+
+
Shares

विद्युत् सेवा माग्दै रोल्पाली आन्दोलित

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ भदौ २५ गते २१:४९

२५ भदौ, रोल्पा । ग्रामीण क्षेत्रमा विद्युतीकरणको माग गर्दै रोल्पामा आन्दोलन भएको छ । रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेको भन्दै  स्थानीयहरूले बिहीबार प्रदर्शन गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर स्थानीयहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् ।

रोल्पा नगरपालिका वडा नम्बर ५, ७, ८, ९ र १० का स्थानीयले लिबाङस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर कडा चेतावनीसहित मागपत्र पेस गरेका हुन् ।

विद्युत् विस्तारका लागि भन्दै गठित संघर्ष समितिले पटक–पटक उपभोक्ता, जनप्रतिनिधिले ध्यानाकर्षण गराउँदा पनि विभिन्न बहानामा आलटाल गरेको भन्दै तत्काल काम अगाडि बढाउन उनीहरूको माग छ ।

‘हामीले धेरैपटक विद्युत् प्राधिकरणमा गएर काम अगाडि बढाउन भन्यौँ । ठेकेदारलाई पनि भन्यौँ,’ संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले भने,‘जनप्रतिनिधि र जनताको आग्रहलाई बेवास्ता गरिएपछि आन्दोलन गरेका हौँ ।’

अझ पनि माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने उनले बताए ।

बर्खामा सडक, सञ्चार र विद्युत् सेवाबाट आफूहरू वञ्चित हुने गरेको रोल्पा नगरपालिका–१० कि स्थानीय माला रोकामगरले बताइन् ।

‘हामीलाई विद्युत् नहुँदा दैनिक कामकाजमा निकै समस्या भइरहेको छ । मोबाइल चार्ज पनि हुँदैन । गाउँमा केही दुर्घटना वा समस्या भयो भने पनि अँध्यारोमा गाह्रो हुन्छ,’ उनले भनिन् ।

रोल्पा नगरपालिका–१० मा मात्रै करिब २५० घरपरिवार अहिले पनि अन्धकारमा बस्न बाध्य रहेको उनले बताइन् । ‘बाटोमा बिजुलीको पोल फालेर कता गए कता ! कहाँ–कहाँ गएर खोज्नु,’ सोही ठाउँकी बालकुमारी बुढाले भनिन् ।

दशकौँदेखि विद्युत् सेवा उपलब्ध गराउने भनेर बारम्बार विभिन्न बहानामा जनतालाई ढाँट्दै आएको स्थानीयको गुनासो छ ।

विद्युतीकरण नभएका रोल्पा नगरपालिकाका पाँचवटै वडाका वडाध्यक्षहरू पनि आन्दोलनमा सहभागी थिए ।

‘हामीले धेरैपटक प्राधिकरण र ठेकेदार कम्पनीलाई काम छिटो गर्न भन्दैआयौं,’ रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मतिलाल डाँगीले भने, ‘सधैँ आलटाल मात्र भयो । यो समस्या कसको हो ? अब जनतालाई स्पष्ट भनिदिनुपर्‍यो ।’

नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले भने जिल्लाका ८ वटा गाउँपालिकामा दुईवटा ठेक्का चलिरहेको र रोल्पा नगरपालिका छुट्न गएको प्रतिक्रिया दिएको छ ।

वितरण केन्द्रका सहायक प्रबन्धक इश्वरबहादुर विष्टले मागलाई सम्बन्धित निकायमा पठाउने बताए । ‘हामीले यहाँका समस्या कार्यालयको तर्फबाट सम्बन्धित निकायमा पुर्‍याउने काम हो । त्यो काम हामीले गर्छौं,’ विष्टले भने ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?