News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस टीभीले हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको नयाँ लहर चलाएको दाबी गरेको छ।
- साउदी नागरिक सुरक्षाले खामिस मुशैत र आभाका बासिन्दालाई आक्रमणको जोखिम बढेको भन्दै दोस्रोपटक सुरक्षा चेतावनी जारी गरेको छ।
- ब्रिक्स घोषणामा साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्ससहित सदस्य राष्ट्रहरूले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेका छन्।
२९ भदौ, रियाद (रासस/एएनआई)। यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको नयाँ लहर चलाएको इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले सोमबार दाबी गरेको छ। दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोट भएको तथा सीमावर्ती सहरका बासिन्दालाई सुरक्षा चेतावनी जारी गरिएको बताइएको छ।
अल जजिराका अनुसार साउदी नागरिक सुरक्षाले दक्षिणपश्चिमी क्षेत्रका खामिस मुशैत र आभाका बासिन्दालाई एक घण्टाभित्र दोस्रोपटक चेतावनी जारी गरेको थियो । यमनको सीमासँग नजिक रहेका यी दुवै सहरमा हुथी आक्रमणको जोखिम बढेको बताइएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले आइतबार साउदी अरबको शारुराहस्थित सैन्य अड्डाको हतियार भण्डार तथा कमान्ड र नियन्त्रण कक्षमा आक्रमण गरेको दाबी गरेका छन्। अल जजिराका अनुसार साउदी सीमामा भएका हुथी आक्रमणमा दुई जना घाइते भएका छन्।
यसैबीच, यमनको पश्चिमी तटका अस्पतालहरू हिंसा र स्वास्थ्य प्रणालीमा आएको अवरोधका कारण सेवा सञ्चालन गर्न कठिनाइमा परेका छन् । ‘डक्टर्स विदाउट बोर्डर्स’ का यमन निर्देशक लु कोर्म्याकले केही अस्पताल पुनः सञ्चालनमा आए पनि स्वास्थ्यकर्मी र अन्य जनशक्तिको ठूलो अभाव रहेको बताएका छन्। उपचारका लागि पर्याप्त स्वास्थ्य सुविधा नहुँदा सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने उनले बताए।
हुथीले लाल सागर र बाब अल–मन्देब जलघाँटीमा साउदी अरबको तेल निर्यातसँग सम्बन्धित जहाजलाई समेत लक्षित गर्दै आएको अल जजिराले जनाएको छ। सीबीएस न्युजका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले हुथीविरुद्ध सैन्य कारबाही गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेको, तर उनले आग्रह अस्वीकार गरेको बताइएको छ।
यसैबीच, नयाँदिल्लीमा जारी ब्रिक्स घोषणामा साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्ससहित सदस्य राष्ट्रहरूले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेका छन्। घोषणामा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान तथा स्थायी शान्तिका लागि संवाद र कूटनीतिक प्रयासमा जोड दिइएको छ।
प्रतिक्रिया 4