+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न सांसद खरेलको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद जगदीश खरेलले प्रतिनिधिसभामा प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष राख्न माग गरेका छन्।
  • उनले रसुवाको भोटेकोशी बाढी दैवी प्रकोप नभई प्राकृतिक विपद् भएको भन्दै बाढी, पहिरो, डुबान, कटान, भुइँचालो र आगलागीलाई दैवी प्रकोप मान्न नहुने बताए।
  • खरेलले २०७४ को विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र २०७६ को नियमावलीले दैवी प्रकोपको अवधारणा विस्थापित गरेको दाबी गरे।

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन् ।

अहिले रसुवामा आएको भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उनले प्रष्ट पारे ।

‘हामी भोटेकोशी बाढीको पीडामा छौं । र यो विपद्को सामना गरिरहेका छौं । यो भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं,’ सांसद खरेलले भनेका छन्, ‘यो बाढीमात्रै होइन, कुनै पनि बाढी, पहिरो डुबान, कटान, भुइँचालो, आगलागी कुनै पनि दैवी प्रकोप होइनन् । कि यी मानव सिर्जित हुन्, कि यी प्राकृतिक विपद् हुन् ।’

०७४ सालमा बनेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन र ०७६ मा बनेको नियमावलीले यसको स्पष्ट पारेको पनि उनले सुनाए ।

‘२०३९ सालमा बनेको दैवी प्रकोप ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन् । मेरो आग्रह छ, यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गरियोस् । अब दैवी प्रकोपको जमाना रहेन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?