+
+
Shares

रास्वपा सचेतकको माग– कालोबजारी गर्नेमाथि कडा कारबाही गरियोस्

सचेतक परियारले भने, ‘विपत्तिले आहत भएका नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पार्नु राज्यको दायित्व हुँदै होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १५:१२

३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले चाँडपर्वअगावै कालाबजारी रोक्ने संयन्त्र बनाएर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक परियारले यस्तो बताएका हुन् ।

‘एकातिर महाप्रलयमा सडक र पुलहरू टुक्रिएका छन्, भने अर्कातिर यही भौगोलिक विच्छेद र नागरिकको असहजतालाई अवसर बनाएर बजारमा कालोबजारी र कृत्रिम अभावको नयाँ पहिरो खस्ने गम्भीर खतरा बढेको छ’, सचेतक परियारले भने, ‘विपत्तिले आहत भएका नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पार्नु राज्यको दायित्व हुँदै होइन ।’

विपत्तिका बेला बजारमा गरिने सामान्य ‘कर्मकाण्डी अनुगमन’ले नागरिकले राहत नपाउने बताउँदै उनले सरकारले दुर्गम क्षेत्रसम्म आपूर्ति व्यवस्थालाई आपत्कालीन रूपमा चुस्त र परिणाममुखी बनाउनुपर्ने बताए ।

‘कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरोस् । र, भत्किएका पुलहरूसँगै विच्छेदित भूगोललाई राज्यको विश्वासले जोड्ने काम तुरुन्त थालोस्’, उनले भने ।

उनले सडक टुक्रिएपनि नागरिक र सरकारबीचको विश्वासको सेतु टुक्रिन नहुने बताए ।

सचेतक परियारले भोटेकोशीको विकराल हिमपहिरो एउटा प्राकृतिक विपत्ति मात्र नभएर त्यसको असर पुस्तौंसम्म देखिने पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?