२६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले सञ्चालन गरेको औद्योगिक ग्राममा २६ वटा उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १२२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
औद्योगिक ग्राममा घरेलु कपडा, अल्लोका कपडा तथा धागो बुनाइलगायतका उद्योग सञ्चालनमा छन् । स्थानीय कच्चा पदार्थ, श्रम, सीप र प्रविधिको प्रयोग गरी उत्पादन तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
सुर्खेतमा ३ हजार ६६२ उद्योगको अभिलेख
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीका अनुसार जिल्लामा हालसम्म ९०७ उद्योग दर्ता भएका छन् । त्यस्तै, १ हजार ४५२ उद्योग नवीकरण र ३०३ उद्योग खारेज भएका छन् । दर्ता, नवीकरण र खारेजीको संख्या गरी जिल्लामा उद्योगसम्बन्धी अभिलेख ३ हजार ६६२ पुगेको उनले बताए ।

अल्लोका कपडा विदेशसम्म
औद्योगिक ग्राममा उत्पादित अल्लोका कपडा तथा अन्य सामग्री स्थानीय बजारमा बिक्री हुनुका साथै विदेशसमेत जाने गरेका छन् । कालिका अल्लो तथा धागो बुनाइ प्रशिक्षण केन्द्रकी पुष्पा खड्काले यहाँ उत्पादित अल्लोका कपडा विभिन्न बजारमा बिक्री हुने र केही सामग्री विदेशसमेत जाने गरेको बताइन् ।
औद्योगिक ग्राममा अल्लोका कपडा निर्माणसँगै अन्य कपडा तथा स्थानीय उत्पादन र जैविक खाद्यान्नको बिक्री–वितरणसमेत हुँदै आएको उनले बताइन् । स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र सीपलाई उत्पादनसँग जोड्दा रोजगारी सिर्जनासँगै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुगेको उनको भनाइ छ ।

उद्योग प्रवर्द्धनदेखि उपभोक्ता संरक्षणसम्म
कर्णाली प्रदेश सरकारले २०७६ साल भदौ ६ गते कर्णालीका १० वटै जिल्लामा उद्योग तथा वाणिज्य प्रशासनसम्बन्धी कामलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरेको थियो ।
ती कार्यालयका उद्योग प्रवर्द्धन, सीप विकास, उपभोक्ता हित तथा संरक्षण र लघु औद्योगिक ग्राम तथा कोसेली घर प्रवर्द्धन प्रमुख कार्य तोकिएका थिए ।
स्थानीय उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण, उत्पादनको बजारीकरण, स्थानीय कच्चा पदार्थ, श्रम, सीप तथा प्रविधिको सदुपयोग, साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा रैथाने र परम्परागत उत्पादनको संरक्षणलाई कार्यालयले प्राथमिकता दिएको छ ।
स्थानीय पहिचान झल्काउने उत्पादनको प्रवर्द्धन तथा उद्योगलाई पर्यटनसँग जोडेर औद्योगिक पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसमेत कार्यालयले लिएको छ ।

सुरक्षाको चुनौती कायमै
औद्योगिक ग्राममा उद्योग सञ्चालन भए पनि सुरक्षाको चुनौती भने मुख्य समस्याका रूपमा देखिएको कार्यालयले जनाएको छ । उद्योगमा काम गर्ने श्रमिक तथा उत्पादन सामग्रीको सुरक्षा र पूर्वाधार व्यवस्थापनलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको कार्यालयको भनाइ छ ।
प्रतिक्रिया 4