२६ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका छन् । भारत आइपुग्दा उनलाई भारतीय राज्यमन्त्री शान्तनु ठाकुरले स्वागत गरे ।
दिल्ली प्रस्थान गर्नुअघि राष्ट्रपति पेजेस्कियानले तेहरानमा ब्रिक्सको लक्ष्य अमेरिकी एकाधिकारसँग लड्नु रहेको प्रतिक्रिया दिएका थिए ।
‘नयाँ ब्रिक्स देशहरूलाई डलरको निर्भरताबाट मुक्त गर्न र अमेरिकी दबदबाको प्रयासविरुद्ध उभिन बनाइएको थियो,’ उनले भनेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, पेजेस्कियान र प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार साँझ द्विपक्षीय वार्ता पनि हुनेछ । यस वार्ताको उद्देश्य दुई देशबीच व्यापार बढाउनु र आपसी सम्बन्ध बलियो बनाउनु रहेको बताइएको छ ।
पेजेस्कियानको यो राष्ट्रपति रूपमा पहिलो भारत भ्रमण हो । अमेरिकाले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएको र पश्चिम एसियामा तनाव बढेको समयमा यो भ्रमण भएको हो ।
भारतमा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिने अन्य प्रमुख नेताहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ समावेश छन् ।
प्रतिक्रिया 4