२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले विपद्पछिको अवस्थामा काम गर्न गरेको प्रस्तावअनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग गरेको छ ।
नेकपाको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद् व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी नभएको बताए ।
राजनीतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षलाई जोडेर राष्ट्रिय संयन्त्र निर्माण गरिनुपर्ने बताउँदै सांसद पुनले विपद्पछिको अवस्थामा काम गर्न गरेको प्रस्तावअनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग राखेका हुन् ।
‘सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस विपत्तिसँग जुध्न राख्नुभएको सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्तावलाई हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समर्थन जनाउन चाहन्छु’, नेता पुनले भने ।
रसुवा बाढीपछिको अवस्थामा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमा काम हुनुपर्ने उनले बताए । ‘यत्रो ठूलो विपत्तिका बेला सरकारले विपक्षी दल, प्रदेश र स्थानीय सरकारसँग जुन मात्रामा समन्वय र सहकार्य गर्नुपर्थ्यो त्यो हुन सकेन,’ उनले भने ।
के थियो रविको प्रस्ताव ?
भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक राखेका थिए । जसमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेता उपस्थित उक्त बैठकले १० बुँदे संकल्प गरेको थियो ।
जसको बुँदा नम्बर १० मा दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने विषय छ ।
‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ,’ जहाँ भनिएको छ, ‘यस संयन्त्रले संकटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
तर, यो संयन्त्र अझैसम्म बन्न सकेको छैन ।
बरू १६ भदौमा दोस्रो चरणको सर्वदलीय बैठक बस्यो । दोस्रो तहका नेताहरू सम्मिलित उक्त सर्वदलीय बैठकले राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको थियो ।
उक्त बैठक पछाडि जिल्ला र स्थानीय स्तरमा सर्वदलीय संयन्त्र बनाएर अगाडि बढ्ने विषयमा बाटो खुला भइसकेको नेताहरूले बताएका छन् । तर केन्द्रमा सर्वदलीय संयन्त्र बनेको छैन ।
केन्द्रमा संयन्त्र बनाउने विषयमा दुई किसिमका छलफल भएका छन् । एउटा संसदीय समिति बनाउने विषय आएको छ र अर्को संसद् बाहिर संयन्त्र बनाउने विषय आएको छ ।
यो पृष्ठभूमिमा नेकपाका नेता पुनले सत्तारुढ दलका सभापतिको प्रस्तावमा आफ्नो दलको समर्थन रहेको भनेर विषय उठाएका हुन् ।
प्रतिक्रिया 4