News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली बाढीपछि कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा तराईका १४ उद्योगले चौबिसै घण्टा ग्यास भरेर काठमाडौं पठाइरहेका छन्।
- सहारा ग्यास उद्योगले दैनिक ८ हजारभन्दा बढी सिलिन्डर काठमाडौं पठाइरहेको छ भने मनोज, अम्बर, लियो र सुपर ग्यासले पनि आपूर्ति बढाएका छन्।
- सरकारले वैकल्पिक बाटो र साना-ठूला ट्रकमार्फत ग्यास ढुवानी मिलाएको छ, तर काठमाडौं उपत्यकामा अभाव कायमै छ।
२८ भदौ, बारा । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न तराईमा रहेका ग्यास उद्योगहरूले चौबिसै घण्टा सिलिन्डरमा ग्यास रिफिलिङ गर्ने काम गरिरहेका छन् ।
१४ भदौमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि ग्यास बोक्ने टेलर बुलेटलाई आवश्यक वैकल्पिक सडक नहुँदा भारतबाट आयात भएका बुलेटहरू काठमाडौं उपत्यका बाहिर नै छन् ।
बुलेट काठमाडौंसम्म जान नसक्ने भएपछि सरकारले वैकल्पिक बाटो व्यवस्था गर्दै साना-ठूला ट्रकमा ग्यास सिलिन्डर ल्याउने व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त गर्न नसकिँदा अभाव कायमै छ । तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगमा काठमाडौंका लागि ग्यास भर्ने काम जारी छ ।
काठमाडौंमा बजारीकरण गरिरहेका २६ उद्योगका सिलिन्डरमा तराईका ग्यास उद्योगमा सिलिन्डर भर्ने र ट्रकमार्फत त्रिभुवन राजपथ हुँदै ग्यास ढुवानी भइरहेको छ ।
तराईका उद्योगले एउटा ब्रान्डको दैनिक १ हजारदेखि ८ हजार सिलिन्डरसम्म ग्यास भरेर काठमाडौं पठाइरहेको जानकारी दिएका छन् ।

हेटौँडामा रहेको सहारा ग्यास उद्योगले काठमाडौंमा बजारीकरण भइरहेको जानकारी दिएको छ । यो उद्योगले एभरेस्ट ग्यासको ४ हजार र सुगमको ४ हजार सिलिन्डरमा दैनिक ग्यास भरेर काठमाडौं पठाइरहेको र उद्योग तीन सिफ्टमा गरेर चौबिसै घण्टा चलाइरहेको बताएको छ ।
सहारा ग्यास उद्योगका प्रबन्धक खड्ग थापाले विपद्का बेला चुनौतीपूर्ण अवस्था हुँदाहुँदै उत्पादन बढाएर काठमाडौंमा ग्यास पठाइरहेको जानकारी दिए ।
‘हामीले दैनिक रूपमा ८ देखि १२ हजार सिलिन्डरका दरले ग्यास भरिरहेका छौं, त्यसमध्ये २५ सय सिलिन्डर स्थानीय बजारमा सहाराको आफ्नै ब्रान्ड जान्छ,’ प्रबन्धक थापाले भने, ‘त्यसबाहेक ८ हजारभन्दा बढी सिलिन्डर हामी काठमाडौं पठाइरहेका छौं ।’
उनका अनुसार काठमाडौंमा ग्यास पठाउन पालुङको बाटो प्रयोग गरिएको छ । ५ देखि ७ वटा साना ट्रकका साथै काठमाडौंका पार्टी तथा डिलरहरूका गाडीमार्फत दैनिक करिब ८ हजार ५ सय सिलिन्डर ग्यास काठमाडौंमा आपूर्ति भइरहेको छ ।
धेरै ग्यास उत्पादन गर्नुपर्दा उद्योगमा लामो समयसम्म काम भइरहेको छ । ‘यो हाम्रा लागि अत्यन्तै चुनौतीपूर्ण रह्यो, तै पनि हामीले १८-२० घण्टा सिफ्ट अनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘दैनिक ८-१० हजार सिलिन्डर ग्यास भर्दा हामीलाई १८-२० घण्टा लाग्ने भएको हुनाले गाडीले कुरेरै लोडिङ गर्नुपर्दा समय लागिरहेको छ ।’
राजमार्गका विभिन्न ठाउँमा बाटो बन्द भएर खुल्नेबित्तिकै उद्योगमा ग्यास लिन आउने गाडी चाप थामिनसक्नु भएको प्रबन्धक थापाले बताए ।

मनोज ग्यासले भर्दैछ दैनिक १८ सय सिलिन्डर ग्यास
पर्सा परवानीपुरमा रहेको मनोज ग्यास उद्योग प्रालिले काठमाडौंका लागि ग्यास भरेर पठाइरहेको छ । उद्योगले आफ्नो ग्यासका साथै काठमाडौंका दुई वटा ग्यास ब्रान्डका सिलिन्डरहरू भरेर राजधानी पठाइरहेको छ ।
मनोज ग्यास उद्योग प्रालिमा कार्यरत सञ्जयकुमार मिश्रका अनुसार हाल उद्योगले काठमाडौंका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटीसी’ र अर्का कम्पनीको ‘लोकप्रिय’ ग्यास भर्ने काम गरिरहेको छ ।
‘यसमा हामी काठमाडौंका लागि २ वटा ब्रान्डको फिलिङ गरिराखेका छौं,’ मिश्रले भने, ‘प्रतिदिन हामी २ वटै ब्रान्डका १६ सयदेखि १८ सयजति सिलिन्डर फिलिङ गरेर काठमाडौंका लागि डिस्प्याच गरिराखेका छौं ।’

आफ्नै ग्यास र काठमाडौंका ग्यास भर्न उद्योगले समय व्यवस्थापन गरेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै उद्योगको ग्यास भर्ने र त्यसपछि रातिसम्म काठमाडौंका ग्यास सिलिन्डर भर्ने गरिएको मिश्रले जानकारी दिए ।
‘हामी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मनोज ग्यासको फिलिङ गर्छौं, त्यसपछि बाहिरबाट आउने एसटीसी र लोकप्रियको कति माग छ त्यस अनुसार राति १२/१ बजेसम्म फिलिङ गर्छौं र पठाउँछौं,’ उनले भने ।
बाराको अम्बर ग्यास उद्योगले पनि सिद्धार्थ र एसटीसी ग्यास सिलिन्डर भरिरहेको छ । कम्पनीका कर्मचारी पन्नालाल साहका अनुसार दुवै कम्पनीका लागि दैनिक १ हजार २ सय सिलिन्डरसम्म ग्यास भर्ने काम भइरहेको छ ।
बाराकै लियो ग्यास उद्योग प्रालिले लोकप्रिय र श्रीमाया ब्रान्डको सिलिन्डरमा ग्यास भरिरहेको उद्योग सञ्चालक निर्मल खत्रीले जानकारी दिए ।

लियो ग्यासका सञ्चालक तथा एलपी ग्यास उद्योग संघ कोषाध्यक्ष समेत रहेका खत्रीले विपद्का बेला नागरिकप्रतिको दायित्व सम्झेर आपूर्ति बढाइएको बताए ।
उनका अनुसार भारतबाट ग्यास आउने क्रम रोकिएको छैन । उनकै उद्योगमा पनि दैनिक आधा दर्जन हाराहारी बुलेट ग्यास भारतबाट आइरहेको देखिन्छ ।
‘यति ठूलो विपद्का बेला एउटा उद्योगीभन्दा पनि नागरिकको हैसियतले हामीले हाम्रो जिम्मेवारी बोध गरेका छौं, हाम्रा कामदार र सम्पूर्ण टिमले यसमा निकै सहयोग गरेका छन्,’ सञ्चालक खत्रीले भने, ‘अहिले हामी बिहान ७ देखि दिउँसो ३ बजेसम्म र दिउँसो ३ देखि राति ११ बजेसम्म गरी दुई सिफ्टमा कारखानामा काम गरिरहेका छौं ।’
सञ्चालक खत्रीका अनुसार लियो ग्यास उद्योगले मात्रै अहिले दैनिक ५ हजार सिलिन्डर ग्यास बजार पठाइरहेको छ । जसमध्ये करिब २ हजारदेखि २ हजार ५ सय सिलिन्डर स्थानीय बजार र बाँकी ३ हजार सिलिन्डर काठमाडौं पठाइएको उनले जानकारी दिए ।

कामदारहरूको साथ र उद्योगको निरन्तर प्रयासले काठमाडौंका उपभोक्तालाई ग्यास अभाव हुन नदिन सक्दो पहल भइरहेको खत्रीले बताए ।
यस्तै पर्साको सुपर ग्यास उद्योगले काठमाडौंको हिमाल ब्रान्डको सिलिन्डरमा ग्यास भरिरहेको जनाएको छ ।
पृथ्वी राजमार्ग पूर्णरूपले सञ्चालनमा नआउन्जेल नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगले काठमाडौंका लागि ग्यास भरेर वैकल्पिक मार्गबाट पठाउने छन् ।
काठमाडौं उपत्यका लगायत केही जिल्लामा ग्यास अभाव रहे पनि भारतबाट भने बजार मागभन्दा बढी परिमाणमा ग्यास आपूर्ति भइरहेको तथ्यांक आयल निगमले सार्वजनिक गर्दै आएको छ ।








तस्विरहरू : ऋतु काफ्ले/अनलाइनखबर
प्रतिक्रिया 4