News Summary
Generated by OK AI. Editorially reviewed.- सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ ।
- २५ भदौको कार्यसमिति बैठकले नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
- निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिन अध्यक्ष पद रिक्त भएको थियो ।
२६ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ ।
सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिन अध्यक्ष पद रिक्त थियो ।
२५ भदौ सम्पन्न सिबिफिन कार्यसमिति बैठकले आसन्न वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो ।
महालक्ष्मी विकास बैंक अध्यक्ष रहेका उपाध्याय नेपालको बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाइ दशकदेखि क्रियाशील छन् ।
उनले सिबिफिन स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको नेतृत्वदायी भूमिकामा रही उनले हासिल गरेको लामो अनुभव र दक्षताले सिबिफिनको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।
वर्तमान विषम आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधानका लागि अझै प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि र दिगो विकासमा नयाँ आयाम थप्ने विश्वास सिबिफिनको छ ।
प्रतिक्रिया 4