+
+
Shares

संस्थापनको निर्णयबारे देउवा पक्षले भन्यो- अर्थहीन निर्णय

यसले पार्टी विवादको अन्तर्वस्तुबारे समाधान दिँदैन : एनपी साउँद

‘त्यो निर्णयले पार्टीभित्रको विवादको अन्तर्वस्तुबारे कुनै समाधान दिँदैन । विवादको मूल विषय १५ औं महाधिवेशन १४ औं महाधिवेशनबाट निर्वाचित समिति वा विशेष महाधिवेशनको समिति गर्ने भन्ने हो । यो प्रश्न कानुनी, राजनीतिक र सैद्धान्तिक प्रश्न हो । त्यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते २२:१२

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका, तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी सैद्धान्तिक निर्णय गरेको हो ।

पार्टी संस्थापनको यो निर्णयपछि इतर समूहमा केही नेताले यसको स्वागत गरिरहेका छन् । मूलत: पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट भनेर चिनिने केही नेताहरू संस्थापन पक्षले आयोजना गर्न गइरहेको महाधिवेशनमा सहभागी हुन तयार देखिएपछि आज कार्यसम्पादन समितिको बैठक बसेर यस्तो निर्णय लिएको हो ।

ती नेताहरूले पार्टीको यो निर्णयलाई स्वागत गरिरहेका छन् ।

तर, पूर्वसभापति देउवानिकट रहेका नेताले भने पार्टीको उक्त निर्णयको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

देउवा पक्षीय नेता एनपी साउदले पार्टीको कार्यसम्पादन समितिले लिएको निर्णय पार्टीभित्रको विवादको अन्तर्वस्तु नै नरहेकाले त्यसको अर्थ नभएको टिप्पणी गरे ।

‘त्यो निर्णयले पार्टीभित्रको विवादको अन्तर्वस्तुबारे कुनै समाधान दिँदैन,’ उनले भने, ‘विवादको मूल विषय १५ औं महाधिवेशन कसले गर्ने भन्ने हो ।  १४ औं महाधिवेशनबाट निर्वाचित समितिले गर्ने कि, विशेष महाधिवेशनको समिति गर्ने भन्ने हो । यो प्रश्न कानुनी, राजनीतिक र सैद्धान्तिक प्रश्न हो । त्यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।’

त्यसको उत्तर केन्द्रीय समितिको वैधतासँग जोडिएको उनले बताए । ‘यो गम्भीर कानुनी विषय हो । त्यही भएकाले हामी सर्वोच्च अदालतमा पुनरवलोकनमा गएका हौं,’ उनले भने ।

पार्टीभित्र अहिलेको विवाद केही थान नेतालाई अदला–बदली गर्दैमा, वा केही थान नेतालाई जिम्मेवारी दिँदैमा समाधान नहुने पनि उनले बताए । ‘उहाँहरूले त्यो निर्णय राजनीतिक रूपमा पनि स्वीकार्ने कुरा होइन । जिम्मेवारी दिने हो भने ६ महिना अगाडि हामी किन केन्द्रीय सदस्य भएनौं ? अनि अहिले अधिवेशनमा दुई–चार दिन अगाडि किन हुनुपर्‍यो ?,’ नेता साउदले प्रश्न गर्दै भने, ‘यो केही व्यक्तिलाई लैजान मात्रै गरिएको कुरा हो । यो नैतिकतासँग पनि जोडिएको विषय भएकाले स्वीकार्ने कुरा होइन ।’

केही मान्छे यताउता आउने–जाने क्रम चलिरहने पनि उनले बताए । यस विषयमा आफ्नो पक्षले बैठक बसेर आवश्यक निर्णय लिने नेता साउदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?