सूर्य सलामीको भैँसीको पाडो खोर्के खोलाले बगाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक समन्वय गरेको जनाएको छ ।

वीरेन्द्रनगर–८ स्थित मोडेल कलेज नजिक सडकको नाला थुनिएपछि चार–पाँच वटा पसलमा पानी पसेको छ । प्रहरीले टोली परिचालन गरी पानीको निकासका लागि आवश्यक पहल गरेको जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर–१४ लादेमा करिब ३७ वर्षीय तुलसी बुढाथोकी चट्याङ लागेर घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि प्रहरी चौकी बड्डीचौरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटाइएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने तथा थप क्षति हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?